भट्टराईलाई निर्वाचन आयोगको प्रश्न: मोबाइल वा क्यामरा कसरी गोप्य कक्षमा लैजानुभयो ? (पत्रसहित) – Nepal Press

भट्टराईलाई निर्वाचन आयोगको प्रश्न: मोबाइल वा क्यामरा कसरी गोप्य कक्षमा लैजानुभयो ? (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईलाई मतपत्र सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सामाजिक सञ्जालमा भट्टराईले स्वस्तिक छाप देखिने गरी मतपत्र सेयर गरेको विषयमा आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले भट्टराईलाई पठाएको स्पष्टीकरण पत्रमा गोप्य कक्षमा कुनै सहयोगी तथा मोबाइल वा क्यामरा लैजान नमिल्ने पनि स्मरण गराइएको छ ।

पत्रमा भनिएको छ, ‘मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानूनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निषेधित स्थानमा लान नमिल्ने सामग्री मार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ? यहाँले गर्नुभएको कसुरको लागि यहाँलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो रु यो पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेस गर्नुहुन निर्णयअनुसार अनुरोध छ ।’

पत्रमा थप भनिएको छ, ‘तपाइलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? देशको पूर्व प्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको हो ?’

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ मा ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यस भन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने उल्लेख छ । सोही दफाको उपदफा २ मा उपदफा १ विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन् ।


प्रतिक्रिया

One thought on “भट्टराईलाई निर्वाचन आयोगको प्रश्न: मोबाइल वा क्यामरा कसरी गोप्य कक्षमा लैजानुभयो ? (पत्रसहित)

  1. बोर्ड फस्ट, पिएचडिधारी, पुर्वपधानमन्त्रि, पुर्व अर्थमन्त्रि को पनि दर्दनाक गल्ति जो अछम्य छ। माफि माग्नुहोस। नत्र भने भोलिका कर्णधारमा भोटप्रति विश्वास घट्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर