गुल्मीमा सहकारीको रकम हिनामिनापछि घरजग्गा रोक्का भएकाहरु नै स्थानीय तहका उम्मेदवार – Nepal Press

गुल्मीमा सहकारीको रकम हिनामिनापछि घरजग्गा रोक्का भएकाहरु नै स्थानीय तहका उम्मेदवार

गुल्मी । गुल्मीमा सहकारीको रकम हिनामिना गरेर घरजग्गा रोक्का गरिएका व्यक्ति नै स्थानीय तहको उम्मेदवार बनेका छन् । गुल्मी जिल्ला सिमलटारीस्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारी रहँदा रकम हिनामिना गरेका व्यक्ति नै उम्मेदवार बनेका हुन् ।

संस्थाका अध्यक्ष बेगमचन्द बोहोरा (मनोज) मधुवन बचत तथा ऋण सहकारी संस्थाका हुन् । उनी मदाने गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । सूर्यबहादुर बुढा (शिखर ) उपाध्यक्ष हुन् । उनी मालिका गाउँपालिका वडानम्बर–७ को वडासदस्यमा उम्मेदवार बनेका छन् । त्यस्तै संस्थाका सचिव ज्ञानकुमार बुढा (अर्जुन) मालिका गाउँपालिकाको वडानम्बर–३ को वडाअध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

संस्थाका कोषाध्यक्षसमेत रहेका सूर्यबहादुर जिसी मालिका गाउँपालिकाको वडानम्बर–८ को वडाअध्यक्ष पदमा उम्मेदवार बनेका छन् । यी व्यक्तिहरुले मधुवन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले सम्पतिसमेत रोक्का भएको छ ।

यस्तो उल्लेख छ रोक्का पत्रमा

कार्यक्षेत्रभित्र बसोबास गरेका बेरोजगार युवालाई बिनाधितो अधिकतम रु.२ लाखसम्म कर्जा लगानी गरी स्वरोजगार बनाउने उद्देश्यले गुल्मी जिल्ला सिमलटारीस्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाग को मिति २०६८।०८।०७ मा रु. ३,००,००,००० (अक्षरेपी तीन करोड कर्जा सम्झौता गरी सम्झौता बमोजिमको पहिलो र दोस्रो किस्ता गरी रु. १,८०,००,००० (अक्षरेपी एक करोड असी लाख कर्जा प्रवाह भएको थियो ।

उक्त रकम सम्झौता बमोजिम लक्षित वर्गमा लगानी गरी समयमा असुली गरी कोषलाई त्रैमासिक रुपमा किस्ता तथा न भुक्तानी गर्नु पर्नेमा सो बमोजिम नबुझाई बाँकी राखेकोले असूल उपर गर्नका लागि पटक–पटक मौखिक एवम् लिखित रुपमा तर ताकेता गर्दा समेत कोषको तर ताकेता तथा पत्रलाई बेवास्ता गरी २०७३ असोज मसान्त सम्म कोषलाई बुझाउनु पर्ने साँवा रु.५३,५५,२९१.६९ र व्याज रु. १,८४,८६७६.६० गरी जम्मा रु. ५५,४०,१५९.२९ कोषमा उपलब्ध हुन बाँकी देखिन्छ ।

कोषको रकम समयमा नतिरी नबुझाई बाँकी राखेको अवस्थामा कोष र सहकारी संस्था बीच भएको सम्झौता, कोषको लगानी निर्देशिका २०६९, कोषको संचालक समितिको २०७२-११-२३ को ३३ औ बैठकको निर्णय र कोषको २०७३-०६-२१ को निर्णय अनुसार संस्थाका पदाधिकारी सदस्य एवम् निजका एकाघर परिवारका सदस्यहरुका नाममा भएका चल अचल सम्पत्तिः (घर, जग्गा जमिन) बाट नेपाल सरकारको धन (राजश्व रकम) मासे सरह कानूनी कारवाही गरी असूल उपर गर्ने व्यवस्था भएको हुँदा सहकारी संस्थाले कोषलाई बुझाउनु पर्ने रु. ५५,४०,१५९,२ र भोली भविष्यमा भरि भराउ हुँदाका अन्तिम मिति सम्मको सम्पूर्ण रकम असूल उपर नहुँदा सम्मको लागि कोषको रकम सुरक्षित गर्नका लागि यसै पत्रसाथ संलग्न अनुसूची १ मा दिईएका तहाँ जिल्ला अन्तरगतका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य एवम् निजहरुका एकाघर परिवारका सदस्यहरुको नाममा भएका घर, जग्गा जमिन पत्ता लगाई बेचविखन, हक हस्तान्तरण र दान दातव्य समेत गर्न नपाउने गरी रोक्का राखी सो को जानकारी दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।

यदि यसअघि अनुसूची १ मा दिईएका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य एवम् निजहरुका एकाघरपरिवारका सदस्यहरुका नाममा भएका घर, जग्गा जमिन कही कतैबाट रोक्का रहेको भएमा समेत फुकुवा हुनासाथ यसै पत्रद्वारा स्वतः रोक्का गरी दिनु हुनको लागि समेत निर्देशानुसार हुने पत्रमा उल्लेख गरेको छ ।

यसरी सहकारीको रकम हिनामिना गरेका उम्मेदवारका व्यक्तिहरु मतमाग्न मतदाताकहाँ पुग्दा उल्टै प्रश्न गर्ने गरेका छन् । सहकारीमा आबद्ध रहेका सदस्यहरुले प्रतिव्यक्ति १ हजारका दरले रकम समेत संकलन गरेका थिए ।

तर त्यो रकमको पनि अहिलेसम्म हिसाबकिताव हुन सकेको छैन । जसले गर्दा रकम जम्मा गरेका सदस्यहरु चिन्तामा रहेका छन् । रकम हिनामिना गरेकै कारणले उम्मेदवारहरु मतदाता कहाँ खुलेर मत माग्न सकिरहेका छैनन् । मतदाताले समेत यस्ता जनप्रतिनिधीहरुबाट कस्तो कामको अपेक्षा गर्न सकिन्छ भनेर उल्टै प्रश्न गर्ने गरेका छन् । यता जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार ती सहकारीका पदाधिकारीले छिट्टै रकम तिर्ने प्रतिवद्धता गरेर बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर