दुई दिन बिदालाई निजी विद्यालयको आलोचनात्मक समर्थन, कोर्स नसकिए अतिरिक्त कक्षा चलाउने – Nepal Press

दुई दिन बिदालाई निजी विद्यालयको आलोचनात्मक समर्थन, कोर्स नसकिए अतिरिक्त कक्षा चलाउने

काठमाडौं । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय निजी विद्यालयमा समेत लागू हुने भएको छ । शिक्षा मन्त्रालयले आज सबै विद्यालयहरू शनिवार र आइतबार बन्द हुने निधो गरेसँगै निजी विद्यालय सञ्चालकहरू तनावमा देखिएका छन् ।

पेट्रोलियम पदार्थको खपत खटाउन र आर्थिक स्थिति सुधार गर्न भन्दै सरकारले जेठ १ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा विद्यालयहरू हप्तामा दुई दिन बन्द गर्ने निर्णय लिएको थियो ।

त्यसको १५ दिन भइसक्दा समेत निजी विद्यालयहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अलमलमै थियो ।

प्याब्सनले विद्यालय खुलाउने वा नखुलाउने भन्ने निश्चय नगर्दा निजी विद्यालय समेत अन्योलमा परिरहेको बेला शिक्षा मन्त्रालयले बाध्यकारी निर्णय गरेको हो । सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरेअनुसार मन्त्रालयले विद्यालयहरूलाई स्पष्ट बनाएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘बिदा दिने निर्णय सरकारले गरेको हो । हामीले प्रस्ट पारिदिएका मात्र हौँ ।’

शनिवार र आइतबार बिदा हुने भएपछि शुक्रवार ४ बजेसम्म पढाइ हुनेछ । अरू नपुग हुने दिनमा हिउँदे बिदा, बर्खे बिदाबाट कटाएर कोर्स सकाउनेसमेत निर्णय भएको उनले बताए ।

मन्त्रालयले गरेको उक्त निर्णयलाई प्याब्सनले आलोचनात्मक स्वीकार गरेको छ । दुई दिन बिदा दिँदा मन्त्रालयले तोकेको समय सीमामा कक्षा घण्टा पुरा गर्न नसकिएमा अतिरिक्त कक्षा चलाउने प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मन्त्रालयले तोकेको समय सीमाभित्र कक्षा घण्टा पुरा भयो भने भइहाल्यो, नत्र हामी बिदाको दिन पनि कक्षा चलाउँछौँ ।’

सरकारले गरेको निर्णय सरकारले नै पछि सच्याउन सक्ने उनको भनाइ छ ।

अध्यक्ष ढुंङगानाले भने, ‘निर्णय हामीले लागू गर्ने भन्दा पनि भोलि सरकारले नै सच्याउँछ होला । विद्यार्थीको पठनपाठन कार्य दिन पुगेन भने परीक्षा र मूल्यांकन प्रणालीमा समस्या आउन सक्छ ।’

यो निर्णय परीक्षणको लागि मात्र भनिएकाले धेरै आतिइहाल्नुपर्ने अवस्था पनि नभएको उनको भनाइ छ । शुक्रवार पुरा दिन पढाइ हुने भएकाले यसले भरथेग गर्न सक्ने उनले बताए ।

विद्यार्थीको पाठ्यक्रम अनुसार विद्यालयले एक हजार २४ घण्टा पठनपाठन गर्नुपर्ने हुन्छ । उक्त घण्टा कसरी पुरा हुन्छ भनेर आफूहरूले मन्त्रालयलाई सोधेको उनी बताउँछन् ।

‘त्यसमा उहाँहरूले जाडो, गर्मी बिदाहरू कटौती गर्ने तथा चाडबाडका बिदाहरू पनि छाँट्ने भन्नुभएको छ,’ उनले भने, ‘त्यो क्यालेन्डर हामीलाई दिनुहोला । क्यालेन्डर हेरेपछि त्यसमा के कति कमी हुन्छ भन्ने हेरेर प्रतिक्रिया जनाउनेछौँ ।’

यो वर्षलाई पाठ्यक्रम सक्न अलिकति कठिनाइ भएको अध्यक्ष ढुंगानाले बताए ।

उनले भने, ‘आउने वर्षदेखि त वैशाख १ गतेदेखि चैत सम्मको क्यालेन्डर मेन्टेन भएपछि यो समस्या धेरै आउँदैन ।’

चुनावमै ६ दिन बिदा

स्थानीय चुनावको बहानामा विद्यालयहरू ६ दिनका लागि बन्द भएका छन् । आजदेखि २ गतेसम्म विद्यालयहरू बन्द हुने भएका हुन् । चुनावमा ६ दिन बिदा पर्नु सामान्य रहेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको मान्छे डडेलधुरा, दार्चुला, हुम्ला, जुम्ला पुगेका छन् भोट हाल्न । शुक्रवार चुनाव भयो शनिवारसम्म त विद्यालयमा सामान नै हुन्छन् । आइतबारसम्म खाली गर्नुपर्‍यो । १ गते आइतबार परिहाल्ने । तीन–चार गतेदेखि विद्यालय खुल्छन् ।’

विद्यालयहरू धमाधम बिदा हुन थालेपछि शिक्षा मन्त्रालयले मतदान केन्द्र भएका विद्यालयलाई मात्रै ३ दिन बिदा दिइएको बताएको छ । मतदान केन्द्र नभएको विद्यालयलाई भने चुनावको दिन मात्रै बिदा दिएको मन्त्रालयका प्रवक्ता शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *