बुढानिलकण्ठको चुनावी मैदानमा एक कवि, जसको पछाडि सपनाको लस्कर छ – Nepal Press

बुढानिलकण्ठको चुनावी मैदानमा एक कवि, जसको पछाडि सपनाको लस्कर छ

हिजो अनिता लामा कवि थिइन् । कवितामार्फत् उत्पीडित, सीमान्तकृत, पहिचानविहीनहरुको आवाज बोल्थिन् । विम्ब र प्रतीकहरुबाटै जीवन र दर्शनको खोजमा लाग्थिन् । तर, आज लामा कवि मात्रै रहिनन्, बुढानिलकण्ठ नगरपालिकामा जनप्रतिनिधिको रुपमा निर्वाचित हुन जनतामाझमा पुगेकी छन् ।

बिहान छ बजेदेखि राति दश बजेसम्म निरन्तर जनताको घरदैलोमा पुगिन् । जनतासँग प्रत्यक्ष साक्षत्कार गरिन् । कविताले बोल्न बाँकी राखेका कुराहरु भाषणले बोलिन् । बिहानदेखि हिँड्दाहिँड्दा उनको खुट्टामा पानीका फोकाहरु उठेका हुन्छन् । राति घर गएर तातोपानीमा सेकाएपछि अलि निको हुन्छ । र सुत्छिन् । राम्रोसँग सुत्न नपाई बिहानै चराहरुसँगै जनताको घरदैलोमा पुग्छिन् ।

लामालाई नेकपा एमालेले उपमेयरको उम्मेदवार बनाएको छ । तर, उनलाई जनप्रतिनिधिको रुपमै निर्वाचित हुनुपर्ने के आवश्यकता थियो ? कविको रुपमा आफ्नो परिचयलाई फैलाएकै थिइन् । कवितामार्फत् आफ्ना मुद्दाहरु बोकेर हजारौं पाठकसम्म पुगेकै थिइन् । ०५८ सालमा ‘अनुराग’, ०७१ सालमा ‘अर्पण’ र ०७४ सालमा ‘आतुङ’ कविता संग्रह ल्याइसकेकी लामाको फुटकर लेख रचनाहरु अखबार र अनलाइनहरुमा छापिएकै थिए ।

लामालाई भने यति परिचयले मात्रै पुगेनछ, उपमेयरको उम्मेदवार बनेर राजनीतिक भिडन्तमा होमिइन् । यदि चुनावी गणित लामाको पक्षमा आयो भने ३० गतेपछि जनप्रतिनिधिको रुपमा उनकोे पाँच वर्षे बाटो तय हुनेछ । उक्त बाटोका लागि दौडधुपमा व्यस्त छिन् । तर, सधैं सत्ताको प्रतिपक्षी भएर सृजना कर्ममा लागिरहेकी लामालाई चुनावी माहौलमा होमिनुपर्ने आवश्यकता चाहिँ किन भइदियो ?

चुनावी प्रचारप्रसारमा कपनमा भेटिएकी लामाले कुराकानीको क्रममा भनिन्, ‘सुरुमा त मलाई पनि यो मैले के गरिरहेकी हो भन्ने लागेको थियो । पछि महसुस भयो, म त समाज रुपान्तरण र परिवर्तनका लागि सपना बोकेर हिँडेकी थिएँ । र यो यात्रामा कतै न कतै पुगेर एउटा धक्का दिनुपर्ने रहेछ । जहाँ बसेर नीति बन्छ, नीतिलाई व्यवहारमा उतारिन्छ, त्यहाँ पुग्नुपर्नेरहेछ । जब मलाई जब यो महसुस भयो, तब म आफ्नो निर्णयमा अडिग भएँ ।’

कविता लेख्दै जाँदा लामालाई महसुस भयो, नीति बन्ने ठाउँमा त पुग्नैपर्ने रहेछ । घरदैलो गर्दा उनका खुट्टाहरु दुख्छन् । ती दुखेका खुट्टाहरुमा मलमपट्टी गरिदिने एकै चिज छ उनीसित,– जनताले लामाप्रति लिएको भरोसा र अपेक्षा । जब जनताले आफ्ना दुःख, अन्याय, उत्पिडनको विम्बका रुपमा लामालाई स्वीकार्छन् र माया देखाउँछन्, तब उनको दिनभरिको थकान मेटिन्छ ।

घरदैलो कार्यक्रममा छ सात घण्टा हिँडेपछि एकछिन आराम गर्थिन् । अनि फेरि प्रचारमा हिँड्थिन् । भन्छिन्, ‘यो यात्रा बहुत स्वादिलो लागिरहेको छ । पहिलेदेखि नै अति विपन्न, सीमान्तकृत र निमुखाका लागि केही गर्नुपर्छ भनेर लेखिरहेकी थिएँ, अहिले ठोस काम गर्ने ठाउँमा पुग्न लागिपरेकी छु ।’

लामाले कविता लेख्दै गर्दा कोमलताका कुरा आउँथे । जीवनका कुरा आउँथे । त्यसमा अन्याय, उत्पिडनमा पारिएका, सीमान्तकृतको आवाज त आउने नै भए । अहिले आइपुग्दा लामा कागजमा कवितामार्फत् मात्रै न्यायको पक्षमा उभिने कवि रहिनन् । व्यवहारिक रुपमा पनि नीति निर्माणको तहमा पुगेर ठोस काम गर्ने ठाउँमा पुग्ने लडाइँमा पनि छन् ।

तर, लामाको यो बाटो कविता लेखनको जस्तो सहज र कोमल छैन । यहाँ हुने तिकडम, खिचतानीको पनि सामना गर्नुपर्नेछ उनले । भनिन्छ, राजनीतिमा भावनाको काम हुँदैन । त्यहाँ पल प्रतिपल लड्नुपर्नेहुन्छ । झनै चुनावी माहौलमा होमिएकी लामाले विपक्र्षी पार्टीको उम्मेदवारसँग पनि भिड्नुपर्नेछ । उनीहरुका हरेक कदमलाई ख्याल गर्नुपर्नेछ । विम्ब र प्रतीकमा बोल्ने बानी परेकी उनले राजनीतिक नारा लगाउनुपर्नेछ । यी सबैथोकको हिसाबकिताब चाहिँ कस्तो निकालेकी छन् लामाले ?

लामा सुनाउँछिन्, ‘यो भिडन्त म आफैंभित्रको पनि हो । मैले भोट अपिल गरिरहँदा सुन्दर कवितामार्फत् गरौं लाग्छ । तर, कविताको भाषा नबुझ्नेहरु पनि हुन्छन् । त्यसका लागि राजनीतिक नारा लगाउनप¥यो । नारामा दर्शन र विचारधारा हुन्छ । कविताले आम मान्छेको भावना बोक्छ । अहिले एकैपटक दर्शन र भावनालाई बोकेर हिँड्दा रोचक हुनेरहेछ । कविताले् पनि त्यही आवाज बोक्ने हो, जो हामी सुनाउन चाहन्छौं । राजनीतिले पनि आवाज नै बोक्ने हो । दुवैको उद्देश्य र लक्ष्यहरु हुन्छन् । यदि सबैथोकलाई मिलाएर लगेन भने मान्छेमा विचारको स्खलन आउँछ । र विचारलाई स्थापित गर्न सक्दैन ।’

लामाको तर्क छ, आफ्ना मुद्दाहरुलाई कार्यन्वयन गरिरहँदा आफनै लय, अनुशासन, मार्गचित्र र पथप्रदर्शन हुन्छ । दर्शनलाई विचलित बनाउने भावनाहरु पनि आफैंभित्र हुन्छन् । तर, आफूलाई सन्तुलनमा राखेर अगाडि बढाउनुपर्छ । र मात्रै आफूले बोकेको दर्शन, मान्यता स्थापित हुन्छ । यही कारणले पनि आम जनताले आफूमाथि देखेको सपना अविचलित रुपमा पूरा हुने बताउँछिन् । र नेतृको रुपमा यो नयाँ बाटोमा सफल हुने आत्मविस्वास पनि छ लामाको ।

‘हिजो पनि संगठनको मुभमेन्टमै थिएँ । आज संगठनले चुनौती सम्हाल्नलाई स्पेस दिएको छ । जनप्रतिनिधिको रुपमा संघर्ष र आन्दोलनको केही रुप परिवर्तन भएको छ । यसमा थोरै जिज्ञसा, चनौती र कौतुहलता पनि छ । आशाहरु पनि उस्तै छन् । अबको यात्रा तय गर्दै जाँदा यो यात्रा र सृजनाको यात्रा दुवैलाई मेनटेन गरेर जान्छु,’ लामा भन्छिन् ।

लामाको आफैंभित्रको लडाइँ छँदैछ । बाहिरको राजनीतिक लडाइँ पनि छँदैछ । तर, राजनीतिक लडाइँ जहिल्यै अनिश्चित भइदिन्छ । सधैं आफू विजयी हुने सम्भवना हुँदैन । त्यस्तोमा लामाको आत्मविस्वास चाहिँ कति छ होला !

लामाका अनुसार उनले जुन जगबाट लेखन र राजनीतिको यात्रा प्रारम्भ गरिन्, त्यही जग नै काफी छ उनलाई जिताउन । सीमान्तकृत, पछिडिएका, अधिकारबाट वन्चित भएका, न्यायबाट वन्चित भएकाहरुको आवाज नै आफ्नो मुल तत्व भएको बताउँछिन् । आफू उभिएको यही जगका कारण नै सबैभन्दा बढी आत्मविस्वास आउने बताउँछिन् ।

जब लामा कविता लेख्छिन्, उनले अहिले राजनीतिक रुपमा उठाउने मुद्दाहरु नै उनका कविताका मुद्दा हुन् । जस्तोः परिवर्तनको कुरा अथवा प्रगतिको कुरा, विभेदका कुरा अथवा समतामूलक समाज निर्माणका कुरा । लामा सहरमा पनि समस्या ज्युँका त्युँ देख्छिन् । भन्छिन्, ‘लैंगिक विभेद सहनु परेको होला । महिला भएकैले निर्णायक तहमा अन्याय सहनुपरहेको होला । वर्गाीय द्धन्द्धको बीचमा परेकी हुँला । म ती सबैको सामुहिक आवाज हुँ ।’

आफूले सधैं कविता र राजनीतिबाट एकै मुद्दा उठाएर आएको बताउँछिन् लामा । उनलाई लाग्छ, कविता उनले जन्मसिद्ध लिएर आएकी थिइन्, जो पछि खारिँदै गयो । राजनीतिमा उनलाई अभिमुखीकरणले बलियो बनायो । कविताको विषयले नै उनलाई राजनीतिक जमिन दियो । यिनै कारण पनि आफू निर्वाचित हुनेमा ढुक्क छिन् लामा ।

भनिन्छ, राजनीति निर्मम हुन्छ । राजनीति झैं कविता पनि निर्मम हुने बताउँछिन् लामा । भन्छिन्, ‘कविताले आगो बालेको भनिन्छ नि ! किनभने त्यो कविताले निर्ममता पस्केको हुन्छ । राजनीतिमा पनि कोमलता र निर्ममता दुवै हुन्छ ।’

चुनावी अभियानका क्रममा लामा र मेयर उम्मेदवार मिठाराम अधिकारी घरदैलोमा जाँदा सयौं जनता–कार्यकर्ताले पछ्याएको दृश्य देखेर लामाको कवि हृदय जाग्यो । उनले सोचिन्, ‘सयौं, हजारौंको संख्यामा यी मान्छेहरु किन हाम्रो पछि लागेको होला !’ अनि रोइन् पनि उनी । रुनुको कारणबारे भन्छिन्, ‘किन यसरी पछि लागेका होलान् मान्छेहरु । मसित के सपना छ यिनीहरुको ? मसित के आशा छ ? किन मलाई सिन्दुरजात्रा गरिरहेका छन् ? भावनात्मक रुपमा कमजोर बनेँछु, मेरो कविमन पग्लियो, अनि रोएँ ।’

लामालाई थाहा छ, उनी अहिले परिक्षणकालमा उभिएकी छन् । अब जनताले चुने भने आफूले बोकेका प्रतिवद्धताहरु पूरा गर्ने अवसर पाउनेछिन् । यही मेसोमा लामा रोइन् पनि । भावुक भइन् । त्यही भावुकता र आँसुलाई शक्तिमा बदलिन् । भन्छिन्, ‘मेरो पछि लागेका मान्छेहरुको सपनालाई मैले साकार पार्नुपर्छ । उनीहरुको छाया, आशा र आवाजको विम्ब हुँ म । मैले उनीहरुको भाषा बोल्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर