दलहरु निर्णायक प्रचारमा व्यस्त – Nepal Press

दलहरु निर्णायक प्रचारमा व्यस्त

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएपछि राजनीतिक दल तथा उम्मेदवारहरु निर्णायक चुनाव प्रचारमा केन्द्रित भएका छन् ।

निर्वाचन आचारसहिंताअनुसार मौन अवधिमा दल तथा उम्मेदवारहरुले चुनावी प्रचार गर्न, मत माग्न, सार्वजनिक कार्यक्रम गर्न वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाउँदैनन् । यही कारण देशैभर मंगलबार सबैजसो उम्मेदवारहरु निर्णायक प्रचारमा व्यस्त छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामै चुनावी कार्यक्रममा व्यस्त रहनेछन् । उनले अमरगढी र परशुराम नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकामा आज नेकपा एमालेले चुनावी सभा गर्दैछ । भृकुटीमण्डपमा २ बजेपछि हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नेछन् । काठमाडौं महानगरकाे मेयरमा एमालेबाट केशव स्थापित मैदानमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बारामा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

काठमाडौं कांग्रेसले आज महानगरको भित्री सहर असनमा चुनावी सभा गर्दैछ । सभालाई काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार रहेकी सिर्जना सिंह र उपप्रमुख उम्मेदवार रामेश्वर श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।

बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएसँगै प्रचारप्रसारमा होमिएका राजनीतिक दलका कार्यकर्ता मौन अवधिसँगै मतदातालाई निर्वाचन स्थलसम्म पुर्‍याउने, मतदातालाई विचलित हुन नदिनेलगायतका रणनीतिमा व्यस्त हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर