ओली भन्छन् : यो अलच्छिन सरकार मिल्काउन अझै ७ महिना छ, त्यतिञ्जेल देशको हालत के होला ? – Nepal Press

ओली भन्छन् : यो अलच्छिन सरकार मिल्काउन अझै ७ महिना छ, त्यतिञ्जेल देशको हालत के होला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार हटेर गठबन्धनको सरकार आएसँगै देशमा अलच्छिन सुरु भएको बताएका छन् । अहिले सरकारसँग विकासका काम गर्न पैसा नभएको उनले दावी गरे ।

ललितपुरमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले गठबन्धन सरकारले देशलाई दुरावस्थामा पुर्‍याएको टिप्पणी गरे ।

‘एमालेका पालामा विकासका लागि पैसा छैन भनेको कहिल्यै सुन्नुभो ?’ ओलीले भने, ‘एमाले सरकार आउँ लच्छिनै लच्छिन, गठबन्धन आएपछि अलच्छिनै अलच्छिन । अहिले बाटो बनाउन, अस्पताल बनाउन, कलेज बनाउन केही गर्न पनि पैसा छैन ।’

एमाले सरकारले एक महिनाका लागि पुग्नेगरी वैदेशिक मुद्रा सञ्चिति गरेको तर अहिलेको सरकारले सबै सिध्याएको उनको गुनासो थियो ।

‘अब सरकारसँग आयात गर्ने पैसा छैन । निर्माण गरिसकेकाको रकम भुक्तानी दिन सक्दैन । नयाँ आयोजना सुरु गर्न बैंकबाट ऋण पाउन सक्दैन । देश अभावै अभावले ग्रस्त भएको छ । कस्तो अलच्छिन लागेको ?’ ओलीले भने ।

ओलीले यो सरकारलाई टिपेर मिल्काउनका लागि अझै सात महिना पर्खिनुपर्ने भन्दै चिन्ता व्यक्त गरे ।

‘मंसिरमै संसदीय चुनाव गर्ने हो भने पनि यो सरकारलाई टिपेर मिल्काउनका लागि अझै सात महिना लाग्छ । त्यतिबेलासम्म देशको अवस्था के होला ?’ ओलीले प्रश्न गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर