गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म जान्छ : प्रचण्ड – Nepal Press

गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म जान्छ : प्रचण्ड

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको आयु लामो रहेको बताएका छन् ।

धनगढीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन स्थानीय तहमा मात्रै नभई प्रदेश र संघीय निर्वाचनसम्म जाने विश्वास व्यक्त गरेका हुन् ।

गठबन्धनको पक्षमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दृढ संकल्प गरेको प्रचण्डको भनाइ थियो ।

‘गठबन्धनको पक्षमा प्रधानमन्त्री तलसम्म उत्रिनुभएको छ । प्रदेश र संघसम्मै गठबन्धन जान्छ’, उनले भने,  ‘विकास र समृद्धिको यात्रा पनि दशकौंसम्म जान्छ भनेर शेरबहादुरजीले प्रस्तुत गर्नुभएको छ । यो हामी सबैको लागि खुसी र गर्वको कुरा हो ।’

गठबन्धनले देशलाई दुर्घटनाबाट जोगाएको उनको भनाइ थियो । सुरुबाटै गठबन्धन कमजोर बनाउने काम भइरहेकोसमेत उनले बताए ।

‘सुरुबाट एकथरि तत्त्व के गरी भ्रमित पार्न सकिएला भनेर लागिरहेकाे छ’, प्रचण्डले भने, ‘अहिले पनि त्याे तत्त्व कनै न कुनै रूपमा गठबन्धनमा रहेका दलहरूमा वैमन्यस्यता पैदा होस्, शीर्ष नेताहरूबीचमा असमझदारी होस् भनेर लागिरहेको छ ।’

चितवनको प्रसंगमा एकथरिले फतुर लगाइरहेको प्रचण्डले आरोप लगाए । चितवनको मेयरमा रेनु दाहाललाई नजिताए दुर्घटनामा देश जान्छ भन्दै उनले अनावश्यक रूपमा यसलाई व्याख्या गरिरहेको बताएका हुन् । केही समयअघि आफूले भनेको प्रसंगलाई अपव्याख्या गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘छोरीलाई नजिताए दुर्घटना हुन्छ भनेर एकथरि मान्छेहरूले फतुरहरू लगाएका छन्’, उनले भने, ‘तर, हामीलाई नेपाली जनताप्रति विश्वास छ । विकास, समृद्धि र जनताको आशाअनुसार नयाँ युगतर्फ लैजाने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर