विराटनगर महानगर : नागेश र सागरको अग्नि परीक्षा, उमेश पनि मेयरको दौडमा – Nepal Press

विराटनगर महानगर : नागेश र सागरको अग्नि परीक्षा, उमेश पनि मेयरको दौडमा

विराटनगर । स्थानीय तह निर्वाचन आउन तीन दिनमात्रै बाँकी रहेको छ । मंगलबार मध्यरातिबाट मौन अवधि पनि सुरु हुँदै छ । मौन अवधि सुरु हुनुअघि दलहरू अहिले प्रचारप्रसारमा व्यस्त छन् ।

देशभरि नै चुनावी माहोल तातिरहेका बेला प्रदेश १ को एकमात्र महानगर विराटनगरको चुनावी होड रोचक बन्दै गएको छ ।

महानगरको मेयरमा गठबन्धन, एमाले, स्वतन्त्र र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । त्यहाँ करिब डेढ दर्जन उम्मेदवार मेयर बन्ने दौडमा छन् ।

गठबन्धन दलहरूबाट कांग्रेसका नागेश कोइराला मेयरका प्रत्याशी हुन् । नेकपा एमालेबाट सागर थापा र स्वतन्त्रबाट उमेश यादव उम्मेदवार छन् ।

विराटनगर महानगरपालिका कांग्रेस नेता डाक्टर शेखर कोइरालाको गृह नगर हो । त्यसैले यो विषय कोइरालाको प्रतिष्ठासँग जोडिएको छ ।

एमाले पनि आफ्नो जितलाई सुनिश्चित गरी नयाँ रेकर्ड कायम गर्ने दाउमा छ ।

कांग्रेसको अवस्था

कांग्रेस महानगरका अनुसार महानगरमा अहिले ७ हजार १०५ जना क्रियाशील सदस्य छन् ।

२०७४ सालको निर्वाचन परिणामको आधारमा भने कोइरालालाई जित सहज हुने गठबन्धन दलको विश्लेषण छ । त्यस बेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो । कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मतसहित सहजै निर्वाचन जिते ।

एमालेका विनोद ढकालले झन्डै ६ हजार कम अर्थात् १७ हजार ३२१ मत ल्याएका थिए । जबकि त्यस बेला एमाले र विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल भएको थियो ।

अहिले अवस्था फेरिएको छ । गच्छदार नेतृत्वको पार्टी कांग्रेसमा समाहित भएको छ भने कांग्रेससँग अन्य दलले पनि गठबन्धन गरेका छन् । तर कांग्रेसभित्र कार्यकर्ताको असन्तुष्टि र उम्मेदवार छनोटले प्रभाव पार्न सक्ने आँकलन नेताहरूको छ ।

एमालेको अवस्था

एमालेका नेताहरूका अनुसार महानगरको एउटा वडामा कम्तीमा १० वटा टोल कमिटीहरू बनाएको छ ।

एमाले नेता विनोद ढकालको विश्लेषण अघिल्लो स्थानीय तहको निर्वाचनताका एमाले मधेस छिर्न सक्ने अवस्था थिएन । तर, अहिले एमालेको त्यो अवस्थाबाट फेरिएको छ ।

विराटनगरका मधेसी समुदायको बसोबास रहेका वडाहरूमा अहिले एमाले कांग्रेसको हाराहारीमा मत ल्याउन सक्ने अवस्था पुगेको छ । तर, एमाले विभाजनले केही नोक्सानी भने हुने अनुमान गर्न थालिएको छ ।

मेयर बन्ने दौडमा रहेका जीवन घिमिरे, परशुराम बस्नेतलगायतका नेताहरूको असन्तुष्टि देखिएकाले केही समस्या पर्न सक्ने एमाले नेताहरूलाई डर छ ।

विगतको अवस्था

विराटनगरको निर्वाचन इतिहासलाई हेर्दा २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेर ध्रुवनारायण श्रेष्ठ पहिलो प्रमुख बने । वामपन्थी नेता उनी एमालेमा आबद्ध भए । पछि श्रेष्ठ राप्रपामा प्रवेश गरे र अहिले उनी ‘सिन आउट’ छन् ।

२०४९ सालमा कांग्रेसका अशोक कोइरालाले निर्वाचन जिते । २०५४ सालमा एमालेका रमेशचन्द्र पौडेल निर्वाचित भएका थिए । तर, महानगरपालिका भएपछि २०७४ सालमा भएको निर्वाचनबाट कांग्रेसका भीम पराजुली प्रमुख बने ।

१९ वटा वडा भएको विराटनगरको २, ५ र ११ नम्बर वडामा मात्र एमालेले निर्वाचन जितेको थियो । जबकि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टीले १२, १३, १४, १५, १७ र १८ वडा जितेर दोस्रो दलको हैसियत बनाएको थियो ।

माओवादीले भने ६ नम्बर वडामात्र जित्दा कांग्रेस १, ३, ४, ७, ८, ९ र १६ गरी ८ वडा जित्दै पहिलो बनेको थियो ।

यी २ उम्मेदवारमात्र होइन, स्वतन्त्र उम्मेदवार उमेश यादव पनि निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । उनी निर्वाचन चिह्न लालटिन लिएर चुनावी मैदानमा छन् । माओवादीबाट असन्तुष्ट नमिता न्यौपानेसँग यादव समूहको गठबन्धन छ । यादव २०७४ सालको निर्वाचनमा पनि विराटनगर महानगरकाे प्रमुख उम्मेदवार बनेका थिए ।

न्यौपाने उपप्रमुख पदकै उम्मेदवार थिइन् । त्यस बेला सङ्घीय समाजवादी र माओवादीबीच तालमेल थियो । गठबन्धन र एमालेबाहेक चुनावमा प्रभाव पार्ने स्वतन्त्र उम्मेदवार यादव मधेसी समुदायका पपुलर नेता हुन् ।

मधेस आन्दोलनको जगमा बनेको मधेसी जनअधिकार फोरम हुँदै जसपाको राजनीतिमा आएका यादवले महानगरको १२, १३, १४, १५, १७ र १८ नम्बर वडामा प्रभाव जमाउन सक्ने देखिन्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा फोरमले ६ वडाको वडाध्यक्ष जित्दा उमेश यादव प्रभावशाली देखिएका थिए । माओवादी फोरम गठबन्धनबाट मेयरको प्रत्याशीसमेत रहेका उमेशले १४ हजार ९५८ मत ल्याएका थिए ।

जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार उनीहरूलाई १ लाख ३३ हजार १४२ जनाले मतदान गर्नेछन् । २०७४ सालमा भने १ लाख १३ हजार ७६१ जनाले मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर