गठबन्धनको ‘लुज कन्फिडेन्ट’, निर्वाचनपछि रहला त ‘कन्टिन्यू’ ? – Nepal Press

गठबन्धनको ‘लुज कन्फिडेन्ट’, निर्वाचनपछि रहला त ‘कन्टिन्यू’ ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार दिनका लागि गृहजिल्ला डडेल्धुरामा छन् । डडेल्धुरामा निरन्तर चुनावी सभामा सहभागि भएका देउवाले कार्यकर्तासँगको भेटघाटलाई पनि तीव्रता दिइरहेका छन् ।

प्रधानमन्त्रीका रुपमा ‘राजकाज’ नै छाडेर देउवाको गृह बसाइँ लम्बिनुको मुख्य कारण हो, गठबन्धन । केन्द्रीय गठबन्धनको नेतृत्व गरेर अन्य जिल्लामा गठबन्धन नमान्ने कार्यकर्तालाई कारवाही गरेका देउवाकै गृहजिल्लामा भने कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

एकातिर गठबन्धन दलबीच तालमेल भएको छैन भने कांग्रेसबाट विद्रोह गरेको पूर्व सभापति कर्ण मल्ल नेतृत्वको समूहले सबैजसो वडा र पालिकामा नेपाली कांग्रेस (वीपी) बाट उम्मेदवारी दिएको छ ।

कांग्रेसभित्रको असन्तुष्टी ‘थामथुम’ पार्न र गृहजिल्लामा आफ्नो साख जोगाउन देउवा ४ दिनका लागि डडेल्धुरा बसाइँमा रहेका हुन् । एकातिर कांग्रेस सभापति देउवालाई गृहजिल्लामै साख जोगाउन हम्मे परेको छ भने अर्कोतिर गठबन्धन घटकहरु पनि ढुक्क छैनन् ।

खासगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कांग्रेससँग रुष्ट देखिन्छन् । गठबन्धनमा भएका स्थानमा आधाभन्दा बढी हिस्सा पाएको कांग्रेसले आफूले नेतृत्व नपाएका स्थानमा खुलेर सहयोग नगरेको महसुस गठबन्धनका साझेदारी दलहरुले गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डपुत्रीविरुद्ध कांग्रेसको असन्तुष्ट समूह प्रतिस्पर्धामा छ । केन्द्रबाट कांग्रेसले कारवाही गरेपनि मैदानमा त्यसको प्रभाव नदेखिएकाले माओवादी ढुक्क छैन ।

भरतपुरको चुनावीसभामै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका कार्यकर्ताले हसियाँ हथौडामा मत दिन गार्हो माने देश ‘दुर्घटनातर्फ धकेलिने’ चेतावनी दिएका थिए ।

उनै प्रचण्डले सोमबार कैलाली पुगेर गठबन्धनविरुद्ध उभिएका माओवादी उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।

‘गठबन्धन अझै प्रष्ट भइसकेको छैन । हामीविरुद्ध धोका, बेइमानी, षड्यन्त्र हुनसक्छ, त्यो स्वीकार्य छैन । माओवादीको उम्मेदवार जो जसरी उठेको भएपनि जिताउनुहोला’, प्रचण्डले कैलालीको कैलारीमा भनेका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपनि कांग्रेसको भूमिकाबाट रुष्ट छन् । गठबन्धनन र पालिका बाँडफाँडकै बेला कांग्रेसले समाजवादीको अस्तित्वलाई अवहेलना गरेको समाजवादीका नेताहरुको बुझाई छ ।

‘कांग्रेसले पनि दम्भ नगरे हुन्छ । दम्भ गरेका कारण केपी ओलीको हालत के भयो ?’, सार्वजनिक रुपमै नेपालले कांग्रेसलाई चुनौती दिइसकेका छन् ।

गठबन्धन टुटाउन कांग्रेसभित्रैबाट षड्यन्त्र भइरहेको दावी देउवा, प्रचण्डदेखि नेपालसम्मले सार्वजनिक रुपमा गरिसकेका छन् ।

‘कांग्रेसभित्र गठबन्धन टुटाउन खोज्नेहरु छन् । गठबन्धन टुटे कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भरतपुरमा भनेका थिए ।

पार्टीभित्र प्रचण्ड बहुमतको दावी गरेपनि गठबन्धनप्रति पार्टीमा सल्किएको ‘परालको आगो’ निभाउन देउवा सफल देखिएका छैनन् ।

माओवादी र समाजवादीसँगै जसपापनि गठबन्धनमा रुष्ट छ । जसपाको संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईको गृहजिल्लामै चुनावी तालमेल हुन सकेन ।

यहीकारण पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको छ । गठबन्धनमा नरहेका दलसँगको तालमेल गठबन्धनकै निर्णय विपरीत हो । कांग्रेसको हठका कारण देशभर तालमेल कमजोर भएको जसपा नेताहरुको निष्कर्ष छ । ‘अहिले चुनावको बेला धेरै नबोलौं । कांग्रेसका कारण गठबन्धन संकटमा छ ।

स्थानीय निर्वाचनमै तालमेल गतिलो भएन भने यसले निरन्तरता पाउने कुरा कठिन नै छ’, एक जसपा नेताले नेपाल प्रेससँग भने । तालमेल बलियो गरेर एमालेलाई ‘डाउन साइज’ गर्ने अवसर कांग्रेसकै कारण फितलो बनेको ती नेताले बताए ।

गठबन्धन कति बलियो ?

कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी गठबन्धनले ७५ प्रतिशतभन्दा बढी स्थानमा जित हासिल गर्ने दावी गरेका छन् । जबकी ७५ प्रतिशत हाराहारी पालिकामा गठबन्धन भएकै छैन ।

कांग्रेसका तर्फबाट प्रमु्खमा उम्मेदवार नरहेको पालिका संख्या १ सय १९ रहेको छ । गठबन्धनका नेताहरुका अनुसार मुस्किलले २ सय स्थानीय तहमा कसिलो तालमेल बनेको छ । २ सय स्थानको तालमेलबाट ७ सय ५३ मध्ये ७५ प्रतिशत अर्थात झण्डै ५ सय ६५ स्थानीय तह जित्ने कांग्रेस प्रवक्ताको दावी युक्तिसंगत देखिदैन ।

गठबन्धनमा सहभागि माओवादी केन्द्रका एक नेताका अनुसार कांग्रेस, माओवादी र एमालेको आधार क्षेत्र यथावत नै रहने आँकलन छ ।

‘अझैपनि कसैले कसैको गढ भत्काउने अवस्था छैन । एमालेलाई जितेर दोस्रो हुने हाम्रो प्रयास हो तर हसियाँ हथौडामा मत नदिने कांग्रेसको मनोविज्ञानले हामीलाई धोका हुने देख्छु’ ती माओवादी नेताले अनौपचारिक संवादमा भने ।

गठबन्धनको भविष्य कता ?

बैशाख ३० मा हुने स्थानीय निर्वाचनको मूल नतिजा जेठ पहिलो सातासम्म प्रक्षेपण भइसक्ने देखिन्छ । ६ वटा महानगर र ११ वटा उपमहानगरको नजिताले गठबन्धनमा मुख्य अर्थ राख्ने देखिन्छ । त्यसबाहेक गठबन्धनमा ‘अपमान’ महसुस गरेका नेकपा एस र जसपा नेपालको आकार कत्रो हुन्छ भन्ने तथ्यले गठबन्धनको भविष्यमा फरक पार्नेछ ।

गठबन्धनका नेताहरुले यसअघि नै ‘सोचेजस्तो परिणाम नआए गठबन्धन टुट्नसक्ने’ चेतावनी सार्वजनिक रुपमै दिइसकेका छन् । यही कारण मौन अवधी सुरु हुनै लाग्दासम्म ‘कन्फिडेण्ट लुज’ गरेको गठबन्धनले निर्वाचन परिणामपछि ‘कन्टिन्यूटी’ पाउने कुरा संशयमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर