कहिले रोकिन्छ मतदातालाई प्रभाव पार्ने अनेक चलखेल ? – Nepal Press

कहिले रोकिन्छ मतदातालाई प्रभाव पार्ने अनेक चलखेल ?

जनकपुरधाम । स्थानीय तह निर्वाचन नजिकिएसँगै मतदातालाई प्रभावमा पार्न उम्मेदवार र दलका नेताहरुले अनेक चलखेल सुरु गरेका छन् ।

वैशाख २३ गते सिरहामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो । मतदातालाई रुपैयाँ बाँडिरहेको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले सिरहा नगरपालिका १ बाट स्थानीय सुन्दर मण्डल र हरिदयाल पासवानलाई नियन्त्रणमा लिएको थियो । उनीहरु जसपाका कार्यकर्ता भएको र भोट किन्न मतदातालाई रुपैयाँ बाँडेको भन्दै धेरैले सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

प्रहरीले नगदसहित पक्राउ परेका उनीहरुलाई सोही दिन छाडेको थियो । सिरहाका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिना भन्छन्, ‘रुपैयाँ बाँडिरहेको सूचनाको आधारमा उनीहरुलाई ५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेका थियौं । तर, अनुसन्धानबाट मतदातालाई रुपैयाँ बाँडेको वा बाँड्न राखेको पुष्टि हुन सकेन । त्यसपछि उनीहरुलाई छाड्यौं ।’

एसपी तिमिल्सिनाले आचारसंहिताको उल्लंघन गर्न नदिन र शान्ति सुरक्षाका लागि जिल्लाका १७ वटै पालिकामा रातभर प्रहरीले गस्ती गरिरहेको बताए । ‘अहिलेसम्म रकम बाँडेको प्रमाणसहित भेटेका छैनौं’, उनले भने, ‘तर, गुनासाहरु फाटफुट आइरहेका छन् । प्रमाणसहित फेला परेमा कानूनबमोजिम कारबाही गर्छौं ।’

रुपैयाँ बाँड्ने क्रममा पक्राउ परेका दुई जनालाई अनुसन्धान नै नगरी छाडेको आरोप प्रहरीमाथि लागेको छ । नेपाली कांग्रेसका एक नेता निवर्तमान मेयर एवं जसपाबाट पुनः मेयरमा उम्मेदवार बनेका अशेश्वर यादवका मान्छे भएकाले दबाबमा उनीहरुलाई प्रहरीले छाडेको बताउँछन् । उनले भने, ‘रुपैयाँ बाँड्नेले कहाँ स्वीकार्छन् र ? अनि त्यतिकै छाड्न त मिल्दैन नि ? प्रहरीले गम्भीर ढंगबाट अनुसन्धान नै नगरी छाड्यो ।’

यता धनुषाको कमला नगरपालिकामा पर्ने सघारामा जसपाका उम्मेदवारले मदिरा बाँडिरहेको भिडियो सार्वजनिक भएको छ । जसपा मेयरका उम्मेदवार पशुपति यादवको ब्यानरसमेत झुण्ड्याएको ट्याक्टरमै मध्यरातमा मदिरा बाँडेको भिडियोमा देखिन्छ । अहिले उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।

स्थानीयका अनुसार सघारामा जसपाले घरदैलो कार्यक्रम राखेको थियो । कार्यक्रम सकेपछि ट्याक्टर लिएरै घरघर पुगेर मदिरा बाँडियो । कुखुराको मासुसमेत पोका पारेर घरघरमा बाँडेको बताइएको छ । मदिरा र मासु बाँडिएको विषयमा बुझ्न जसपा मेयर उम्मेदवार यादवसँग सम्पर्क हुन सकेन ।

मतदाता रिझाउन मासु र मदिरा बाँडिएको विषयमा सम्बन्धित निकाय अनभिज्ञ छ । कमला नगरपालिकाका निर्वाचन अधिकृत धर्म अवतार कोइरालाले उम्मेदवारले मतदातालाई मदिरा बाँडेको विषय थाहा नपाएको बताए । उजुरी परेपछि कानूनबमोजिम कारबाही हुने उनको भनाइ छ ।

निर्वाचनको समय नजिकिएपछि उम्मेदवारहरुले भोट तान्न अनेक हर्कत गर्ने युवा अभियन्ता महेश यादव बताउँछन् । उनका अनुसार आचारसंहिता पालना गराउने निकाय नै छैन ।

‘उम्मेदवार र नेताहरु विशेषगरी दलित, गरिब र विपन्न बस्तीमा केन्द्रित भएका छन्’, युवा अभियन्ता यादव भन्छन्, ‘अहिले धेरैले मत बेच्दा र दबाबमा परेर गलत व्यक्तिलाई मतदान गर्दा ५ वर्ष लुट मच्चाउने गरेको बुझिसकेका छन् । तर, गरिब, दलित र विपन्नहरुमा अहिले पनि चेतनाको अभाव छ । यसको फाइदा उम्मेदवारहरुले उठाउने गर्छन् ।’

निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन राज्यले हरेक संयन्त्र सक्रिय पार्नुपर्ने उनको सुझाव छ । उनका अनुसार राम्रो जनप्रतिनिधि किन चयन गर्नुपर्छ भन्नेबारे सन्देश पनि राज्यले हरेक मतदातासमक्ष पुर्‍याउन नसकेकाले निर्वाचनमा आर्थिक चलखेल बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर