आईजीपी बन्ने दौडमा एकसाथ चार महिला अधिकृत – Nepal Press

आईजीपी बन्ने दौडमा एकसाथ चार महिला अधिकृत

काठमाडौं । ३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सोझै नायब महानिरीक्षक (डीआईजी) बाट हुनेछ । भावी आईजीपी बन्ने उक्त ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहेको छ । स्थानीय तह निर्वाचनपछि उनीहरु डीआईजीमा बढुवा हुनेछन् ।

रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डीआईजीकाे १७ दरबन्दी खाली हुनेछ । त्यही दरबन्दीमा बढुवा हुन यतिबेला एसएसपीहरुबीच रस्साकस्सी देखिएको छ । डीआईजीबाटै आईजीपीमा बढुवा हुनसक्ने भएकाले वरीयतामा अगाडि आउन सम्भावित उमेदवारहरुबीच तँछाडमछाड देखिन्छ । तीमध्ये चारजना महिला एसएसपी छन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरु अहिले सिनियर एसएसपी छन् । उनीहरुमध्येबाटै नेपाल प्रहरीले भावी आईजीपी पाउनेछ । प्रहरी निरीक्षकको त्यो ब्याचमा नाम निकाल्नेमध्ये ४ जना महिला थिए ।

त्यसअघि नेपाल प्रहरीमा यति धेरै संख्यामा महिलाले एकैपटक प्रहरी निरीक्षकमा नाम निकालेका थिएनन् । त्यतिबेला नाम निकाल्ने चारै जना महिला अधिकृत अहिले एसएसपी छन् । मीरा चाैधरी, किरण बज्राचार्य, किरण राना र दुर्गा सिंह डीआईजी बन्ने प्रतिस्पर्धमा देखिएका हुन् ।

२०५१ चैतमा प्रहरी निरीक्षकमा नाम निकाल्नेबाट पहिलो लटमा २०७५ फागुनमा एसएसपीमा बढुवा भएका थिए । १४ जना बढुवा भएकामा गणेश रेग्मीले अवकाश पाइसकेका छन् । मीरा आठौँ र किरण बज्राचार्य १० औँ नम्बरमा थिए । रेग्मीको अवकाशपछि दुवै जना वरियतामा एक स्थान माथि उक्लिएका छन् । किरण राणा र दुर्गा सिंह भने त्यो लटमा बढुवा हुन छुटेका थिए । उनीहरु २०७७ बैशाखमा एसएसपीमा बढुवा भएका हुन् । त्यतिबेला १९ जना एसपीको बढुवा भएकामा दुर्गा नवौँ र किरण १२ औँ स्थानमा थिए ।

एसएसपीअघि यी चारै जना महिला अधिकृत एक साथ बढुवा हुँदै आएका थिए । यी चार जनामध्ये प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा किरण बज्राचार्य पहिलो, मीरा दोस्रो, दुर्गा तेस्रो र किरण राना चौथो नम्बरमा थिए ।

एसपी र एसएसपीमा भने मीरा पहिलो नम्बरमा उक्लिइन् । किरण बज्राचार्य दोस्रो नम्बरमा झरेकी थिइन् । नेपाल प्रहरीमा महिला अधिकृत एआईजीसम्म भएको इतिहास छ । हाल प्राविधिकतर्फ आशा सिंह एआईजी रहेकी छन् ।

जनपदतर्फ पूजा सिंह डीआईजी रहेकी छन् । यसअघि जनपदतर्फ पार्वती थापा पनि डीआईजीसम्म भएकी थिइन् । २०५१ चैतपछिका इन्स्पेक्टर ब्याचहरुमा पनि महिलाहरुले छिटफुट नाम निकाल्दै आएका थिए ।

०६२/६३ को जनआन्दोलनपछि सरकारी सेवामा महिला आरक्षणको व्यवस्था गरिएपछि प्रहरी सेवामा पनि महिलाको उपस्थिति बढेको थियो । २०६७ सालमा ८० जना प्रहरी निरीक्षक भर्ना लिएकामा ५ जना महिलाले पनि नाम निकालेका थिए ।

२०७२ सालको १२६ जना प्रहरी निरीक्षक भर्नामा १४ जना महिलाले नाम निकालेका थिए । त्यसमा ४ जना विभागीय थिए भने बाँकी फ्रेस । त्यसयताका भर्नामा पनि महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहने गरेको छ ।

१६ महिना जुनियर एआईजीलाई आईजीपी बनाएपछि प्रतिस्पर्धा झन् चर्को

नेपाल प्रहरीमा १६ महिना जुनियर एआईजीलाई आईजीपी बनाएपछि डीआईजी बन्ने प्रतिस्पर्धामा एसएसपीहरुको लहरो लामै देखिएको छ । करिब १४ महिना जुनियर एसएसपीहरुसमेत पहिलो लटमै डीआईजी बन्ने दौडमा देखिएका छन् ।

‘सरकारले १६ महिना जुनियर एआईजीलाई आईजीपी बनाएपछि संगठनभित्र अहिले जे पनि हुन सक्छ भन्ने वातावरण सृजना भएको छ । तर, पहिलो लटमै वरियतामा अगाडि रहेर बढुवा हुन पाए भोलि आईजीपी बन्ने प्रतिस्पर्धा गर्न सजिलो होस् भन्ने सबैलाई लाग्छ’, बहालवाला एक एसएसपी भन्छन् ।

सरकारले दुई महिनाअघि थपेका तीन एआईजी दरबन्दीमा बढुवा गरेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि प्रहरीभित्र शक्ति केन्द्र धाउनेको लर्को बढेको अधिकारीहरु बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक महिला एसएसपी दाबी गर्छिन्, ‘हामी हाम्रा कुनै पनि पुरुष ब्याचीभन्दा कम छैनौं । भेदभाव नगरिएको अवस्थामा संगठनले पहिलोपटक महिला आईजीपी पाउने सम्भावना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर