मताधिकारबाट वञ्चित प्रदेश सांसद रेग्मीले भनिन्- आयोगले लापरबाही गर्‍यो – Nepal Press

मताधिकारबाट वञ्चित प्रदेश सांसद रेग्मीले भनिन्- आयोगले लापरबाही गर्‍यो

विराटनगर । निर्वाचन आयोगको लापरबाहीका कारण प्रदेश १ की प्रदेश सभा सदस्य सावित्रा रेग्मी मताधिकार प्रयोग गर्नबाट वञ्चित भएकी छिन् ।

एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य र हाल एकीकृत समाजवादी पार्टीमा आबद्ध रेग्मीको साबिकको विराटनगर महानगरपालिका ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्र नाम हटेपछि मतदान गर्न नपाएकी हुन् ।

निर्वाचन आयोगकाको लापरबाहीले रेग्मीको मतदाता नामावलीको सूचीबाटै हटाएर अर्को नगरपालिका सुन्दर हरैचा नगरपालिका वडा नम्बर ९ मा समावेश गरेपछि आफूले मत हाल्न नपाएको प्रदेश सदस्य रेग्मीले बताइन् ।

‘२०४५ सालपछिका निर्वाचनमा नियमित रूपमा महानगरपालिका ३ स्थित पुसेट कलेज निर्वाचन केन्द्र मत खसाल्दै आएको थिए’, प्रदेश सभासद् रेग्मीले भनिन् ‘शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा मत हाल्न त्यहाँ पुग्दा मतदाता नामावलीको सूचीबाटै मेरो नाम हटेको पाएँ, कसरी यस्तो भयो म अचम्मित छु।’

निर्वाचन आयोगको लापरबाहीले मताधिकार प्रयोग गर्नबाट आफू वञ्चित हुनुपरेको उनले बताइन् ।

रेग्मीका अनुसार अघिल्लो स्थानीय तह,त्यसै गरी प्रदेश र संघीय निर्वाचनमा उनले त्यही केन्द्रबाट मतदान आफूले खसालेको बताइन् । रेग्मी विराटनगरकी स्थायी बासिन्दा हुन् ।

उनले विना जानकारी साबिकको मतदाता नामावलीको सूचीबाटै नाम हटाइएको बारेमा छानबिन हुनुपर्ने माग समेत राखेकी छिन् ।

उनी एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीकी श्रीमती हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर