बाचा धेरै पूरा गरेँ, गठबन्धन भत्किँदा पौवादुङमामा मेरो जित झन् पक्का भएको छ : किरण राई – Nepal Press
नेपाल टक

बाचा धेरै पूरा गरेँ, गठबन्धन भत्किँदा पौवादुङमामा मेरो जित झन् पक्का भएको छ : किरण राई

भोजपुरको पौवादुङमा गाउँपालिका एमालेविरुद्ध गठबन्धन नभएका ४ वटा पालिकामध्येको एक हो । यहाँ सुरूमा एमालेबाहेकका दलहरूले तालमेल गरेरै जाने निर्णयअनुसार नेकपा माओवादी केन्द्रलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिनेगरी भगबण्डा गरेका थिए ।

तर, वडाअध्यक्ष बाँडफाँटमा कुरा नमिलेपछि एक्लाएक्लै भिड्ने भन्दै दुवै दलले गठबन्धन तोडे ।

२०७४ को चुनावमा पौवादुङमामा नेकपा एमालेबाट किरण राई १२९ मतान्तरले विजयी भएका थिए । उनले १९६३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका नगेन्द्रबहादुर भुजेल ‘शैलेन्द्र’ ले १८३४ मत ल्याएका थिए । कांग्रेसबाट अध्यक्षमा उठेकी सिसिरा राई १४५२ मत ल्याएर तेस्रो भएकी थिइन् । यहाँ उपाध्यक्ष भने माओवादीकी सम्झना राईले जितेकी थिइन् ।

यसपटक एमालेले अध्यक्षमा किरणलाई नै अघि सारेको छ । उपाध्यक्षमा ज्योत्सना राई उम्मेदवार छिन् । माओवादीबाट शैलेन्द्र र कांग्रेसबाट मनोज कार्की चुनावी मैदानमा छन् ।

उदीयमान, कर्मठ र प्रभावशाली नेताका रूपमा जिल्लामा स्थापित नाम हो किरण । ३६ वर्षमै पालिकाको सत्ताको बागडोर सम्हालेका उनी पार्टीको जिल्ला नेतृत्वमा समेत छन् । उनी एमाले भोजपुरका सचिव हुन् ।

२०६१/६२ सालमा अनेरास्ववियु तथा युवा संघमा काम गर्दै राजनीतिमा प्रवेश गरेका राईको जिल्लाको खेलकुद क्षेत्रको विकास पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

नेपाल प्रेसको नेपाल टकमा उनै राईसँग चुनावकेन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेप

– दोहोर्‍याएर तपाईंको उम्मेदवारी किन ?

पौवादुङमाबासीको विकास र जनजीविकासँग गाँसिएका कतिपय एजेण्डाहरू पूरा गर्नुछ । खानेपानीका केही योजना बाँकी छन् । पालिकाभित्रका सबै सडकहरू कालोपत्रे बनाउनु आवश्यक छ । प्रत्येक घरधुरीलाई बिजुलीको आवश्यकता छ । यहाँका स्रोत/साधनको बढीभन्दा बढी प्रयोग गर्दै समृद्ध पौवादुङमा निर्माणका लागि मेरो उम्मेदवारी हो । त्यसको अतिरिक्त पार्टीको निर्णय र यहाँका मतदाताको शुभेच्छा नै हो ।

– यी यावत् कामहरू अझै बाँकी रहेछन् । ५ वर्षमा चाहिँ केके गर्नुभो त ?

संघीय संरचनामा बिल्कुल नयाँ अनुभव थियो सबैका लागि गाविस/जिविसको अभ्यासबाट आएकाहरू हामी । नयाँ संरचनामा धेरै कुरा सिक्नु थियो । जग बसाउन नै समय लागेकाले पनि कतिपय बाचा गरेका कुराहरू पूरा गर्न पनि सकिएन । जनशक्ति अभाव, आवश्यक कानून निर्माणलगायतका विलम्बले पनि प्रभावित भयो । र, पनि मैले घोषणापत्रमा अघि सारेका अधिकांश काम सकेको छु । केही गर्दा गर्दै रहेका छन् । ती पूरा गर्नुछ ।

मतदातामाझ किरण ।

– एक कार्यकाल पूरा गरिरहँदा यो यो नमूनायोग्य काम गरेँ । यी चाहिँ राँटो रह्यो भन्ने केही छ ?

म यस पालिकाको जनताको प्रतिनिधि भएर आइरहँदा खानेपानीको एकदमै विकराल अवस्था थियो । ३ वटा ठूला आयोजनाहरू निर्माण गरेर त्यो समस्या समाधान गर्न लागेका छौं । ८० प्रतिशत काम सकिसकेको छ । गाउँपालिकाको केन्द्रदेखि तिवारीभञ्ज्याङसम्मको बाटो पनि सञ्चालन हुन सक्ने स्थिति थिएन । त्यसलाई बर्खामा समेत असर नहुने गरी चालू अवस्थामा ल्याइएको छ । सबै वडा जोड्ने सडक निर्माणको काम सकेका छौं । यसको स्तरोन्नतिलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्नेछ । यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि उल्लेख्य काम भएका छन् । ऐतिहासिक च्याङ्ग्रे पोखरीको पुनर्निर्माण गरेको छु । पुनर्निर्माण प्राधिकरणको सहयोगमा विद्यालयका १५-१६ वटा भवन बनेका छन् । पुस्तकालय निर्माण र विद्यालयहरूमा कम्प्युटर शिक्षामा जोड दिएका छौं । कृषि तथा फलफूलमा अनुदानको व्यवस्था गरिएको छ । व्यवसायिक र आधुनिक कृषि र पशुपालनलाई प्रबर्द्धन गरिएको छ ।

नयाँ संरचनामा धेरै कुरा सिक्नु थियो । जग बसाउन नै समय लागेकाले पनि कतिपय बाचा गरेका कुराहरू पूरा गर्न पनि सकिएन । जनशक्ति अभाव, आवश्यक कानून निर्माणलगायतका विलम्बले पनि प्रभावित भयो । र, पनि मैले घोषणापत्रमा अघि सारेका अधिकांश काम सकेको छु ।

यति हुँदा हुँदै पनि कोरोना महामारीका कारण पूरा गर्ने प्रतिबद्धता जनाएका बिजुली र खानेपानीका आयोजना प्रभावित बन्यो ।

– देशका धेरै ठाउँमा एमालेविरुद्ध गठबन्धन भइरहँदा यो पालिकामा सिंगल-सिंगल प्रतिस्पर्धा छ । विजय यात्रा सहजै ठान्नुभएको छ कि चुनौती त पक्कै होला ?

आम जनताले नेकपा एमालेलाई मनमस्तिष्कमा राखेका छन् । समृद्धि र विकासको एजेण्डा बोकेको पार्टी एमाले नै भएको सबैमा छर्लङ्ग छ । यहाँ मेरो प्रतिस्पर्धी नेकपा माओवादी त्यसले जनता र इमानको राजनीति गरेन । कांग्रेस पनि कार्यकर्ता भर्ती केन्द्रमा लाग्यो । जनपक्षीय हरेक काममा बाधा र विरोध गरे । मैले आफूले गरेका प्रतिबद्धता पूरा गर्न भरमग्दुर प्रयास गरेँ, जनताको पनि साथ रह्यो । यहाँ सबै दल र कार्यकर्तासँग हाम्रो सम्बन्ध सुमधुर थियो । उहाँहरूबीच गठबन्धन हुन नखोजेको होइन । तर, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर त्यो भत्कियो । त्यसलाई पनि हामीले ‘क्यास’ गर्ने अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर