सिन्धुपाल्चोकमा एक स्थानमा रोकियो मतदान, दुई स्थानमा झडप – Nepal Press

सिन्धुपाल्चोकमा एक स्थानमा रोकियो मतदान, दुई स्थानमा झडप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

बाह्रबिसे नगरपालिका- १ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको भगडा झडपमा परिणत भएको हो ।

घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए । मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका- २ यांग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ । पाँचपोखरी थाङपालको यांग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि माहोल तनावग्रस्त बनेको थियो ।

सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले झडप हुन रोकेपछि त्यहाँ अवस्था सामान्य बनेको छ ।

यस्तै मेलम्ची नगरको ज्यामिरेस्थित स्वास्थ्यचौकीको बुथमा स्थान साँघुरो हुँदा मतदाताबीच धकेलाधकेल भएको थियो । ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर अवस्था सामान्य बनाउनमात्र हतियार तेर्साएको सुरक्षा स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर