लुम्बिनीमा देशकै ठूलो सभाहल तयार, बुद्ध जयन्तीमा देउवाले उद्घाटन गर्ने – Nepal Press

लुम्बिनीमा देशकै ठूलो सभाहल तयार, बुद्ध जयन्तीमा देउवाले उद्घाटन गर्ने

रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ०७४ सालको बुद्ध जयन्तीमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । खुलाचौरमा लाखौं खर्च गरेर बनाइएको टेन्ट हावाहुरीले भत्काइदिएपछि त्यो कार्यक्रम नै प्रभावित भएको थियो ।

हावाहुरी र झरीले कार्यक्रमस्थल भत्काएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ५ हजार क्षमताको ध्यान केन्द्र लुम्बिनीमा बनाउने घोषणा गरे र यसको योजना तुरुन्त अगाडि बढाउन विभागीय मन्त्रालय र लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।

विभागीय मन्त्री तथा सरकारका उच्चपदस्थ व्यक्तिहरु सहभागी भएको उक्त कार्यक्रममा ओलीले अर्को बुद्ध जयन्ती मनाउन पाउने गरी हल निर्माण गर्न निर्देशन दिएका थिए । उनको त्यो निर्देशन तत्काल कार्यान्वयनमा त गएन । तर, प्रक्रियामा अगाडि बढेर ४ वर्षमा हल नै तयार भयो ।

१७ वैशाख ०७५ बुद्ध पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको ४ वर्षमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण पूरा भएको हो । जहाँ ठूला कार्यक्रम गर्न सहज हुने भएको छ ।

योजनाअनुसार ३ वर्षमा निर्माण पूरा हुनुपर्ने उक्त केन्द्र ४ वर्षमा सम्पन्न भएको छ । निर्माण कम्पनीले कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको जनाएको छ । मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो । दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यकरणको काम भएको थियो ।

पाँच हजार सीट क्षमताको सभाहल छाता शैलीमा निर्माण गरिएको छ । जहाँ गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिएको छ । ६ देखि ८ डिग्री तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ । मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक लगाइएको छ ।

सभाहलका भित्ताहरुमा सेतो रङ लगाइएको छ । माथि पहेँलो रङको कमलको फूल बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ वटा बत्ती जडान गरिएको विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए । उद्घाटनका लागि भवनका सबै काम पूरा भएको निर्माण कम्पनी लुम्बिनी अर्घाखाँची बाबुल जेभीका साइट इञ्जिनियर वसन्त क्षेत्रीले जानकारी दिए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले २५६३ औं बुद्ध जयन्तीको अवसरमा जेठ २ गते प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त हलमा हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए ।

लुम्बिनी नेपालमा सबैभन्दा बढी विदेशी र स्वदेशी पर्यटकले भ्रमण गर्ने पर्यटकीय गन्तव्य हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर