भरतपुरमा प्रचण्ड र तीन मन्त्रीविरुद्ध आएको उजुरी निर्वाचन कार्यालयद्वारा दरपिठ – Nepal Press

भरतपुरमा प्रचण्ड र तीन मन्त्रीविरुद्ध आएको उजुरी निर्वाचन कार्यालयद्वारा दरपिठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरपुरमा आचारसंहिता उल्लंघन गरी मौन अवधिमा मतदाता प्रभावित गर्न खोजेको भन्दै आएको उजुरी दरपिठ भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

एमालेका कार्यकर्ता अस्मिन घिमिरेले प्रचण्ड तथा संघीय सरकारका मन्त्रीहरू किसान श्रेष्ठ, उमेश श्रेष्ठ र उमा रेग्मीले सरकारी सवारीसाधनको दुरुपयोग गर्दै आचारसंहिता विपरित भरतपुर महानगर र माडी नगरपालिकाका आम मतदाताको घर–घरमा पुगेको दाबी गरेका छन् । प्रमाणका रूपमा आफूले उनीहरूको सवारीको भिडियो निर्वाचन कार्यालयलाई बुझाएको घिमिरेले बताए ।

‘मैले निर्वाचन अधिकृत प्रकाश अधिकारीको भाइबर र ह्वाट्सएपमा पनि भिडियो पठाइदिएको छु । मलाई दर्ता गर्न लगाएको छु भनेर हिँड्नुभयो । तर, उहाँले भित्र चाहिँ निवेदन दर्ता नगरी दरपिठ गर्नु भन्नुभएको रहेछ,’ घिमिरेले भने ।

घिमिरेले प्रमाणका रूपमा पेस गरेको भिडियो अगुवापछुवा सहितका गाडीहरू सडकमा हिँडेको देखिएको छ ।

‘मौन अवधिमा अगूवापछुवा सहितको गाडी अरू कसले लिएर हिँड्छ ?’ घिमिरेले प्रश्न गरे । चितवनमा अगुवापछुवासहित हिँड्ने प्रचण्डबाहेक अरू कोही नभएको उनले बताए ।

‘उहाँ हिजो माडी जानुभयो, जबकि उहाँले भोट हाल्ने ठाउँ त भरतपुर हो,’ घिमिरेले भने, ‘माडी जानुको उद्देश्य मतदाता प्रभावित गर्नेभन्दा अर्को हुनै सक्दैन । यसरी मौन अवधिमा अगुवा पछुवा लिएर भोट माग्न जान पाइन्छ ?’

यस विषयमा निर्वाचन अधिकृत अधिकारीसँग बुझ्दा प्राप्त निवेदनमा दर्ता गर्न लायक विषयवस्तु नभएको बताए ।

उनले भने, ‘विभिन्न नेपाल सरकारका मन्त्रीको नाम लेख्नुभएको छ, ठेगाना पनि केही छैन । यस्तो ठाडो उजुरी के भनेर दर्ता गर्नु ?’

निवेदकको भिडियोलाई प्रमाण मान्न नसकिने अधिकारीको भनाइ छ ।

‘भिडियोमा केही गाडी हिँडेको देखिन्छ, त्यसैलाई त कसरी प्रमाण मान्न सकियो र ?’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर