चुनावमा अपेक्षाकृत नतिजा आउन सकेन, निर्मम समिक्षा गर्नेछौं : विवेकशील साझा – Nepal Press

चुनावमा अपेक्षाकृत नतिजा आउन सकेन, निर्मम समिक्षा गर्नेछौं : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीय चुनावको हालसम्म प्राप्त मतपरिणाम अपेक्षाकृत नरहेको भन्दै दु:ख व्यक्त गरेको छ । आन्तरिक टुटफुट लगायत वैचारिक ध्रुविकरणले ल्याएको उथलपुथल मतदाताले मन नपराएको निस्कर्ष सो पार्टीको छ ।

पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै अब केही निर्मम समीक्षा र निर्णयहरु गर्ने बताएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन । गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ । यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौँ।’

कतिपय टिप्पणीकार र सञ्चारमाध्यमले कमजोर नतिजा आउनुमा ‘विचारभन्दा माथि देश’ दस्तावेजलाई कारकको रुपमा औंल्याएकोमा पार्टीले अस्वीकार गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।’

देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भए पनि निरन्तर समय दिनसक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसकिएको निस्कर्ष विवेकशील साझाले निकालेको छ ।
‘वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर