एमालेलाई जिताए प्रदेश र स्थानीय तह पनि भङ्ग हुनसक्छ: प्रधानमन्त्री देउवा – Nepal Press

एमालेलाई जिताए प्रदेश र स्थानीय तह पनि भङ्ग हुनसक्छ: प्रधानमन्त्री देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते फेरl संसद भङ्ग हुन सक्ने बताएका छन् ।

धनगढीमा पाँच दलीय गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभामात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका थिए ।

‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भङ्ग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

उनले अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुन:स्थापना गरेको बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं । तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भङ्ग गर्न दिने ?’, उनले प्रश्न गरे ।

उनले एमालेमा ओलीभन्दा अर्को नेता नभएकोसमेत बताए । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाकाे भनाइ छ ।उनले भने, ‘सबै ठाउँबाट ल्याएर हामीले गठबन्धनको सरकार बनाएका छौं । यो सरकार बलियो बनाउन पनि गठबन्धन बलियो बनाउनु पर्छ ।’

देउवाले बागी उम्मेदवारहरूलाई फिर्ता लिनसमेत निर्देशन दिए । माथिबाट आदेश ढिलो आएको होला । ‘आधिकारिक उम्मेदवारबाहेकका उम्मेदवारहरूले फिर्ता लिइयोस्’, उनले भने, ‘मैले अहिल्यै भन्छु, बागी उम्मेदवारलाई मान्य दिने छैन । पहिले पनि बागी उम्मेदवारका कारण कांग्रस हारेको हो । अहिले पनि हारेपछि कुनै पनि हालतमा माफी दिनेवाला छैनौं ।’

उनले कैलारी र जोशीपुरमा समस्या रहेको संकेत गर्दै बागी उम्मेदवारहरूलाई वक्तव्य जारी गरेर भए पनि फिर्ता लिन आग्रह गरेका थिए । सुदूरपश्चिमकै भएका कारण आफू प्रधानमन्त्री भएको देउवाको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “एमालेलाई जिताए प्रदेश र स्थानीय तह पनि भङ्ग हुनसक्छ: प्रधानमन्त्री देउवा

  1. भङ्ग हैन तरङ्ग उत्पन्न हुन्छ। देशले मुहार फेर्छ। एकराते गठेहरु होसियार। जय जनादेश। मुर्दावाद परमादेश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर