लिखुका जनताको मनले अनुमोदन गरिसक्नुभयो, अब मतले विजय गराउनुहुन्छ : थापा – Nepal Press

लिखुका जनताको मनले अनुमोदन गरिसक्नुभयो, अब मतले विजय गराउनुहुन्छ : थापा

'युवालाई उद्यमशीलता र रोजगारी, अरुलाई सामाजिक सुरक्षाको कार्यक्रम लागू गर्छौं'

काठमाडौं । नेकपा एमालेले लिखु गाउँपालिका उपाध्यक्षको टिकट दिएपछि वैशाख १० गते ओखलढुंगाबाट काठमाडाैं आएकी अस्मिता थापा अर्थ मन्त्रालयमा भेटिइन् । उम्मेदवारी मनोनयनका लागि गाउँ फर्किनुअघि उनी लिखु गाउँपालिकाको लागि आगामी बजेटमा समावेश हुनुपर्ने योजनाहरुको चाङ अर्थ सचिव मधु मरासिनीलाई बुझाउँदै थिइन् ।

चुनाव जित्नेभन्दा जितेपछि गाउँपालिकाको विकासका लागि गर्नुपर्ने महत्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरुको बारेमा उनी छलफल गर्दै थिइन् । कोभिड महामारीको बेला स्वास्थ्य सामग्री जुटाएर गाउँ पठाउनेदेखि विभिन्न सामाजिक काममा सक्रिय २६ वर्षीया अस्मिता प्रदेश १ कै कान्छी उपाध्यक्ष उम्मेदवारका रुपमा अहिले गाउँ बस्तीमा छिन् ।

एमालेले लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट र उपाध्यक्षमा अस्मिता थापाको युवा टिमलाई अघि सारेको छ । पश्चिम ओखलढुंगाको लिखु गाउँपालिका विगतदेखि नै एमालेको बर्चश्व रहेको ठाउँ हो । अहिलेका गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र उपाध्यक्ष शान्ता ढुंगेलले अघि बढाएका कामलाई पूर्णता दिने र नयाँ योजना तथा उद्यम र रोजगारीका अवसर सिर्जना गर्ने एजेण्डासहित उनी अहिले अभियानमा छिन् ।

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकी थापा पछिल्लो समय जिल्लाको राजनीतिमा क्रियाशील थिइन् । उनी एमालेको ओखलढुंगा जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि लिखु गाउँपालिका केन्द्रित भइन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी थापा सक्रिय राजनीतिकै लागि सरकारी जागिर छाडेर गाउँ फर्केकी हुन् । चुनावी प्रचारप्रसारको अन्तिम दिनसम्म घरदैलोमा रहेकी अस्मिता थापासँग नेपालप्रेसले चुनावी एजेण्डा र माहोलबारे गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

– पहिलोपटक चुनावी मैदानमा उत्रिनुभएको छ । कस्तो छ माहोल ? जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

उम्मेदवारका रुपमा पहिलोपटक आए पनि लिखुका जनताको बीचमा म यसअघि पनि पटकपटक आइरहेकै छु । विशेषगरी अघिल्लो वर्ष पार्टी विभाजनपछि म भूगोल केन्द्रित राजनीतिमा लागेँ । लिखु गाउँपालिकाको लागि मैले आफूले सकेसम्म केन्द्रबाट गर्नुपर्ने समन्वयात्मक कामहरु पनि क्षमताअनुसार गरेँ ।

म लिखुका प्रायः सबै वडामा कुनै न कुनै राजनीतिक, सामाजिक र अन्य अभियानका क्रममा आइरहेकै थिएँ । अध्ययनका क्रममा केही वर्ष काठमाडौं बसे पनि राजनीतिबाटै गाउँको विकास र जनताको जीवनस्तर उकास्न सकिन्छ भनेर मैले जागीर पनि छाडेर पूर्णकालीन रुपमा राजनीतिमा लागेको हुँ । अहिले पार्टीले यो जिम्मेवारी दियो मभन्दा अग्रज नेताहरु हुँदाहुँदै मलाई जुन जिम्मा दिइयो, यसले जिम्मेवारीबोध भएको छ ।

पार्टीले मेरो काम र युवालाई अघि सार्ने नीतिअनुसार उम्मेदवार बनाएर पठाएको छ । जनताको बीचमा जाँदा असाध्यै माया पाएका छौं । हामी ९ वटै वडामा घरदैलोको क्रममा गयौं, सबै जनतासँग भेट गर्ने विभिन्न माध्यम पनि प्रयोग गरेका छौं । जनताले माया गरेर हामीलाई अनुमोदन गरिसक्नुभएको छ, अब वैशाख ३० गते मत दिएर विजयको औपचारिकता दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

विशेषगरी हामीसँग युवाको ठूलो आशा र भरोसा छ । महिला दिदीबहिनीहरुले असाध्यै माया गर्नुभएको छ र यो गाउँपालिकामा महिलाको सामाजिक सुरक्षा तथा हिंसामुक्त समाज बनाउन तथा महिलालाई आर्थिक उपार्जनमा लगाउन कस्ता कार्यक्रम ल्याउन सकिएला भनेर हामी छलफल पनि गरिरहेका छौं । ममाथि उहाँहरुले गर्नुभएको भरोसा र दर्शाएको मायाले निकै गह्रुँगो बनाएको छ ।

– लिखु गाउँपालिकामा यसअघि पनि एमालेले जितेको थियो । के गर्यौ भनेर जनताले प्रश्न त गरे होलान् नि ?

लिखु गाउँपालिका नेकपा एमालेको गर्विलो इतिहास र विरासत बोकेको ठाउँ हो । जिल्लामा एमालेका संस्थापक नेताहरु यही भूमिका हुनुहुन्छ । हामी हाम्रा अग्रजहरुको विरासत थाम्न आएका छौं । यसअघि निर्वाचित हाम्रो आदरणीय अध्यक्ष गोविन्द पौडेल र उपाध्यक्ष शान्ता ढुंगेलले थाल्नुभएका कामहरु नै हाम्रो जीतका आधार हुन् ।

हाम्रा अग्रजले एमालेको शीर झुकाउने कुनै काम गर्नुभएन । संविधान र कानूनअनुसार स्थानीय तह पहिलो निर्वाचन भएकाले बितेका पाँच वर्ष कानूनी, नीतिगत कामहरु धेरै भए । पूर्वाधार विकासको क्षेत्रमा सुरुवात भएका कामहरुलाई अब हामीले सम्पन्न गर्नुछ ।

हाम्रा अग्रजले गरेका कामको बारेमा जनताले प्रश्न उठाउनुभएको छैन । बरु ‘गोविन्द पौडेलले जस्तै राम्रो काम गर्नू’ भन्नुभएको छ । आज हामी उहाँहरुकै अभिभावकत्वमा अघि बढेका छौं । अब हामीले जनतालाई महसुस हुनेगरी देखिने कामहरु गर्नुछ ।

हामीले केही एजेण्डाहरु अघि सारेका छौं । अब बोलेर होइन गरेर देखाउने हाम्रो चुनौती हो । विशेषगरी पूर्वाधार विकासका साथै ज्येष्ठ नागरिक, दलित, गरिब र सिमान्तकृतलाई सामाजिक सुरक्षा, युवालाई कृषि र पर्यटन केन्द्रित उद्यमशीलता र रोजगारी अनि महिलालाई उत्पादन र आयआर्जनमा जोड्ने कार्यक्रमहरुबारे हामीले विज्ञहरुको टिम बनाएर काम गर्नेछौं ।

स्थानीय तहको साधनस्रोतबाट हुने काम हामी गाउँबासी र विज्ञहरुको सल्लाहमा अघि बढाउँछौं भने केन्द्र र प्रदेशबाट हुनुपर्ने सहयोगको बारेमा कसरी गाउँसम्म स्रोत ल्याउने भन्ने मलाई अनुभव पनि छ र पहुँच पनि भएकाले मप्रति जनताले आशा गर्नुभएको छ । जनताको आशालाई मिलन विष्ट र मेरो टिमले निराश हुन दिने छैनौं ।

– चुनावमा प्रतिस्पर्धा गरिरहेका विपक्षी दलहरुको आरोपको सामना गर्न कति चुनौती हुँदो रहेछ ?

चुनावमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हाम्रो विपक्षमा प्रतिस्पर्धा गरिरहनुभएका सबै दलका उम्मेदवारप्रति मेरो सम्मान छ । हामीले व्यक्तिगत रुपमा कुनै पनि उम्मेदवारप्रति टिकाटिप्पणी गरेका छैनौं र विपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका हौं । तर राजनीतिक संस्कारको कुरा सबैको एउटै हुँदैन । हामीले विपक्षी साथीहरुबाट राजनीतिक प्रतिस्पर्धाको अपेक्षा गरेका हौं ।

चुनावमा शत्रुतापूर्ण व्यवहार होइन राजनीतिक रुपमा प्रतिस्पर्धा गरौं भन्ने हाम्रो आग्रह हो । उहाँहरुले व्यक्तिलाई केन्द्रित गरेर होइन एमालेका नीतिहरुमा केन्द्रित भएर आलोचना गर्नुहोस् भन्ने आग्रह छ । जहाँसम्म आरोपको सामना गर्ने कुरा छ, हामीले राजनीतिक रुपमा आफ्ना कुरा राखेका छौं । आजका जनता सचेत छन् । कसैले भ्रम फैलाएर, झूटा आश्वासन र आरोप लगाएर जनताले पत्याइहाल्ने अवस्था छैन ।

लिखुमा चुनाव जित्ने एमालेले हो । जितेपछि सबै दलहरुको र अहिले हामीसँग प्रतिस्पर्धामा रहनुभएका उम्मेदवारहरुको समेत साथ, सहयोग र सुझावबाट गाउँपालिका चलाउनुपर्ने भएकाले हामी सभ्य, शिष्ट र राजनीतिक ढंगले सबै आरोपहरुको जवाफ दिइरहेका छौं । जनताले हामीलाई यही कारण पनि रोज्नुहुन्छ ।

– नवयुवाले गाउँपालिकाको नेतृत्व लिन खोज्नुभएको छ । पार्टीको भन्दा फरक कुनै एजेण्डा पनि लिएर जानुभएको छ ?

मूलतः हामी पार्टीको नीति र एजेण्डा लिएरै जाने हो । स्थानीय आवश्यकता र यहाँको वस्तुस्थितिअनुसार हामीले केही नयाँ कार्यक्रम पनि ल्याउनुपर्नेछ । तर, आज हामीले चुनाव लड्दै गर्दा कसरी जित्ने भन्ने कुरा होइन, जितेपछि के गर्ने भन्नेमा केन्द्रित छौं ।

हामी चुनाव जित्नु एउटा कुरा हो । जितेपछि कस्ता कार्यक्रम र नीतिहरु ल्याउने र गाउँपालिकावासीले महसुस गर्नेगरी काम गर्ने यसमा सोचिरहेका छौं । चुनाव जितेपछि सबैभन्दा पहिले लिखु गाउँपालिकामा जन्मिएर देश विदेशमा विभिन्न योगदान गरिरहनुभएका विज्ञ बुद्धिजीवीहरुको भेला गरेर के कस्ता कुरालाई प्राथमिकता दिएर जान सकिन्छ भन्ने एउटा मार्गचित्र बनाउने सोच मैले बनाएकी छु ।

हामी जनप्रतिनिधि हुँदैमा सबै कुराको विज्ञ भइन्न । विषय विज्ञहरुको राय सुझाव लिएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु अघि सार्ने र पालिकाको साधनस्रोत तथा अन्य स्रोत जुटाएर पाँच वर्षभित्र केही नमुना काम गर्न सकिन्छ भन्ने विश्वास छ ।

अहिलेको स्थानीय तह भनेको सरकार हो । विशेषगरी युवालाई जति सकिन्छ गाउँमै उद्यमशीलता र रोजागारीमा लगाउन के गर्नुपर्ला ? म एउटा युवा भएकाले चिन्ता यसमै छ ।

कृषि र पर्यटनमा गाउँपालिकाको साधनस्रोत र समन्वयमा युवा तथा महिला लक्षित काम गर्न सकिन्छ । केही समयअघि मैले र हाम्रो अध्यक्ष उम्मेदवार मिलन विष्टले नै समन्वय गरेर खिजिदेम्बा–पोकली झरनासम्मको म्याराथन आयोजना गर्दा त्यसले पोकली झरनाको पर्यटन विकासको लागि राष्ट्रिय चर्चा पनि भयो ।

लिखुमा कृषि र पर्यटन आधारित रोजगार सिर्जना गर्न सकिने धेरै सम्भावनाका क्षेत्रहरु छन् । विज्ञको टिम बनाएर विशेषगरी त्यसमा फोकस हुन्छौं । यसका साथै हाम्रो गाउँका महिला पछाडि परेका छन् । महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेछ । अहिले नै भनेर भन्दा पनि एक वर्षभित्रै ती सम्भाव्यता टुंगो लगाउने र धमाधम पालिकाले सक्ने जति काम थाल्ने खालका सोच बनाएका छौं । यति चाहिँ भन्न सक्छु, हामी हाम्रा अग्रजले थालेको समृद्ध लिखु अभियानलाई पूर्णता दिने क्रममा केही नयाँ कार्यक्रमसहित जनताले अनुभूत गर्नेगरी नयाँ योजना कार्यन्वयनमा ल्याउँछौं, मसँग त्यस्ता विज्ञहरुको टिम छ र काम गर्ने जोश हामीसँग छ ।

– तपाईंले भनेका ती योजनाहरुको खाका त होला नि ?

हामीले अहिले जनताबीच केही योजनाहरु अघि सारेका छौं । जसको कार्यान्वयन अघि नै मैले भनिसकेँ जनताकै सहभागिता र विज्ञ टिमको सहयोगमा अघि बढ्छन् ।

आगामी ५ वर्षभित्रमा सम्पन्न गरिने पालिकास्तरीय गौरवका आयोजना अघि सारेका छौं । अरु पनि हाम्रा योजना र एजेण्डा तपाईंको मिडियामार्फत जनतामा राख्न चाहन्छु ।

लिखु गौरवका आयोजना

– उज्यालो लिखु घोषणा : पालिकाका सबै घरमा बिजुली पुर्याउने
– ‘एक घर: एक धारा, एक घर: एक चर्पी’ निर्माण गर्ने ।
– लिखु चक्रपथको आयोजना अघि बढाउने
– पोकली झरनालाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने ।
– राष्ट्रियस्तरमा पहलकदमीमार्फत लिखु एक्वार अघि बढाउने
– बहुउद्देश्यीय लिखु सामुदायिक सभाहल निर्माण गर्ने ।
– एमाले सरकारले शिलान्यास गरेको १५ शय्याको अस्पताल निर्माण र सञ्चालन गर्ने ।
– सबै वडाहरूको आधुनिक भवन निर्माण ।
– प्राविधिक शिक्षालयको स्थापना गर्ने ।
– कृषि र पर्यटनमा आधारित रोजगारी सिर्जना गर्ने र पालिकाले बजेट विनियोजन गर्ने
– पालिकास्तरमा कम्तिमा एउटा चिस्यान केन्द्र निर्माण गर्ने र सबै वडाको कृषि उपज संकलन गर्ने
– जडिबुटीहरुको सम्भाव्यता अध्ययन गरेर प्रवर्द्धन तथा विकास गर्ने
– सबै स्वास्थ्य संस्थाहरूको भौतिक संरचना पूर्ण रूपमा निर्माण
– प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घन्टा सञ्चालन रहने ल्याब स्थापना गर्ने
– एम्बुलेन्स सेवा सञ्चालन गर्ने
– हरेक वर्ष टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्ने
– प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने
– हरेक नागरिकको स्वास्थ्य बीमा गर्ने
– ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
– गर्भवती महिलाको पोषणका लागि नियमित स्वास्थ्य परीक्षण व्यवस्था गर्ने ।
– सामुदायिक नर्सको व्यवस्था गर्ने ।
– गाउँपालिकाभित्रका परम्परागत भाषा, संस्कृति सम्बर्द्धनमा पालिकाले नै व्यवस्था गर्ने
– सबै वडामा इन्टरनेटको पहुँच पुर्‍याउने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

– महिला सीपमूलक तथा नेतृत्व विकास तालिम सञ्चालन गर्ने
– बालमैत्री कार्यक्रम सञ्चालन गर्ने
– ज्येष्ठ नागरिक संरक्षण कार्यक्रम सञ्चालन गर्ने
– महिला क्षमता विकास कार्यक्रम गर्ने
– ज्येष्ठ नागरिक केन्द्र निर्माण गर्ने
– प्रत्येक वृद्धवृद्धालाई घरमै वृद्धभत्ता वितरण गर्ने ।

सामाजिक न्याय

– न्यून आय र शारीरिक रूपमा अशक्तहरूलाई जीवन निर्वाहका लागि सहयोग गर्ने
– न्यून आय भएका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने
– जातीय छूवाछूत र विभेदलाई सामाजिक अपराधको रूपमा लिएर कानूनको कार्यान्वयन र आवश्यक परिमार्जनका लागि पहल गर्ने
– महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्ने
– पालिकालाई महिला हिंसामुक्त, बाल विवाहमुक्त, बोक्सी प्रथामुक्त र छाउपडीमुक्त घोषणा गर्ने
– जन्मदर्तालाई सरल, सहज र पहुँचयुक्त बनाउने
– अपांगता भएका व्यक्तिहरूलाई उद्यमी बनाउन निःशुल्क तालिम र प्रशिक्षणको व्यवस्था गर्ने ।

हाम्रो संकल्प

– हाम्रा जनप्रतिनिधिहरू शासक होइनन्, जनताका सेवक हुनेछन्
– हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्
– हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन्
– हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।
– हाम्रा जनप्रतिनिधि आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर