मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता – Nepal Press

मदन भण्डारीको स्मृतिमा जेठ ३ देखि अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता

रुपन्देही । किशोर उमेरका बालबालिकालाई खेलतर्फ प्रोत्साहित गरी व्यवसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले अण्डर १४ लिटल स्टार क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीले मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जेठ ३ गते स्मृति दिवसको दिनबाट सुरु हुने प्रतियोगिताको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहान ८ बजे भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता उद्घाटन हुने आयोजक संस्थाका केन्द्रीय सदस्य एवं क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रतियोगिताका लागि रुपन्देहीको बुटवल, भैरहवा, सैनामैना र देवदहबाट खेलाडी छनोट गरिएको छ । जसमा जिल्लाभरका १४ वर्षमूनिका ६४ जना खेलाडी छनोट भएका छन् । छनोटमा आएका १ सय खेलाडीबाट उनीहरुलाई छनोट गरिएको हो । लिगका आधारमा खेलाइने खेल जेठ ६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तरगत प्रत्येक लिग २५ ओभरको हुनेछ ।

प्रतियोगिता जित्नेले मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । किशोर उमेरका बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरेको उनले बताए ।

प्रतियोगिताबारे जानकारी दिन बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका खेलाडीहरुको जर्सी प्रदर्सन गरियो । कार्यक्रममा बोल्दै एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले किशोर खेलाडी छनोट गर्दै भविष्यमा व्यवसायिक खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

उनले बालबालिका तथा युवालाई कुलतबाट जोगाउदै सारीरिक एवं मानसिक रुपले स्वस्थ बनाउन खेल अपरिहार्य रहेकाले मदनको विचारसंगै खेलकुदको विकासमा लागेको बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका रुपन्देही अध्यक्ष मणिरत्न भण्डारीले खेलकुदको व्यवसायिक विकासकालागि राज्यको समेत ध्यान नगएको अवस्थामा एकेडेमीले खेलगतिविधि अगाडि बढाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर