इच्छाकामना एमालेको घोषणापत्र : चेपाङ र दलितलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार भत्ता – Nepal Press

इच्छाकामना एमालेको घोषणापत्र : चेपाङ र दलितलाई विद्युतमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई ५ हजार भत्ता

चितवन । गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा चुनावी प्रतिबद्धतापत्रमा गरेको छ ।

यो सुविधा दलित समुदायलाई पनि हुने एमालेले उल्लेख गरेको छ । गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ ।

समृद्ध इच्छाकामना निर्माणका निम्ति नेकपा (एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजनाअनुसार वडा तहमा आधा घण्टाको दूरीमा बाल सिकाइ केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तिमा एक सेट कम्प्युटर/ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधार गर्न विभिन्न कार्यक्रमसहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक विषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरणको व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाइ उपलब्धिका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पुर्याइने, पोषणसहितको प्रारम्भिक बाल विकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष  उम्मेदवार दानबहादुर गुरुङले बताए ।

स्वास्थ्य सेवातर्फ गरिबीको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाइने र पालिकाभित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बीमाको योजना लागू गरिने उनले बताए ।

आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पुर्याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइने उपाध्यक्ष उम्मेदवार माया सिलवालले बताइन् ।

इच्छाकामनामा रहेको जिल्लाकै महत्वपूर्ण पयर्टकीय गन्तब्यहरुको प्रचारप्रसार र सुविधाहरु बढाउने गरी पूर्वाधारहरु थपिने एमालेले जनाएको छ । मनकामना माईको दर्शन गर्न आउने पर्यटकहरुलाई चितवनकै अग्लाे डाँडा उपरदाङ्गगढी, सिराइचुली, इच्छाकामना मन्दिरसम्म लैजाने, ती ठाउँहरुमा होमस्टेको प्रवर्द्धन गर्ने, स्थानीय समुदायलाई आवश्यक तालिमसहित दक्षता बढाउने र आयआर्जनसँग जोड्ने काममा गाउँपालिका लाग्ने एमालेले जारी गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

मौवाखोलीदेखि मुग्लिनसम्म त्रिशूली नदीमा जलयात्राको व्यवस्था गर्ने, नदी क्षेत्रका तटीय क्षेत्रमा होटल तथा अन्य पर्यटकीय गतिविधिलाई बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने एमालेको प्रतिबद्धतापत्रमा समेटेको छ । खोला तटीय क्षेत्रमा व्यवसायिक खेती गर्न चाहने कृषि फर्महरुलाई सिंचाइको सुविधाका लागि पानी लिफ्ट गर्ने सुविधा गाउँपालिकाले दिनेछ ।

ज्येष्ठ नागरिकहरुलाई वार्षिक ५ हजार उपचार खर्च

ज्येष्ठ नागरिकहरुलाई सरकारले दिने चार हजार रुपैयाँ भत्तासँगै वार्षिक उपचारका लागि गाउँपालिकाले थप ५ हजार रुपैयाँ दिने प्रतिबद्धता घोषणपत्रमा जनाइएको छ । एमालेले गरिबीको रेखामुनि रहेका घरपरिवारको नि:शुल्क बीमा गरिदिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वडागत नि:शुल्क स्वास्थ्य शिविर चलाउने पनि एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर