ललितपुरको लुभुमा बिहीबार सकिँदै महालक्ष्मी महाभैरव जात्रा (भिडिओ) – Nepal Press

ललितपुरको लुभुमा बिहीबार सकिँदै महालक्ष्मी महाभैरव जात्रा (भिडिओ)

ललितपुर । ललितपुरको लुभुमा महालक्ष्मी महाभैरव जात्रा जारी रहेको छ । वैशाख शुक्ल अक्षय तृतीयामा सुरु भएको जात्रा बिहीबार सम्पन्न हुँदैछ ।

जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई बाजागाजासहित टोलटोलमा खट बिसाउँदै नगरपरिक्रमा गराउने चलन छ । जात्रा अवधिभर महालक्ष्मी, कुमारी, कुमारलाई एउटा खट र महाभैरव, कुमार र कुमारीलाई अर्को खटमा राखेर नगर परिक्रमा गराइन्छ ।

खटलाई भगवती लाछी टोल, पिङ टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोल घुमाइन्छ ।
रातो मत्स्येन्द्रनाथको रथ जात्रासँगै लुभुको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने प्रचलन रहेको छ । रातो मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पांग्रालाई लुभुको भैरवका रूपमा पुजिन्छ ।

त्यसैले रातो मत्स्येन्द्रनाथको जस्तै लुभुमा खटयात्रा गरी जात्रा मनाउने परम्परा रहेको महालक्ष्मी मन्दिरका मूल पुजारी श्यामशरण श्रेष्ठले जानकारी दिए ।

रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ । सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । जात्रा सकिएपछि महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइने मूल पुजारी श्रेष्ठले बताए ।

मल्ल राजाले सन्तान रक्षा हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा चलाएको कथन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *