सवारी दुर्घटनामा साइमन्ड्सको मृत्यु: कार अनियन्त्रित भएर सडक किनारमा पल्टिएको थियो – Nepal Press

सवारी दुर्घटनामा साइमन्ड्सको मृत्यु: कार अनियन्त्रित भएर सडक किनारमा पल्टिएको थियो

मेलबर्न । सवारी दुर्घटनामा ज्यान गुमाएका अस्ट्रेलियाका पूर्वअलराउन्डरको मृत्युमा विश्व क्रिकेट समुदायले दुःख व्यक्त गरिरहेको छ ।
सचिन तेन्दुलकरदेखि उनकै समकालीन अन्य महान खेलाडीहरुले घटनाबाट स्तब्ध भएको बताएका छन् । अस्ट्रेलियाका सरकारी अधिकारीका अनुसार राति साढे १० बजे ४६ वर्षीय साइमन्ड्स एक्लै सवार कार अनियन्त्रित भएर सडक किनारमा धेरैपटक पल्टिएको थियो ।

क्विन्सल्यान्ड प्रहरीले तत्कालै अस्पताल पुर्‍याएर साइमन्ड्सलाई बचाउन प्रयास गरे पनि गम्भीर चोटहरुका कारण उनको ज्यान गएको बताएका छन् । साइमन्ड्सकी श्रीमती लाउराले स्तब्ध हुँदै भनेकी छिन्, ‘हामीलाई अझै पनि पत्याउन गाह्रो भइरहेको छ । म अहिले मेरा बच्चाहरुबारे सोचिरहेकी छु ।’

इङ्ल्यान्डको बर्मिङ्घममा जन्मिएका साइमान्ड्सले पछि अस्ट्रेलियाका लागि खेल्ने निर्णय गरेका थिए । साइमन्ड्स दुईपटकका विश्वकप विजेता हुन् । सन् १९९८ देखि २००९ सम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने क्रममा उनी अधिकांश पहिलो रोजाइका खेलाडी थिए ।

माथिल्लो क्रमबाट विस्फोटक ब्याटिङ गर्ने उनी फिल्डिङ र बलिङमा पनि उत्तिकै तेज थिए । एडम गिलक्रिस्ट, म्याथ्यु हेडेन, सेन वार्न, ग्लेन म्याग्रा, रिकी पोन्टिङ जस्ता अस्ट्रेलियाली क्रिकेट पुस्ताका यी सदस्य विपक्षीका लागि सधैँ टाउको दुखाइ बन्ने गर्थे । साइमन्ड्सले टेस्ट क्रिकेटमा दुई शतक र १० अर्धशतक तथा २४ विकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ शतक र ३० अर्धशतक तथा १३३ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *