शुद्धोधन गाउँपालिका अध्यक्षका लागि आईटी इन्जिनियर सन्दीप मैदानमा – Nepal Press

शुद्धोधन गाउँपालिका अध्यक्षका लागि आईटी इन्जिनियर सन्दीप मैदानमा

रुपन्देही । आइटी इन्जिनियर गरेका सन्दीप खनाल रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आगामी नेतृत्वका लागि चुनावी मैदानमा छन् ।

धेरै पढेका र नयाँ पिँढीका व्यक्तिहरूले राजनीतिप्रति रुचि कम देखाएको समयमा उनले स्वतन्त्र उम्मेदवारीपछि एकाएक चर्चामा आए ।

उनी उम्मेदवार बनेर मात्रै चर्चामा आएका होइनन् पालिकामा निर्वाचित भएपछि पाउने सरकारी तलब, सेवा, सवारी सुविधा केही नलिने घोषणा गरेका कारणले उनको चर्चा चुलिएको हो । स्वतन्त्र उम्मेदवार खनालले निर्वाचन आयोगबाट चुनाव चिन्न ’गुलाबको फुल ’ पाएका छन् ।

खनालले पालिकाको अल्पकालीन तथा दीर्घकालीन विकासका लागि स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार तथा यातायातका विभिन्न विषयलाई समावेश गर्दै ६६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

उनको घोषणापत्रमा राज्यले दिने कुनै पनि तलब सेवा सुविधा नलिने गरी उक्त रकम बालबालिकाको शिक्षामा लगाउने, प्रत्येक वार्डमा चिस्यान केन्द्र र भण्डारणको स्थापना गर्ने, पालिकावासीलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने, सबै वडामा १÷१ एम्बुलेन्सको पालिकाको तर्फबाट व्यवस्था गर्ने, सरकारी विद्यालयमा शिक्षा निःशुल्क प्रदान गर्ने, राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने विषयहरू प्राथमिकतामा राखिएको छ ।

त्यसै गरी प्रत्येक वार्डमा कृषि मार्टको स्थापना,पालिकाभित्रका स्वास्थ्य चौकीहरूको क्षमता अभिवृद्धि गर्नका लागि आइसियु कक्षसहित स्वास्थ्य सुविधा दिने, जन्म दर्ता, विवाह दर्ता, वृद्ध भत्ता आदिको घरदैलोमा सेवा पुर्‍याउने टोल टोलमा सार्वजनिक शौचालय निर्माण गर्ने, सिसिटिभी क्यामेरा जडान गर्ने र निःशुल्क इन्टरनेट सुविधा बिस्तार गर्नेलगायत विभिन्न शुद्धोधनको विकासका लागि आफूसँग स्पष्ट खाका रहेको सो प्रतिबद्धता पत्रका उल्लेख छ ।

खनालले राजनीतिमा आएको निराशालाई परिवर्तन गर्नका लागि आफू मैदानमा आएको जनाएका छन् ।

राजनैतिक दलहरू जनताको हितभन्दा पनि व्यक्तिगत स्वार्थमा भुलेकाले दलहरूप्रति वितृष्णा पैदा भई स्वतन्त्रबाट उम्मेदवारी दिएको उनको तर्क छ । यो पालिकामा यसरी अध्यक्षमा उम्मेदवार दिने उनी एकल हुन् ।

यहाँको नेतृत्वका लागि कांग्रेस माओवादीले गठबन्धन गरेर अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा माओवादीका शारदा भुसाललाई अगाडि सारेको छ भने नेकपा एसबाट अध्यक्षमा केशवकुमार खड्का उपाध्यक्षमा नेमा हरिजन, जसपाबाट अध्यक्षमा भरथरी यादव र उपाध्यक्षमा सुनकेशरी थार, तथा नेकपा एमालेबाट अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्षमा शान्ति ज्ञवाली उम्मेदवार बनेका छन् । यसअघि एमालेका किशुचन्द्र चौधरी यहाँको अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर