निर्वाचनले जुराएको गाउँ फर्कने अवसर – Nepal Press

निर्वाचनले जुराएको गाउँ फर्कने अवसर

रुपन्देही । कर्मस्थलबाट आफ्नो नामावली भएका स्थानमा मतदाता जानेहरूको लाइन रहेको छ । रुपन्देहीमा विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न जिल्लाका नागरिकहरू मतदानका लागि आआफ्नो घर फर्किने चटारोमा छन् ।

मतदानका लागि जन्म घर जान बुटवलको नयाँ बसपार्क, पाल्पा बसपार्कमा नागरिकको भिड बढेको छ । नयाँ बसपार्कबाट बाहिरिने अधिकांश बसको टिकटभन्दा पनि सम्बन्धित पालिकाले आफ्ना आफ्ना सवारी साधन व्यवस्थापन गरेर लगिरहेका छन् ।

बुटवलको बसपार्कमा भेटिएका अर्घाखाँची मालारानीका शिवराज शर्माले आफ्नो जिम्मेवारी पूरा गर्न व्यवसाय नै बन्द गरेर मतदानका लागि गाउँ जान लागेको बताए ।

मालिका गाउँपालिका ७ की सरिता लम्सालले पहिलो पटक मतदान गर्न लागेकाले गाउँ जान लागेको बताइन् ।

अध्ययनका लागि रुपन्देहीको सालझण्डीमा बस्दै आएकी उनीले योग्य, सक्षम र गाउँको विकास गर्ने नेतालाई आफ्नो गोप्य मतदान हुने बताइन् ।

बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची स्याङ्जा जानेहरूको भिड छ ।

शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहलले दशैँमा जस्तै झल्को मेटाएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केको अर्घाखाँचीका ईश्वर भुसालले बताए ।

आफ्नो जन्मभूमिको विकास गर्ने जनप्रतिनिधि छान्ने जिम्मेवारी हाम्रो हो, अहिले आफ्नो जिम्मेवारी पूरा नगरे ५ वर्ष औँला ठड्याउन पाइदैनन नि ? – भुसालले भने ।

गुल्मी घमिरका ८१ वर्षीय ईश्वरी लम्सालले आफू काठमाडौंमै बसेको भए पनि निर्वाचनका लागि गाउँ जान लागेको बताए ।

स्थानीय सरकारमा सक्षम, योग्य र विकास प्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको उनको भनाइ छ । स्थानीय सरकार जनताको नजिकको भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ आएको बताउँछन्, अधिकांश मतदाताहरू ।

आफूले रोजेको प्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्न र हाम्रालाई होइन असल नेतृत्वलाई मतदान गर्न गाउँ जान लागेको गुल्मी रुरुकी माया ज्ञवालीले बताइन् । यसरी बाहिरबाट गाउँ जानेहरू यस पटक भने व्यक्ति हेरेर मतदान गर्ने पक्षमा रहेको बताएका छन् ।

गाउँमा मतदान गर्न जानेलाई राजनीतिक दलले आफू निकटका मतदातालाई विभिन्न स्थानबाट सवारीसाधनको व्यवस्था गर्दै आएका छन् ।

स्थानीय स्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले पनि टाढा–टाढा भएका मतदाता घर फर्किएका हुन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ ।

चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढेको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका हुन् ।

गाउँघरको विकासका लागि गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले मतदान गर्न मतदाता घर फर्किएका हुन् । बाहिरबाट गाउँ फर्केका मतदाताले गाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्न आएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर