विदेशी फिल्मको दबदबा छिचोल्दै हिट भयो अनमोलको ‘ए मेरो हजुर ४’, झरना भन्छिन्- नाफामा गइसक्यौं – Nepal Press

विदेशी फिल्मको दबदबा छिचोल्दै हिट भयो अनमोलको ‘ए मेरो हजुर ४’, झरना भन्छिन्- नाफामा गइसक्यौं

काठमाडौं । महंगो बजेटको दक्षिण भारतीय फिल्मसँग सिधा टक्कर लिएको अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ सुपरहिट भएको छ । प्रदर्शनमा आएको चौंथो हप्तासम्म यो चलचित्र हलहरुबाट उत्रिसकेको छैन ।

नयाँ वर्षको अवसर पारी गत वैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज गरिएको थियो । सोही दिन विश्वव्यापी हाइप बनाएको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ पनि नेपाल भित्रिएको थियो । विदेशी चलचित्रलाई काखा र नेपाली चलचित्रलाई पाखा गर्दै प्रदर्शकहरुले केजीएफ २ लाई अत्यधिक शो दिएका थिए भने ‘ए मेरो हजुर ४’ लाई सीमित शोमा खुम्च्याएका थिए । यसले ‘ए मेरो हजुर ४’ को लगानी जोखिममा पर्न सक्ने देखिएको थियो ।

तर, दर्शकको बलियो साथ पाएपछि ‘ए मेरो हजुर ४’ ले लगानी सुरक्षित गर्न सफल भएको हो । निर्देशक झरना थापाका अनुसार चलचित्रले चौंथो हप्ताबाट मुनाफा कमाउन थालिसकेको छ । साथै विभिन्न देशका लागि प्रदर्शन अधिकारहरु धमाधम बिक्री भइरहँदा चलचित्रले राम्रो मुनाफा कमाउन सक्ने देखिएको छ ।

चलचित्रले दोस्रो हप्तासम्म ४ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । तेस्रो हप्ताको आम्दानी भने सार्वजनिक गरिएको छैन । अहिले चौंथो हप्तामा पनि देशभरका थुप्रै हलमा फिल्म चलिरहेको झरनाले बताइन् ।

‘हामीकहाँ सबै रिपोर्ट त आइसकेको छैन । तर, अहिले पनि दर्शकले हाम्रो चलचित्रलाई साथ दिइरहनु भएको छ’, उनले भनिन्, ‘फिल्म लगानी उठाएर नाफाको बाटोमा गइसक्यो ।’

झरनाका अनुसार यो चलचित्रको निर्माण लागत करिब २ करोड रहेको छ । लगानी उठाउन चलचित्रले ६ करोडभन्दा माथिको व्यापार गर्नुपर्ने चुनौती थियो ।

किन चल्यो ?

अत्यन्त प्रतिकूल अवस्थामा पनि ‘ए मेरो हजुर ४’ ले गरेको व्यापार यस चलचित्रका निर्माताका लागि मात्रै नभएर समग्र नेपाली चलचित्रकै लागि सुखद समाचार हो । यद्यपि यही चलचित्रको व्यापारले समग्र नेपाली चलचित्रको प्रतिनिधित्व भने गर्दैन । ‘ए मेरो हजुर ४’ पछि रिलिज भएका दुई वटा नेपाली चलचित्रको व्यापारिक रिपोर्ट राम्रो छैन ।

यो चलचित्र चल्नुमा सबैभन्दा पहिलो श्रेय नायक अनमोल केसीले पाएका छन् । उनको स्टारडम र क्रेजको ‘ए मेरो हजुर ४’ ले पुनः पुष्टि गरेको छ । चलचित्र रिलिज अगाडि निर्माता सुनीलकुमार थापाले दक्षिण भारतीय चलचित्रसँग डराएको अभिव्यक्ति दिएका थिए । त्यसबेला अनमोलले आत्मविश्वासपूर्वक भनेका थिए, ‘तपाईंले डराउनुपर्दैन । तपाईंसँग म छु ।’

अनमोलले देखाएको आत्मविश्वासलाई दर्शकले काँध थापेका छन् । अघिल्ला चलचित्रमा अनमोलको अभिनयलाई लिएर आलोचना हुने गरेकोमा यस चलचित्रमा उनको अभिनयले पनि प्रशंसा पायो । अभिनयमा उनले धेरै सुधार गरेको प्रतिक्रिया दर्शकहरुले दिइरहेका छन् । यद्यपि चलचित्रमा धेरै कमिकमजोरी छन् ।

निर्देशक झरना भने चलचित्र राम्रो भएकैले दर्शकको साथ पाएको बताउँछिन् । उनले भनिन्, ‘कुनै पनि चलचित्र चल्न सबैभन्दा पहिले त यसको कथावस्तु र प्रस्तुतीकरण नै राम्रो हुनुपर्छ । त्यसपछि मात्रै अरु कुराहरु आउँछन् ।’

चलचित्रको सफलताको जस आफैले लिन खोजेको उनको अभिव्यक्तिको आशयबाट बुझिन्छ । उनले निर्देशन गरेको अघिल्लो चलचित्र ‘ए मेरो हजुर ३’ पनि बक्स अफिसमा हिट भएको थियो । सो चलचित्रमा पनि अनमोल र सुहानाकै जोडी थियो । झरना आगामी चलचित्र ‘भागवत गीता’ को निर्देशन गर्दैछिन् । सो चलचित्रमा अनमोल नहुन सक्छन् । अनमोलविनाको चलचित्रले गर्ने व्यापारबाट झरनाको वास्तविक परीक्षा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर