मोदी भोलि नेपाल आउँदैः लुम्बिनीमा ६ घण्टा बिताउने, यस्तो छ कार्यक्रम – Nepal Press

मोदी भोलि नेपाल आउँदैः लुम्बिनीमा ६ घण्टा बिताउने, यस्तो छ कार्यक्रम

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान एघार बजेतिर लुम्बिनी आउने छन् ।

हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनी लुम्बिनीमा रहेको पवन इन्टरनेसनल होटलमा जानेछन् । केही समय उनले त्यही होटलमा बिताउने छन् ।

होटलमा नै परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक त्यहीं सुरु हुनेछ ।

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । मोदी दिवा भोजमा सहभागी हुनेछन् । त्यसपछि मोदीले त्यहाँ केही उच्चस्तरीय व्यत्तिहरुसँग भेटवार्ता गर्नेछन् ।

सोमबार साढे तीन बजे उनले बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षामा कडाइ, चिटिक्क पारियो लुम्बिनी

भारतीय प्रधानमन्त्री मोदी आउने टुंगो लागेपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार भारतका २ वटा हेलिकप्टरमा आएको भारतीय सुरक्षा फौजसहितको टिम लुम्बिनीमा हेलिप्याड जाँच गरी फर्किएको छ । भारतीय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७९ को अवसर पारेर मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा पाँच हजार जना अट्ने क्षमताको अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्रसमेत तयार भइसकेको छ । उक्त केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र सोही हलमा हुने विशेष कार्यक्रममा मोदीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । दुई प्रधानमन्त्री देउवा र मोदीले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्नेछन् ।

गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्रमन्त्री नारायण खड्का सोमबार लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारिएको छ ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक चोकचोकमा स्वागतद्वार निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर