मतगणना अस्तव्यस्तः ८ घण्टासम्म आयोगले दिएन सूचना, कौतुहल बोकेर भीड सडकमा – Nepal Press

मतगणना अस्तव्यस्तः ८ घण्टासम्म आयोगले दिएन सूचना, कौतुहल बोकेर भीड सडकमा

काठमाडौं । देशभरका स्थानीय तहको नयाँ नेतृत्वका लागि हिजो निर्वाचन भएपश्चात आज मतगणना कार्य जारी छ । सबैभन्दा बढी चासो छ, काठमाडौं महानगरमा ।

राष्ट्रिय सभागृहमा महानगरको मतगणना भइरहँदा बाहिर सडकमा नतिजा सुन्नका लागि सयौं मानिसहरू भीड लागेका छन् । तर, मतगणना सुरू भएको ७ घण्टा भइसक्दा पनि निर्वाचन आयोगले आधिकारिकरूपमा कुनै पनि विवरण बाहिर ल्याएको छैन ।

मतगणनाबारे नियमितरूपमा सञ्चारमाध्यम र सर्वसाधारणलाई अपडेट गराउनुपर्ने जिम्मेवारी आयोगको हो । तर, आयोगले आधिकारिक जानकारी नदिँदा सामाजिक सञ्जाल र मिडियामा जथाभावी विवरणहरू आइरहेका छन् र मतदाता अन्योलमा परिरहेका छन् ।

आयोगले सर्वसाधारणलाई मतगणनाको लाइभ अपडेट गराउन भनेर नै सभागृह अगाडिको सडकमा ठूलो स्क्रिन पनि राखेको छ । तर, अहिलेसम्म उक्त स्क्रिन सञ्चालनमै आएको छैन । स्क्रिनको मुन्तिर विभिन्न दलका समर्थकहरू जिज्ञासा बोकेर बसिरहेका छन् । उनीहरू पनि सूचनाका लागि सामाजिक सञ्जालकै भर परिरहेका छन् ।

मतगणनास्थलबाट विभिन्न व्यक्तिहरूले टिकाउने तथ्यांकहरू मिडियामा आइरहेको हुँदा कुन आधिकारिक हो भनेर छुट्याउन पनि सहज छैन । मतगणना कार्य अति सुस्त छ । ८ घन्टासम्ममा बल्लतल्ल १ हजारको हाराहारीमा मत गणना भएको छ । एउटै मत गन्नका लागि १०-१५ मिनेट लाग्ने गरेको बताइन्छ । यो पाराले एक हप्तामा पनि मतगणना सकिने छाँट छैन ।

काठमाडौं मात्र होइन, अन्यत्र पनि जाकारी मतगणनाबारे आयोगले कुनै आधिकारिक सूचना दिएको छैन । मतदानअघिसम्म दिनहुँ पत्रकार सम्मेलन गरेर सानातिना सूचनाहरू बाँडिरहने आयोगले जनचासोको विषयमा भने उदासिनता देखाएको छ ।

मतगणनामा भएको ढिलाइ तथा सूचना वितरण नगरेको विषयमा आयोगसँग बुझ्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् । आयोगका प्रमुक्त आयुक्त दिनेश थपलिया, प्रवक्ता शालिग्राम शर्मा र सूचना अधिकारी सूर्यप्रसाद अर्याल कसैले पनि फोन उठाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर