पिताको देहान्तपछि विजय लामाले भने- मेरो हार भयो – Nepal Press

पिताको देहान्तपछि विजय लामाले भने- मेरो हार भयो

काठमाडौं । अभिनेता तथा पाइलट विजय लामालाई पितृ शोक परेको छ । उनका पिता हेमबहादुर लामाको ९५ वर्षकाे उमेरमा आज दिउँसो १ः१५ बजे निधन भयो ।

दुई हप्तादेखि स्वास्थ्यमा कठिनाइ आएपछि हेमबहादुरकाे मनमोहन अस्पतालमा उपचार भइरहेको थियो । आफ्नै हातमा पिताले अन्तिम सास फेरेको लामाले बताएका छन् ।

उनी लेख्छन्, ‘मेरो आमा पनि यसै गरी मेरो हातमा अन्तिम सास लिनुभएको थियो १९९७ सेप्टेम्बरमा १ मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरु सँगै भएकोमा आफूलाई भाग्यशाली ठान्दछु तरर के गर्नु आखिर मन त हो नि ! भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि !’

लामाले आफ्नो पिता सबैका लागि मित्र र शक्तिको स्रोत भएको स्मरण गरेका छन् । भोलि बुद्ध जयन्तीको दिन बालुवाटारस्थित आफ्नै निवासमा अन्तिम बिदाइ गरिने उनले जानकारी दिएका छन् ।

लामाको शवलाई बुद्ध धर्मको नियम अनुसार भोलि २ बजे स्वयम्भूनाथ घाटमा दाहसंस्कार गरिने छ ।

लामाले लेखेका छन्, ‘बाउ तिमीबिना मलाई बस्ने बानी छैन, तिम्रो यादले निक्कै सताउने छ । तर मलाई विश्वास छ तिमि जहाँ छौ खुसी छौ, तिम्रो खुसी नै मेरो खुसी हुनेछ । अब म तिमिलाई कल्पनामा मात्र जिस्काउँछु है ? सायद झस्किन्छु होला तिमिलाई नपाउँदा ’ ए बाउ किन ? आखिर हार भयो नि मेरो ?’

हेमबहादुर पुरानाे नेपाली चलचित्र ‘आदर्श नारी’ का निर्देशक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर