अस्तव्यस्त श्रीलंका : सम्हाल्न नसकेपछि राजापाक्षेको अप्रिय बहिर्गमन (तस्बिरहरु) – Nepal Press

अस्तव्यस्त श्रीलंका : सम्हाल्न नसकेपछि राजापाक्षेको अप्रिय बहिर्गमन (तस्बिरहरु)

काठमाडौं । दक्षिण एसियाली राष्ट्र श्रीलंका एकसाथ आर्थिक र राजनीतिक संकटले बिथोलिएको छ । देशको आर्थिक दुरावस्था सम्हाल्न नसकेपछि महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै संकट थप चुलिएको हो ।

राजापक्षेका समर्थकहरूले सरकारविरोधि प्रदर्शनकारीमाथि गरेको आक्रमणपछि उत्पन्न हिंसामा मारिनेको संख्या आठ पुगेको छ ।

शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भनेर विपक्षी नेताहरूले राजापाक्षेलाई नै पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

ट्रेड युनियनहरूले शान्तिपूर्ण प्रदर्शनमा सरकार समर्थित आक्रमणका विरुद्ध मंगलवारबाट अनिश्चितकालिन हडताल गर्ने घोषणा गरेका छन् ।

हिजो राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै प्रदर्शनकारीहरूको जत्थाले कुरुनेगालास्थित उनको पुर्ख्यौली घरमा आगो लगाइदिएका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियो क्लिपहरू हेर्दा आगजनीबाट राजापाक्षेको घर ध्वस्त प्राय भएको छ । उक्त घटनापश्चात् राजापाक्षेको पार्टीका नेताहरू सेल्टर खोज्दै भागाभाग भएका छन् । सो पार्टीका केही सांसदहरूको घरमा पनि आगजनी गरिएको छ ।

देशका विभिन्न भागमा हिंसा फैलिएपछि हिजोबाट खुल्ने भनिएको कफ्र्यू बुधबारसम्मका लागि लम्ब्याइयो । अबको केही घन्टाभित्रै श्रीलंकाको सेनाले टेकओभर गर्न सक्ने आँकलनहरु भइरहेका छन् । सेनापति सभेन्द्र सिल्भाले संयम अपनाउन देशवासीलाई अपिल गरेका छन् ।

कानूनी शासनको पालनाका लागि सेनाले आवश्यक कदम चाल्ने उनको भनाइ छ । हाल देशमा आपत्काल जारी रहेको हुँदा सैनिकहरूले शंका लागेका जोसुकैलाई तत्काल गिरफ्तार गर्न सक्छन् ।

विपक्षी पार्टीहरूले निर्धारित मिति मे १७ भन्दा अगावै संसद् सुचारु गर्न आग्रह गरेका छन् । एक महिनाभन्दा बढी समयदेखि जारी रहेको विरोध प्रदर्शनले सबै धर्म, वर्ग र सम्प्रदायका मानिसहरूलाई सडकमा तानेको छ ।

पहिलो पटक श्रीलंकाको मध्यमवर्ग पनि ठूलो संख्यामा सडकमा देखियो । उनीहरूमध्ये केहीले हप्तौँसम्म राष्ट्रपतिको कार्यालय अगाडि अनवरत प्रदर्शन गरेका थिए ।

राजापाक्षेको अप्रिय बहिर्गमन

शक्तिशाली राजापाक्षे वंशको प्रतिनिधित्व गर्ने ७६ वर्षीय महिन्दा कुनै समय श्रीलंकामा ‘म्यान फर अल सिजन्स’ का रूपमा चिनिन्थे । तर, देशको आर्थिक संकटका कारण भड्किएको आन्दोलन नै उनको प्रधानमन्त्रीको कुर्सी बगाउने सुनामी बन्यो । उनी पदबाट राजीनामा दिन बाध्य भए ।

श्रीलंकामा अहिले उत्पन्न भएको आर्थिक संकट सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएपश्चातकै सबैभन्दा खराब भएको अर्थशास्त्रीहरू बताउँछन् । संकटको जड भनेको वैदेशिक मुद्राको अभाव हो, जसले गर्दा यस देशले खानेकुरा, इन्धनलगायत अत्यावश्यक बस्तुहरू पर्याप्त निर्यात गर्न सकिरहेको छैन र अभाव सिर्जना भएको छ । वस्तुहरूको बजार भाउ अस्वाभाविक रूपमा बढेको छ ।

प्रधानमन्त्री राजापाक्षे र राष्ट्रपति गोताबायाको राजीनामा माग्दै गत अप्रिल ९ बाट सडक आन्दोलन सुरु भएको थियो । दबाब बढ्दै गएपछि राष्ट्रपति गोतावाया राजापाक्षेले आफ्ना दाजु चमाल र भतिज नमाललाई गत अप्रिलमा क्याबिनेटबाट हटाए । तर, महिन्दा भने राजीनामा दिन अनिच्छुक थिए । श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री पनि दाजुभाइ हुन् ।

तीन दिनअघि क्याबिनेट बैठकमा नै राष्ट्रपतिले भाइ प्रधानमन्त्रीलाई राजीनामा दिएर अन्तरिम सरकारका लागि मार्ग प्रशस्त गर्न सुझाएका थिए । विपक्षी पार्टीहरूलाई समेत सहभागी गराएर नयाँ अन्तरिम सरकार बनाउनुपर्ने पक्षमा गोताबाया छन् । तर, महिन्दा राजीनामा दिन तयार थिएनन् । यसले दाजुभाइबीच पनि चिसोपना बढेको थियो ।

सरकारविरोधि प्रदर्शनकारीमाथि आफ्ना समर्थकले राष्ट्रपति गोताबायाको कार्यालयकै अगाडि आक्रामण गरेपछि दवावमा परेका महिन्दाले राजीनामा दिएका हुन् । दर्जनौँ घाइते हुने गरी भएको उक्त आक्रमणपछि नै देशव्यापी कफ्र्यू लगाएर राजधानीमा सेना परिचालन गरिएको थियो । विभिन्न क्षेत्रका एक हजार ट्रेड युनियनले तत्काल सरकारले राजीनामा दिनुपर्ने माग चर्काएपछि आन्दोलनले गति लिएको थियो ।

दुई पटक राष्ट्रपति भइसकेका महिन्दाले सन् २०१५ को चुनावमा शर्मनाम हार व्यहोरेका थिए । तर, सन् २०२० मा २७० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि उनी सत्तामा फर्किएका हुन् ।

उनको नवगठित श्रीलंका पिपुल्स पार्टीले गठनको छोटो समयमै सत्ताको नेतृत्व सम्हाल्ने कीर्तिमान नै राखेको छ । २०२० को अगष्टमा भएको चुनावमा उक्त पार्टीको विजयलहर सँगै शक्तिशाली राजापक्षे परिवारले सत्तामा वर्चस्व जमाएको थियो । सोही जितको जगमा टेकेर आफू अनुकूल संविधान संशोधन गरे भने परिवारका सदस्य र नातेदारलाई महत्त्वपूर्ण नियुक्तिहरू दिए ।

महिन्दा तीनै सफल नेता हुन् जसले कठोर सैन्य अभियानमार्फत विद्रोही समूह तामिल टाइगरलाई समाप्त पारिदिएका थिए । उनी यसअघि पनि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । यस कार्यकालको सुरुवात पनि राम्रो भएको थियो ।

अन्य देशको तुलनामा कोभिडको मृत्युदर श्रीलंकामा न्यून थियो । तर,। देशको पर्यटन क्षेत्र तहसनहस हुनबाट उनले रोक्न सकेनन् ।

श्रीलंकाको प्रमुख आयस्रोतका रूपमा रहेको पर्यटन क्षेत्रमा छाएको मन्दीले नै देशको अर्थतन्त्र चौपट बनाइदियो । र, अर्थतन्त्रको संकटले नै महिन्दाको पद गुम्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *