पोखरा पुगेर ओलीले भने– गठबन्धनले भोटबाट जित्ने होइन, मतपत्र जोगाउन चनाखो बन्नुपर्छ – Nepal Press

पोखरा पुगेर ओलीले भने– गठबन्धनले भोटबाट जित्ने होइन, मतपत्र जोगाउन चनाखो बन्नुपर्छ

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पुगेका ओलीले सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’

उनले पोखरामा गठबन्धनको आमसभामा माधव नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर चेतावनी दिएकोमा व्यंग्य गरे । उनले कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० बाट प्रस्ट हुने दावी गरे ।

गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले कांग्रेसको बेहाल भइरहेको टिप्पणी गरे ।

उनले गणेशमान र कृष्णप्रसाद भट्टराईले कांग्रेस छाडेको स्मरण गर्दै कांग्रेसका धेरै कार्यकर्ताको हालत त्यस्तै भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर