आरसी ३२ लाई डेढ लाख हजार जरिवाना, रविनसहित तीन अफिसियल र तीन खेलाडीलाई प्रतिबन्ध – Nepal Press

आरसी ३२ लाई डेढ लाख हजार जरिवाना, रविनसहित तीन अफिसियल र तीन खेलाडीलाई प्रतिबन्ध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘सी’ डिभिजन क्लब आरसी ३२ फुटबल एकेडेमीलाई एक लाख ५० हजार जरिवाना र क्लबका खेलाडी र अफिसियलहरुका प्रतिबन्ध लगाएको छ ।

आइतबार ‘सी’ डिभिजन लिगअन्तर्गत पुल्चोक स्पोर्टस् क्लबविरुद्धको खेलपछि रेफ्री र म्याच अफिसियलहरुविरुद्ध अभद्र व्यवहार गरेको भन्दै एन्फा अनुशासन कमिटीले आरसी ३२ का खेलाडी अनीश श्रेष्ठलाई दुई वर्ष र विदुर रिजाल र प्रविन राईलाई समान एक वर्षको प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धसँगै उनीहरू एन्फाले अनुमति दिएको कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । यस्तै, आरसी ३२ का अफिसियल सञ्जीव कार्की र टिम व्यवस्थापक अनुप भट्टराईलाई लिगका आगामी खेलमा प्रतिबन्ध गरेको छ ।

अनुशासन कमिटीले आरसी ३२ का प्रतिनिधि रविन चन्दलाई फुटबल गतिविधिबाट एक वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रतिबन्ध सोमबारदेखि नै लागू भएको एन्फाले जनाएको छ ।

लिगअन्तर्गत सोमबारको खेलमा पुलचोकसँगको २–२ को बराबरीपछि आरसी ३२ का खेलाडी तथा प्रतिनिधि रेफ्री तथा म्याच अफिसियलहरुविरुद्ध हातपातमा उत्रिएको एन्फाले जनाएको थियो ।

यस्तै, अनुशासन कमिटीले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब श्री भगवती क्लबमाथि लगाएको जरिवाना बढाउने निर्णय गरेको छ । अब भगवतीले एक लाख जरिवाना तिर्नु पर्नेछ ।

यसअघि ‘बी’ डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलपछि श्री भगवतीका खेलाडी तथा अफिसियलहरु रेफ्रीमाथि हातपातमा उत्रिएको भन्दै एन्फाले क्लबका अफिसियल राजाराम श्रेष्ठ र विक्रम डंगोलसँगै खेलाडी अनीश श्रेष्ठलाई एक वर्षको प्रतिबन्ध र ५० हजार जरिवाना लगाएको थियो ।

कमिटीले ‘बी’ डिभिजन लिगकै अर्को क्लब नयाँ बस्ती यूथ क्लबमाथिको जरिवाना एक लाख ५० हजारमा घटाएको छ ।

‘बी’ डिभिजन लिगअन्तर्गत मध्यपुर यूथ एसोसिएसनसँग ३–१ पराजित हुँदा नयाँ बस्तीका खेलाडी र अफिसियलहरुले रेफ्रीहरुमाथि अभद्र व्यवहार गरेको एन्फाले जनाएको छ । यसअघि एन्फाले नयाँबस्तीलाई तीन लाखको जरिवाना लगाउने निर्णय गरेको थियो ।

यस्तै, अनुशासन कमिटीले नयाँ बस्तीका व्यवस्थापक विकाश राईमाथि ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग कमिटीको निर्णयमा भने समर्थन जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर