गृहमन्त्रीका भाइले कुलोको जग्गा कब्जा गरी व्यवसायिक भवन निर्माण गरे – Nepal Press

गृहमन्त्रीका भाइले कुलोको जग्गा कब्जा गरी व्यवसायिक भवन निर्माण गरे

बुटवल । कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाडका भाइ रामकृष्ण खाडले स्थानीयले विरोध गर्दागर्दै पनि सोह्र–छत्तीस सिँचाइ प्रणालीको जग्गा अतिक्रमण गरी मापदण्ड विपरीत व्यावसायिक भवन निर्माण गरेर भाडामा लगाएका छन् ।

उक्त भवनमा खाडले आठ वटा सटर बनाएर प्रतिसटर आठ हजार रुपैयाँका दरले भाडामा लगाएका छन् ।

रामकृष्ण कांग्रेस रुपन्देहीको सभापति भएकाले पनि धेरैले विरोध गर्न नसके पनि कानुनी रूपमा गलत गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएका छन् ।

मापदण्ड विपरीत सिँचाइ कुलोको जग्गा अतिक्रमण गरी भवन निर्माण गरिएपछि नगरपालिकाले नक्सा पास गरेको छैन । नगरपालिकाले पटक पटक निर्माण कार्य रोक्न आग्रह गर्दा पनि नमनेपछि नक्सा पास नगरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ सिद्ध नगरमा काँग्रेस उम्मेदवार खाडले कुलो अतिक्रमण गरी व्यावसायिक भवन निर्माण गरेका हुन् ।

करिब १२ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनमा रहेका आठ वटा सटरहरूमा किराना पसल, रेस्टुरेन्ट, सैलुन, मासु पसल लगायतका व्यवसाय सञ्चालनमा छन् । ती सटरहरूबाट काँग्रेस उम्मेदवार खाडले मासिक ६४ हजार भाडा बुझ्दै आएको स्थानीय बताउँछन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का निवर्तमान वडाध्यक्ष रामचन्द्र क्षेत्रीले नगरपालिकाबाट मापदण्ड पुर्‍याएर मात्र भवन निर्माण गर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नक्सा पास नै नगरिदिएको बताए ।

‘म वडाध्यक्षमा बहाल हुँदा नै एक वर्षअघि उक्त भवन निर्माण भएको हो, नगरपालिकाले पटक पटक मापदण्ड पुर्‍याएर र कुलोको जग्गा अतिक्रमण नगरी भवन निर्माण गर्न आग्रह गर्दा पनि घरधनीले सुनेनन्, त्यसैले नक्सा पास नै नभएको हो’ उनले भने ।

उक्त भवन निर्माण गर्दा खाणले राइट अफ वे पनि छोडेका छैनन् । खाणले सिँचाइ गर्ने कुलोको जग्गा अतिक्रमण गरेपछि तिलोत्तमा नगरपालिकाका किसानहरू रुष्ट छन् । तिलोत्तमा नगरका किसानहरू उक्त कुलोबाट हुने सिँचाइमा आश्रित छन् ।

सोह्र मौजा सिँचाइ प्रणालीका पूर्व अध्यक्ष माधव पाठकले कुलोको जग्गा कब्जा गरेर भवन बनाएको भन्दै आफूहरूले पटक पटक रोक्न खोज्दा पनि अटेर गरेको बताए । ‘किसानले खेती गर्ने कुलोको जग्गा कब्जा नगर्नुस् भनेर हामीले पटक पटक आग्रह गर्‍यौँ, तर मानेनन्, जग्गा मिचिएपछि यो कुलोबाट सिँचाइ गर्ने किसान पनि चिन्तित बनेका छन्’, उनले भने ।

खाणले त्यहाँ रहेको आफ्नो जग्गालाई समेत सुरक्षित गर्न सरकारी बजेट ल्याएर पर्खाल लगाएका थिए । २०७३ सालमा आफ्ना दाइ बालकृष्ण खाण सिचाईमन्त्री भएको बेला उनले तीन लाख बजेट पारेका थिए । तर सोह्र मौजा सिँचाइ प्रणालीको व्यापक विरोध भएपछि सिँचाइ विभागमार्फत आएको उक्त बजेट निकासा नभै फ्रिज भएको थियो ।

त्यसपछि अर्को वर्ष सिंचाईमन्त्री खाणमार्फत रामकृष्णले फेरि तीन लाख बजेट पारे र आफ्नो जग्गा सुरक्षित गर्न भन्दै पर्खाल लगाए ।

त्यति बेला सोह्र मौजा सिँचाइ प्रणालीले त्यहाँ रहेका अन्य व्यक्तिको जग्गाको सुरक्षाका लागि पनि पर्खाल लगाउनुपर्ने भन्दै बजेट माग गरेको भए पनि सरकारले उपलब्ध नगराएको पाठक बताउँछन् । ‘तर कुनै एक जना व्यक्तिको पहुँचको आधारमा निजी जग्गामा सरकारी पैसा खर्च गरेर पर्खाल लगाउने काम भयो’, उनले भने ।

यस विषयमा काँग्रेस उम्मेदवार खाणले भने त्यो भवन आफ्नो नभई ससुरालीको भएको प्रतिक्रिया दिए । त्यहाँ बाटोको पनि नक्सा नकाटिएको भन्दै उनले कुलोको जग्गा पनि नमिचिएको दाबी गरे ।

‘त्यो जग्गा मेरो नाममा छैन, त्यो ससुरालीको जग्गा हो, त्यहाँ एकतले टिनको टहरो निर्माण गरी व्यावसायिक सटर बनाइएको साँचो हो, तर कुनै पनि मापदण्ड मिचिएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर