१०२ वर्षमा उक्लिएका सत्यमोहनको जीवनका १०२ सत्य – Nepal Press

१०२ वर्षमा उक्लिएका सत्यमोहनको जीवनका १०२ सत्य

इटहरी । संस्कृतिविद् सत्यमोहन जोशी वैशाख ३० गतेबाट १०२ वर्ष लागेका छन् । संयोगले त्यही दिन संघीय व्यवस्था लागू भएपछिको दोस्रो स्थानीय तह चुनाव भयो ।

अर्को संयोग, तीन महिनाअगाडि बुक हिलले प्रकाशन गरेको ‘सत्यमोहन’ पुस्तकका लेखक गिरिस गिरी पनि यो चुनावी मैदानमा छन् । गिरी वीरगञ्ज महानगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार हुन् ।

१९७७ साल वैशाख ३० गते ललितपुरको बखुंबहास्थित घरमा जन्मेका हुन् सत्यमोहन । १०२ औं जन्मोत्सवका अवसरमा उनको जीवनका १०२ रोचक तथ्यहरु यहाँ समेटिएको छ ।

१. जोशीलाई उनलाई शताब्दी पुरुष भनिन्छ । तर, शताब्दी पुरुषको उपाधि भने उनलाई ९५ वर्षकै हुँदा २०७१ मंसिर १५ गते प्रदान गरिएको थियो । त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंको अगुवाइमा त्यो उपाधि प्रदान गरिएको थियो ।

२. त्रिमूर्ति निकेतनले शताब्दी पुरुष घोषणा गरेपछि नेपाल सरकारले समेत जोशीलाई त्यस्तै उपमा दियो । उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ भनिएको छ ।

३. जोशीको बिहे भएको ८४ वर्ष पुगेको छ । उनीभन्दा उनकी पत्नी राधा पात्रवंश ४ वर्षमात्रै कान्छी छिन् ।

४. १८ वर्षको उमेरमा बिहे गरेका सत्यमोहन जोशीले आफ्नी श्रीमतीको अनुहार देख्न चार दिन कुर्नु परेको थियो ।

५. सत्यमोहन जोशी र उनकी बहिनीको बिहे एकैदिन भएको थियो । १९९४ साल फागुनमा उनीहरुको बिहे भएको थियो ।

६. अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाको महाराजगञ्जस्थित ‘खर्च अड्डा’का जागिरे भएकाले छोरा र छोरी दुवैको एकै दिन विवाह गर्दा जोशीका पितालाई २४९ रुपैयाँ आम्दानी भएको थियो । अड्डामा काम गर्नेको एक सन्तानको बिहे हुँदा १२० रुपैयाँ रकम आउँथ्यो । दुई जनाको एकै पटक बिहे भएपछि जोशीका पिताले दोब्बर रकम पाएका थिए ।

७. सत्यमोहनका परिवारमा धेरैको भने कम उमेरमै मृत्यु भएको थियो । जोशीका मातापिताका सात सन्तानमा चारजना सानै उमेरमा बितेका थिए । जेठा पुत्र जोशीसँगै लामो समय बाँच्नेमा उनका भाइ र बहिनी थिए । अहिले जिवित जोशीमात्रै छन् । जोशीकै आठ सन्तान थिए । एक छोरी र एक छोरा सानैमा बिते । अहिले तीन छोरा र तीन छोरी छन् ।

८. १२ वर्षको उमेर हुँदा महाराजगञ्ज बस्ने क्रममा जोशीलाई पिताले दरबार हाईस्कुलमा भर्ना गरेका थिए । उनी कक्षा ७ मा भर्ना भएका थिए । जोशीको समयमा कक्षा १ बाट १० सम्म नभएर १० बाट क्रमशः घट्दै फस्र्ट क्लास पुगेर पास भएपछि मेट्रिक पास हुने चलन थियो ।

९. जोशीले तीन वर्ष हुञ्जेल आमाको दूध पिएका थिए । आफ्नो दीर्घायुमा उनी त्यो पनि एक कारण मान्ने अनुमान गर्छन् ।

१०. १९९० साल माघ २ गते भूकम्प आउँदा जोशी महाराजगञ्जमा खेल्दै थिए । दरबार स्कुलको बिदा थियो । भूकम्प आउँदा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर सुदूरपश्चिम सिकार खेल्न गएका थिए । उनले भूकम्पको जानकारी पाउन चार दिन लागेको थियो । उनलाई घोडचढीबाट सूचना पठाइएको थियो । २० दिनपछि मात्रै जुद्धशमशेर काठमाडौं आएका थिए ।

११. १९९० सालको भूकम्पबाट मुलुक सामान्य अवस्थामा फर्कन चार वर्ष लागेको जोशीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । मोहनशमशेरले ऋण मिनाहा गरेर सहयोग गरेका थिए ।

१२. १९९० सालको भूकम्प अगाडि पाठ्यक्रममा भूकम्प समावेश भएकै थिएन । भूकम्पपछि बबरशमशेरका छोरा ब्रह्मशमशेरले भने ‘नेपालको महाभूकम्प १९९० साल’ पुस्तक लेखेर त्यसमा सहयोग गरेको आफूले पाएको जोशीले बताएका छन् ।

१३. १९९७ सालमा त्रिचन्द्र कलेजबाट आईए पास गरेका जोशीले २००२ सालमा बीए पास गरेका थिए ।

१४. जोशीलाई काठमाडौं विश्वविद्यालयले २०६७ साल भाद्र २ गते महाविद्यावारिधि प्रदान गरेको थियो ।

१५. २००१ मा राणा प्रधानमन्त्री जुद्धशमशेरको निगाहामा बनेको ‘औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा’ मा जोशीले जागिर सुरु गरेका थिए ।

१६. जोशीको पहिलो जागिर निगाहाको नभएर गोरखापत्रमा प्रकाशन भएको विज्ञापनमा भिडेर पाएका थिए । पाँच पदमा ३० जनाले आवेदन दिएका थिए । पहिलो नम्बरमा आएका नयनबहादुर केसीले छोडेकाले बैकल्पिक उम्मेदवार जोशीले जागिर पाएका थिए ।

१७. २००१ साल दशैं आसपासबाट जोशीको सरकारी जागिर सुरु भएको थियो । जागिर हुँदा उनी बीए पढ्दै थिए । जागिरको योग्यता आईए निर्धारण गरिएको थियो ।

१८. औद्योगिक–व्यापारिक समाचार संग्रह अड्डा जनताका छोरा भीमबहादुर पाँडेको नेतृत्वमा बनेको थियो । पाँडे कलकत्ता विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेर नेपाल आएका थिए । पाँडेकै नेतृत्वमा जोशीले जागिर गरेका थिए ।

१९. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्नु अगाडि नै सन् १९४९ नोभेम्बरदेखि सन् १९५० को फेबु्रअरीसम्म भारतको राजधानी नयाँदिल्लीमा एक तालिम भयो । तथ्यांक संकलनको त्यही तालिम लिएर आउनेहरुमा सत्यमोहन पनि एक थिए । तालिम लिएर देशभरको तथ्यांक संकलनको तयारी हुँदै गर्दा नेपालमा राणाशासन ढलेर थियो । प्रजातन्त्रको स्थापना भएको थियो ।

२०. राणाशासन ढल्नुलाई जीवनकै एक अविस्मरणीय क्षण मान्छन् जोशी । जन्मँदै पेटमै सैन्य उपाधि पाउने राणाशासन सुन्नेभन्दा भोग्नेलाई धेरै जानकारी हुने भएको भन्दै उनले त्यो क्षण जीवकै अविस्मरणीय भनेका छन् । सिंहशमशेरका छोरा अर्जुनशमशेरलाई पेटमै हुँदा जर्नेल घोषणा गरिएको तथ्य दिँदै जोशीले जहानियाँ राणा शासनको कुरीति अनुभव गरेका छन् ।

२१. १९९७ मा शुक्रराज शास्त्रीलाई टेकुमा झन्ड्याएर मारेको दृश्यका जोशी प्रत्यक्षदर्शी हुन् ।

२२. चार सहिद मारिँदासमेत आफू पढ्ने त्रिचन्द्र क्याम्सपमा कुनै हल्लिखल्ली नभएको जोशीको अनुभव छ ।

२३. ललितपुरका समाजसुधारक तुलसीमेहर श्रेष्ठले राणाविरुद्ध सांकेतिक आन्दोलन गरेका थिए । ‘हरे राम हरे कृष्ण, रघुपति राघव, सबको सम्पत्ति दे भगवान’ जस्ता नारा लगाइएको जुलुसमा जोशीसमेत सहभागी भएका थिए ।

२४. २००७ सालमा त्रिभुवन परिवार भारतीय दूतावास हुँदै दिल्ली शरणमा पुगेका थिए । बालक ज्ञानेन्द्रलाई राणाले राजा घोषणा गरेका थिए । तर, काठमाडौंका नेवारहरुले ज्ञानेन्द्रलाई राजा नमानेर राणालाई राजासहित हुने कार्यक्रमहरुमा समस्या भएको जोशीले बताएका छन् ।

२५. २००७ को क्रान्तिपछि बनेको नयाँ राणा–कांग्रेस सरकारताका भरतशमशेर नेतृत्वको गोरखा दलले आतंक मच्चाउँदा ललितपुरमा रक्षामण्डल निर्माण भएको थियो । त्यसको अध्यक्ष जोशी थिए ।

२६. रक्षामण्डलको उपादेयता सकिएपछि त्यो समूहले ललितपुरमा विद्यालय सञ्चालन गरेको थियो ।

२७. नेपालबाट न्यूजिल्यान्ड जान संयुक्त राष्ट्रसंघले छात्रवृत्ति दिएको थियो । तर, दक्षिणी गोलाद्र्धको पिँधको मुलुक भनेर धेरै जान डराए । जोशी डराएनन् । उनी न्यूजिल्याण्ड पुगे । न्यूजिल्याण्ड पुग्ने प्रथम नेपाली आफू भएको उनको दाबी छ ।

२८. २०१० साल जेठमा जोशी न्यूजिल्यान्ड पुग्दा सगरमाथाको प्रथम आरोहण न्यूजिल्याण्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले गरेका थिए ।

२९. सगरमाथाको देशबाट सगरमाथाको प्रथम आरोहण भएकै समयमा न्यूजिल्याण्ड पुगेकाले जोशीले अत्यधिक मिडियाको चासो पाएका थिए । उनको अन्तर्वार्ता न्यूजिल्यान्डका धेरै मिडियामा आएको थियो ।

३०. काठमाडौं, पटना, मुजफ्फपुर, कलकत्ता, सिंगापुर, जकार्ता (इन्डोनेसिया), डार्विन (अस्टे«लिया), सिड्नी (अष्टे«लिया) हुँदै न्यूजिल्यान्डको राजधानी वेलिङ्टन अवतरण गरिएको थियो जोशीलाई ।

३१. न्यूजिल्याण्डबाट फर्केपछि २०११ सालमा हाल महेन्द्र गुफा भनिने ‘साहुको भ्वाङ’ मा जोशी छिरेका थिए । त्यहाँ छिर्ने आफू पहिलो भएको जोशीको दाबी छ ।

३२. वैदिक सनातन हिन्दू धर्मका अनुयायी जोशी २०१३ कात्तिक ३० मा भएको चौथो विश्व बौद्ध सम्मेलनका आयोजक थिए ।

३३. कवि चित्तधर हृदय, दयावीरसिंह कंसाकार, आशाराम शाक्यलगायतका १५ सदस्य समितिमा जोशी पनि एक सदस्य थिए । हाल जिवित एक्ला उनै जोशी छन् ।

३४. विश्व बौद्ध सम्मेलन पहिलोपटक श्रीलंका, दोस्रोपटक जापान र तेस्रो पटक वर्मामा भएको थियो ।

३५. चौंथो विश्व बौद्ध सम्मेलन टुँडिखेलको खरिबोटमा आयोजना भएको थियो ।

३६. सिंहदरबारको ग्यालरी बैठकदेखि अन्य सबै कोठामा अटाउन नसकेकोले खुला ठाउँमा सम्मेलन आयोजना गरिएको थियो ।

३७. नेपालमा भएको विश्व बौद्ध सम्मेलनमा भारतको संविधानका मस्यौदाकार डाक्टर भीमराव अम्बेडकर पनि आएका थिए । उनी पटना हुँदै विमानबाट नेपाल आएका थिए ।

३८. सम्मेलनमा बालकृष्ण समले ‘हरित तारा’ र भीमनिधि तिवारीले ‘सिद्धार्थ गौतम’ नामक नाटक देखाएका थिए ।

३९. २०१० सालमा बनारसमा चन्द्रशमशेरका छोरा मदनशमशेरको निधन भयो । उनकै स्मृतिमा २०१२ सालमा मदन पुरस्कार स्थापना गरियो ।

४०. पहिलो मदन पुरस्कार नै पाएका थिए सत्यमोहन जोशीले २०१३ सालमा ।

४१. ‘हाम्रो लोक संस्कृति’ नामक पुस्तकको लागि उनले प्रथम मदन पुरस्कार पाएका थिए ।

४२. जोशीले मात्रै एकल पुरस्कार भने पाएका थिएनन् । उनीसँगै अरु दुई जनाले उक्त पुरस्कार पाएका थिए । चितरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पुस्तकको लागि पुरस्कार पाएका थिए । बलराम जोशीले ‘अधिकविभव स्थिर विद्युत उत्पादन’ पुस्तकका लागि पाएका थिए ।

४३. प्रथम मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोक संस्कृति’ प्रकाशित पुस्तक नभएर पाण्डुलिपि थियो ।

४४. लमजुङ र तनहुँ क्षेत्रका लोक भाकाहरु टिपेर निकालेको पुस्तकबाट मदन पुरस्कार पाउन जोशी सफल भएका थिए ।

४५. जोशीले पाएको प्रथम मदन पुरस्कारको राशि ६ हजार रुपैयाँ हाराहारी थियो ।

४६. तत्कालीन समयमा सरकारको खरदार रहेर मासिक ५० रुपैयाँ तलब पाउने जोशीलाई ६ हजार ठूलो रकम थियो ।

४७. जोशीलाई मात्रै हैन घरमा र समाजमा पनि ६ हजार रुपैयाँ पाउनु ठूलै कुरा थियो । त्यही भएर ऋण माग्ने र सम्पत्ति बेच्न खोज्नेहरुको घरमा भीड हुने जोशीले लेखेका छन् ।

४८. राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत कपुरधारामा घर बनाउन मदन पुरस्कारकै रकम ऋण मागेको जोशीले लेखेका छन् । तर, जोशीले ऋण दिएनन् । घिमिरेले जोशीका साथी नरकान्त अधिकारीमार्फत् ऋण मागेका थिए ।

४९. मदन पुरस्कार पाएको कृति ‘हाम्रो लोक संस्कृति’ लाई प्रकाशन भने रत्न पुस्तक भण्डारले गरेको थियो । बनारसबाट छापेर पुस्तक रत्न पुस्तकले बजारमा ल्याएको जोशीले लेखेका छन् ।

५०. जोशीले लोक संस्कृतिको शब्द आफैले पहिलोपटक औपचारिक रुपमा प्रयोग गरेको दाबी गरेका छन् । झ्याउरे, असारे तथा ग्रामीण गीत भनिने कुरालाई आफूले लोक भनेको जोशीले दाबी गरेका छन् ।

५१. वीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको प्रथम जननिर्वाचित सरकारले जोशीलाई पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बनाएको थियो ।

५२. तत्कालीन संख्य विभाग (हालको तथ्यांक विभाग) कुनै बेला संसदीय मामिला मन्त्रालय मातहत थियो । सचिव थिए चन्द्रबहादुर थापा । तर, तिनै थापाले जनगणना आवश्यकतै नभएको बताउने गरेको जोशीले बताएका छन् ।

५३. जनगणना अनावश्यक भनेर जोशीलाई भन्ने थापा राणाकालमा राणा र प्रजातन्त्रकालमा कांग्रेससँग निकट भएर पछि पञ्चायतमा राजासँग पनि उत्तिकै मिलेको जोशीले बताएका छन् ।

५४. २०१६ सालसम्म लुम्बिनीमा कुनै गुलजार अवस्था नभएको जोशी बताउँछन् । आफू पुरातत्व विभागको अधिकारीको हैसियतमा लुम्बिनी पुग्दा एक बौद्ध भिक्षु कटेरोमा बसेको पाएको जोशीले लेखेका छन् । ती भिक्षुले पनि अस्थायी बसोबास गरेका थिए ।

५५. जोशीकै अगुवाइमा २०१६ सालमा प्रधानमन्त्री वीपी कोइरालाबाट भक्तपुर दरबारमा राष्ट्रिय कला संग्रहालय उद्घाटन गरिएको थियो ।

५६. २०१६ सालमै भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगमा जोशी नेतृत्वमा ‘नेपाल दर्शन’ कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री वीपी कोइराला र महाराष्ट्रका राज्य प्रमुख श्रीप्रकाशले मुम्बईको ‘प्रिन्स अफ वेल्स म्युजियम’ मा गरेका थिए ।

५७. काठमाडौंमा दिग्विजयराज जोशीको एक काठ मिल थियो । पछि टाट पल्टियो । लिक्विडेसनमा पुग्यो । शिक्षा सचिव दीर्घराज कोइसालाई आग्रह गरेर जोशीले २०१६ मा त्यो जग्गा र अरु सरसामानको तीन लाख रकम भेला गरे । लिलाम रकमबाट त्यो जग्गा उनले राष्ट्रिय नाचघर बनाउन प्रयोग गरे ।

५८. २०२९ सालबाट राष्ट्रिय नाचघरलाई सांस्कृतिक संस्थानको रुपमा नेपाल सरकारले रुपान्तरण गरेको छ । त्यहाँको विशाल प्रेक्षालयको नाम सत्यमोहन जोशी राखिएको छ ।

५९. उपत्यकामा धमाधम पुराना मुद्रा फेला पर्न थाले । त्यसकै संकलन गर्न पुरातत्व विभागअन्तर्गत जोशीले ‘मुद्रा शाखा’ बनाए । भेटिएका मुद्राहरुको तथ्यांक संकलन सुरु गरे ।

६०. मुद्राकै नामबाट जाबो भन्ने शब्द आएको जोशी बताउँछन् । जयप्रकाश मल्लको पालामा फुक्दा उड्ने ज्यादै सानो मुद्रा बनेको र त्यसको नाम जाबा भएको भन्दै त्यहीँबाट जाबो हुन गएको जोशीको तर्क छ ।

६१. नेपालमा भेटिएका सबैभन्दा पुरानो मुद्रा मानदेवले जारी गरेको मानाङ्क हो । जोशीले पाँच किसिमका मानाङ्क जम्मा गरेका छन् ।

६२. राजा महेन्द्रको २०१७ साल पुस १ को कदमपछि पुरातत्व विभागबाट जोशीको जागिर खोसियो ।

६३. जागिर खोसिएपछि जोशीले सिर्जनात्मक काम बन्द गरेनन् । उनले पुराना नेपाली मुद्राहरुको विस्तृत जानकारी समेटेको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ तयार गरे ।

६४. मुद्राबारेको पुस्तकको लागि पुनः जोशीले दोस्रो मदन पुरस्कार पाए । उनले २०१७ सालको पुस्तकको लागि पुरस्कार पाएका थिए ।

६५. २०१३ मा जस्तै २०१७ सालमा पनि उनको प्रकाशित पुस्तकले नभएर पाण्डुलिपिले पुरस्कार पाएको थियो ।

६६. पुरस्कार पाएपछि मदन पुरस्कार गुठीकै जगदम्बा प्रकाशन मालाले आफ्नो २४ औं ग्रन्थको रुपमा पुस्तक प्रकाशन गरेको थियो ।

६७. पुरातत्व विभागको हाकिम भएर मुद्रा शाखा खोलेर मुद्राको अनुसन्धान गर्दैगर्दा महेन्द्रबाट हटाइएका जोशीको ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तकको तारिफ महेन्द्रले नै गरेका थिए ।

६८. मुद्राका शौखिन जोशीकै मुद्रा नेपाल सरकारले प्रकाशनमा ल्याएको थियो । प्रधानमन्त्री ओलीको पालामा अर्थमन्त्री युवराज खतिवडाले जोशीको नाम र तस्बिर अंकित २५ सयको मुद्रा लोकार्पण गरेका थिए ।

६९. जोशीको मुद्रा प्रकाशनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अभियानले काम गरेको थियो ।

७०. जोशीले अमेरिकाले नेपालमा चलाएको सेतो दरबारस्थित ‘नेपाल–अमेरिका सांस्कृतिक केन्द्र’मा सांस्कृतिक सचिवको जागिर गरेका थिए । पछि त्यो संस्था विघटन भएपछि उनको जागिर सकिएको थियो ।

७१. २०१७ सालमा पञ्चायतले जागिर खोसेपछि सुरु गरेको सांस्कृतिक सचिवको तलब मासिक साढे तीन सय रुपैयाँ थियो ।

७२. सहायक मन्त्रीले चलाएको पत्रिकामा समेत राम्रो तलब पाएका थिएनन् जोशीले । तत्कालीन सहायकमन्त्री केदारमान व्यथितले चलाएको सांस्कृतिक पत्रिकामा काम गरेका जोशीले ‘पानसुपारी’ स्तरको मात्रै पैसा पाएपछि छोडेका थिए ।

७३. महेन्द्रले निर्माण गरेको पूर्वपश्चिम राजमार्गको प्रचार गर्ने पत्रिकामा समेत जोशीले काम गरेका थिए । सुन्दरराज चालिसेसमेत उक्त पत्रिकामा काम गर्ने गर्थे ।

७४. जुद्धशमशेरले पद्मशमशेरलाई श्रीपेच लाएर श्री ३ बनाएको हेर्नेमा जोशी पनि थिए ।

७५. रेसुङ्गाका महाप्रभुको प्रस्तावमा राजगद्धी छोडेर जुद्धशमशेरले पद्मशमशेरलाई श्रीपेच लाइदिएको जोशीले लेखेका छन् ।

७६. अचानक श्रीपेच पाएपछि पद्मशमशेर क्वाँक्वाँ रुन थालेको जोशीले सिंहदरबारको पटाङ्गिनीमा देखेका थिए ।

७७. राजा महेन्द्रलाई जनकपुर नजान तत्कालीन चर्चित गुरु स्थानेश्वर महाप्रभुले भनेका थिए । महेन्द्र नमानेकाले बम काण्ड भएको थियो ।

७८. महेन्द्रले स्थानेश्वर महाप्रभुलाई जुन ठाउँमा गए पनि टिकट नलाग्ने व्यवस्था मिलाएको जोशीले बताएका छन् ।

७९. इटालीका विद्वान लुसिनो पेटिक आफ्ना मित्र गुसेप तुच्चीसँग २००७ सालपछि नेपाल आए । नेपाल आएर पूर्वीय सभ्यताको अनुसन्धान गरे । ‘मेडिकल हिस्ट्री अफ नेपाल’ भन्ने पुस्तक लेखे ।

८०. इटालीयन विद्वानको पुस्तकको सन्दर्भ ग्रन्थको एक ठाउँमा ‘कलाकार अरनिको चीन पुगेका थिए । उनको वर्णन चीनको युआन वंशको इतिहासमा पाइन्छ’ लेखिएको देखे जोशीले । यहीबाट उनले अरनिकोको खोजी सुरु गरे ।

८१. चीनमा बौद्ध धर्मको प्रभावबारेमा अध्ययन गर्न जोशी २०१६ सालमा चीन पुगे । नेपाल, बर्मा हुँदै चीन पुगेको टोलीले राजधानी बेइजिङमा एक विशाल श्वेत चैत्य देख्यो । यहाँका स्थानीयले त्यो नेपाली कलाकार अरनिकोले बनाएको बताए । अरनिकोबारेमा त्यहाँ लेखिएको पुस्तक दिए । यो कुराले जोशीलाई अरनिकोको बारेमा खोज्न थप हौसला बढ्यो ।

८२. चिनियाँ भाषामा विदेशीलाई भनिने आनिक शब्दबाटै अरनिको भएको भन्दै जोशीले अरनिकोको घर ललितपुर भएको अनुमान गरेका छन् ।

८३. १३औं शताब्दीमा ८० सदस्यीय नेपाली कलाकारको टोली नेताको रुपमा चीन गएका अरनिको ६२ वर्षको उमेरमा सन् १३०६ मा मृत्यु भएको बताएका जोशीले अरनिको चीनको युआन वंशका कुब्लाई खाँपछि सम्राट चंग सङको पालामा समेत कलाकारिता गरेको जोशीले लेखेका छन् ।

८४. अरनिकोको जीवनी नेपालभाषा र नेपाली भाषामा लेखेका जोशीले अरनिकोलाई चीनले मिङ हुई अर्थात् कुसाग्र बुद्धिको प्रतीक जस्तो चीनका सम्राट तथा मन्त्रीहरुलाई दिइने पदवी दिइएको लेखेका छन् ।

८५. प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले चीन भ्रमण गर्दा जोशीले लेखेर साझा प्रकाशनले छापेको ‘कलाकार अरनिको’ पुस्तक लिएर चीन गएका थिए ।

८६. २०२२ सालको अन्ततिर चीनमा नेपाली भाषा शिक्षकको रुपमा पुग्दा माओको सांस्कृतिक क्रान्ति सुरु भएको थियो । अरनिकोले बनाएको चैत्य भत्काउलान् भनेर साङ्लो बाँधिएको थियो । यसको प्रत्यक्ष अनुभव गर्न पाए जोशीले । विदेशीले पनि श्रम गर्नुपर्ने नियमअनुसार उनले पनि श्रम गरेको बताएका छन् ।

८७. पहिलोपटक २०१६ मा घुमन्ते र बाँकी चारपटक चीनमा भाषा शिक्षकको रुपमा गएको समयमा अरनिकोको खोजीमा जोशीले धेरै मेहनत गरेका थिए । त्यसकै फलस्वरुप आज नेपाली भाषामा अरनिकोबारेमा धेरै जानकारीहरु सार्वजनिक छन् ।

८८. २०२७ सालमा कर्णालीको व्यवस्थित अध्ययन र खोजको लागि सत्यमोहन जोशी नेतृत्वको पाँच सदस्यीय टोली कर्णाली पुगेको थियो । सदस्यहरुमा कल्चरल इन्थ्रोपोलोजिस्ट विहारीकृष्ण श्रेष्ठ, भूगोलशास्त्री स्थिरजंगबहादुर सिंह, भाषाशास्त्री चुडामणि बन्धु र संस्कृतिविद् प्रदीप रिमाल रहेका थिए ।

८९. अमेरिकाको भाषाबारेमा अध्ययन गर्ने संस्था समर इस्टिच्युट अफ लिंग्विस्टिकले ल्याएको पाँच जना यात्रु बोक्ने जहाज चढेर जोशीको टोली कर्णालीको जुम्लामा अवतरण भएको थियो । २०२७ साल वैशाख २९ मा मध्यान्ह १२ बजे उडेको टोली दुई घन्टामा जुम्ला ओर्लिएको थियो ।

९०. कर्णालीको अध्ययन टोलीले जुम्ला सदरमुकाम खलङ्गामा ओर्लिएर अञ्चलाधीश बद्रीविक्रम थापासँग बुझ्दा असुरक्षाको कारण देखाएर काठमाडौं फिर्न आग्रह गरेका थिए । तर, जोशी नेतृत्वको टोलीले अडान लिएर कर्णाली क्षेत्रमा दुई महिना बिताए । उनीहरुलाई तिब्रिकोट बोहरा गाउँका महाशङ्कर देवकोटा, जुम्ला लुङ्खुका तुङ्गनाथ पाध्या, लक्ष्मीनिधि उपाध्याय, गौरीकान्त न्यौपाने, पद्मशरण पाध्या, हाटसिङ्जाका धनलाल हमाल आदिले अनुसन्धानमा सहयोग गरेका थिए ।

९१. कर्णाली पुगेर आएपछि पाँचै जनाले संयुक्त पुस्तक निकालेका थिए । सत्यमोहन जोशीले ‘कर्णाली लोक संस्कृति इतिहास’, स्थिरजंगबहादुर सिंहले ‘कर्णाली लोक संस्कृति–भौगोलिक दृष्टिकोण’, विहारीकृष्णले ‘कर्णाली लोक संस्कृति–जनजीवन’, चुडामणि बन्धुले ‘कर्णाली लोक संस्कृति–भाषा’ र प्रदीप रिमालले ‘कर्णाली लोक संस्कृति–साहित्य संगीत कला’ नामक विभिन्न भागमा पुस्तक बाँडिएको थियो ।

९२. कर्णाली लोक संस्कृतिका पाँच श्रृङ्खलाहरु नेपाल प्रज्ञा प्रतिष्ठानले गोविन्द वियोगीको मातृभूमि छापाखानाबाट छपाएको थियो ।

९३. कर्णालीका लोक संस्कृतिका पाँचै जनाको पाँच श्रृङ्खलाले २०२८ सालको मदन पुरस्कार पाएका थिए । २०२९ कात्तिक १७ गते प्रदान गरिएको मदन पुरस्कार पाँच जनाले पाएको त्यो पहिलो घटना थियो ।

९४. अहिलेसम्म तीनपटक मदन पुरस्कार पाउने एक्ला व्यक्ति सत्यमोहन जोशी हुन् । मदन पुरस्कार गुठीले एकपटकमात्रै मदन पुरस्कार दिने नयाँ नीति ल्याएकोले अब तीन पटक पुरस्कार पाएको एक्लो रेकर्ड जोशीको मात्रै हुने भएको छ ।

९५. ८४ वर्ष अगाडि मात्रै नेपालमा नेपाली भाषाको मौलिक नाटक मञ्चन भएको थियो । विक्रम संवत् १९९५ मा दरबार हाईस्कुलमा मञ्चन भएको नाटकको नाम थियो ‘मुकुन्द इन्दिरा’ । निर्देशक थिए बालकृष्ण सम ।

९६. मुकुन्द इन्दिरा यति हिट भयो कि समले कप्तानबाट मेजरमा बढुवा पाए । राम्रोसँग व्यवस्थापन गरेको भन्दै दरबार हाईस्कुलका हेडमास्र्टर रुद्रराज पाण्डेले गोरखा दक्षिणबाहु पदक पाएका थिए ।

९७. नाटकलाई जुद्धशमशेरले समेत औधी मन पराएका थिए । सिंहदरबारमा समेत नाटक देखाइएको जोशी बताउँछन् । नारायणहिटीमा लगेर राजाले चाँदीका थालमा कलाकारहरुलाई भोजन गराएको चर्चा चलेको जोशीले लेखेका छन् ।

९८. २०१९ सालमा जोशी प्रज्ञा प्रतिष्ठानमा भएको समयमै पहिलोपटक बृह्त नेपाली शब्दकोष प्रचलनमा आएको थियो । बनारसको भार्गवभूषण प्रेसबाट छापेर ल्याइएको शब्दकोषको नयाँ अवतार बृहत् नयाँ शब्दकोष जोशीको अगुवाइमै तयार भएको उनले उल्लेख गरेका छन् ।

९९. २०२८ सालमा इरानको राजतन्त्रले २५ सय वर्ष पुरा गरेको अवसरमा राजा वीरेन्द्रको इरान भ्रमणलाई लिएर नेपाल–इरान सम्बन्धको पुस्तक तयारीको जिम्मा जोशीलाई आइपरेको थियो । तत्कालीन इरानका राजा शाहंशाह रेजा पहलवीले लेखेको पुस्तक ‘मिसन फर फाइ कन्ट्री’ समेत हेरर उनले पुस्तक तयार गरेका थिए । पुस्तकको लेखनवृत्तको लागि जोशीलाई पाँच हजार रुपैयाँ दिइएको थियो । तर, अंग्रेजीमा अनुवाद गर्नेलाई पाँच गुणा धेरै दिइएको जोशीले बताएका छन् ।

१००. नेपाली नयाँ राष्ट्रगान सयौं थुँगा फूलका हामी.. का छनोट समितिका संयोजक थिए जोशी । चौध सदस्यीय समितिको संयोजक हुन आफूलाई तत्कालीन संस्कृतिमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेको जोशीले बताएका छन् ।

१०१. सत्यमोहन जोशी हुलाक टिकट संकलनका सौखिन थिए । उनले चन्द्रशमशेरकालीन हुलाक टिकटबाट संकलन सुरु गरेका थिए । पछि उनै जोशीकै हुलाक टिकटसमेत प्रचलनमा ल्याइयो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते जोशीको नाममा हुलाक टिकट प्रकाशनको निर्णय गरेको थियो । २०७७ माघ २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले हुलाक टिकटमा टाँचा लगाएर उद्घाटन गरेकी थिइन् ।

१०२. सत्यमोहन जोशी दम्पत्तीले आफ्नो मृत्युपर्यन्त शरीर दान गरेका छन् । शरीर दान उनीहरुले ललितपुरको किस्ट शिक्षण मेडिकल कलेजलाई गरेका हुन् । उक्त मेडिकल कलेजबाट राम्रो सेवा पाएकाले दान गरेको जोशीले बताएका छन् । आफ्नो शरीर दानमा श्रीमतीले गरेको साथलाई तारिफ गर्दै उनी भन्छन्, ‘उनले बाँचुञ्जेलमात्र हैन, मृत्युपछि पनि मसँगै रहने निधोमा पुगिन् ।’


प्रतिक्रिया

One thought on “१०२ वर्षमा उक्लिएका सत्यमोहनको जीवनका १०२ सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर