‘लुम्बिनी एमालेको किल्ला हो, कुनै गठबन्धनले भत्काउन सक्दैन’ – Nepal Press
नेपाल टकमा एमाले लुम्बिनी अध्यक्ष कँडेल

‘लुम्बिनी एमालेको किल्ला हो, कुनै गठबन्धनले भत्काउन सक्दैन’

अघिल्लो निर्वाचनमा लुम्बिनीका १०९ स्थानीय तहमध्ये ४३ पालिका नेकपा एमालेले जितेको थियो । रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलवस्तुलगायतका जिल्लामा नेपाली कांग्रेस र त्यो बेलाको बलियो माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए ।

अहिले पाँच दलीय सत्ता गठबन्धन अधिकांश पालिकामा एमालेविरुद्ध चुनावी मैदानमा छ । यस्तो अवस्थामा लुम्बिनी प्रदेशमा एमालेको अध्यक्षको जिम्मेवारी सम्हालेका पाल्पाका राधाकृष्ण कँडेलले कार्यकर्ताहरुका बीचमा यसपटक गत निर्वाचनभन्दा बढी स्थानमा आफ्नो पार्टीले जित निकाल्ने दाबी गर्दै आएका छन् ।

पाल्पा जिल्ला कमिटीको सचिव रहिसकेका कँडेल २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको तयारी र रणनीति तथा पार्टी विभाजन र गठबन्धनपछि प्रदेशका पालिकामा एमालेको भविष्यलगायतका विषयमा एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलसँग नेपाल प्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी नेपाल टकमा ।

निर्वाचनको तयारी कसरी भइरहेको छ ?

मुख्यगरी उम्मेदवारहरुको टिकट टुंगाएर सबै पालिकाका उम्मेदवारहरु मैदानमा पुगिसक्नुभएको छ । पार्टीको विभिन्न जिम्मेवारीमा रहनुभएका कमरेडहरु आआफ्नो क्षेत्रमा बाँडिनुभएको छ । १०९ पालिकामै हाम्रो उम्मेदवारी रहेको छ । केही पालिकाका केही पदमा स्थानीय कमिटीले गठबन्धन गरे पनि प्रदेशभर हामीले सबै पालिकामा उम्मेदवारी दिएर मैदानमा खटाएका छौं ।

कुन कुन पालिकामा अन्य दलसँग गठबन्धन भएको छ ?

रुकुमपूर्वका केही पालिकामा कांग्रेससँग तालमेल भएको छ । गुल्मीको धुर्कोट र प्यूठानको झिमरुकमा माओवादीसँग सहकार्य भएको छ । रोल्पाका केही पालिकामा साना दलसँग सहकार्य भएको छ । नवलपरासीको बर्दघाटमा जनमुक्ति पार्टीलाई उपमेयर दिएर गठबन्धन गरेका छौं । बुटवल उपमहानगरमा पनि केही वडा सदस्य जनमुक्तिलाई दिएर सहकार्य भएको छ । यस्तो अधिकार स्थानीय कमिटीलाई नै दिइएको छ । तराईका केही पालिकामा लोसपा र जसपासँग सहकार्य छ ।

एमालेले गत निर्वाचनमा जितेका पालिका सुरक्षित राख्न सक्छ ? पार्टी विभाजन र पाँच दलीय गठबन्धनले कस्तो प्रभाव पार्ने आंकलन गर्नुभएको छ ?

लुम्बिनी प्रदेशमा एमालेबाट विभाजित नेकपा एसले पारेको प्रभाव अत्यन्तै कम छ । उ एक्लै कुनै वडामा जित्न सक्ने अवस्था छैन । एमालेलाई त्योबाट हुने घाटाको पूर्ति माओवादीबाट एमालेमा आएकाहरुबाट भएको छ । अर्को कुरा, एमालेबाट एसमा गएको शक्तिभन्दा माओवादीबाट नेकपाको समय र त्यसपछिको समयमा एमाले राजेर बसेका नेता–कार्यकर्ताहरुको संख्या निकै ठूलो रहेको छ । त्यसले गर्दा विभाजनको असर पर्दैन ।

नेकपा एसले नजिते पनि एमाले हराउन त सक्छ नि होइन र ? अनि ५ वटा दलको गठबन्धन हुँदा पनि तपाईंहरु फेरि अघिल्लोपटक भन्दा बढी स्थान जित्छौं भनिरहनुभएको छ, सम्भव छ ?

लुम्बिनीका १२ जिल्लामध्ये तराईका ६ जिल्लामा एमालेमा आएको जनलहर त तपाईले देख्नुभएको छ । त्यसले पनि हामी नेकपा एसले क्षति गरेकोभन्दा बढी पूर्ति माओवादी केन्द्रबाट गरेका छौं ।

तराई र अन्य क्षेत्रमा विभिन्न पार्टीबाट एमालेमा आएकाहरु त अघिल्लो निर्वाचनभन्दा बढी नै हो । यसरी पनि हामीले अघिल्लोभन्दा बढी जित्ने आधार र तथ्यांकसहित भनेका छौं । सबै जिल्लाको रिपोर्टका आधारमा बोलेका छौं ।

अनि गठबन्धन नेताहरुको व्यवस्थापनका लागि भएको हो । कार्यकर्ता र आमजनताका बीचमा त्यसको कुनै अर्थ नै छैन । नेताले गठबन्धन गरेका हुन्, त्यो जनताको आवश्यकताका लागि गरेका थिएनन् र हैन भन्ने सबैले बुझेका छन् । आम जनताले एमालेलाई गरेको माया बढेको छ । एमालेको पक्षमा जनलहर आएको छ, त्यसकारण हामी बोलेका हौं ।

अघिल्लो पटक एमालेले जितेका पालिकामा टिकट वितरणमा निकै असन्तुष्टि देखिएको छ । आन्तरिक असन्तुष्टिले एमाले थप कमजोर भएको छैन ?

केही पालिकामा सुरुमा समस्या आएको थियो । हामीले सबै व्यवस्थापन गरिसकेको अवस्था छ । केही यस्ता विषय जायज थिए, अधिकांश कतैबाट उचालिएर गरिएका थिए । पार्टी कमिटीले सबै विवाद मिलाएको छ । पार्टीको निर्णय नमान्नेलाई पार्टीमा बस्ने अधिकार छैन । आफ्ना विमति कमिटीभित्रै राख्ने हो ।

राजनीति गरेपछि संसदीय व्यवस्थामा जाने रहर सबैलाई हुनु स्वाभाविक हो । म काम गर्न चाहन्छु भन्नु हरेक राजनीति गर्नेलाई हुनुपर्दछ । तर, त्यसको निर्णय गर्ने अधिकार पार्टी कमिटीमा हुन्छ । त्यही विधि र पद्धतिमा बसेर हामीले टुंगाएका छौं । सबै आकांक्षीले एकैपटक टिकट पाउने कुरा होइन ।

अहिले नपाएकाले फेरि पाउने अथवा अन्य स्थानमा प्राथमिकता पाउने हो, यही न हो न्याय । पार्टीविरुद्ध बागी दिने, अन्य दलसँग साँठगाँठ गर्ने एमालेको सदस्य हुन सक्दैन । केही पूर्वाग्रहबाट पनि आएका छन्, असन्तुष्टि जनाउनेले पनि पार्टीले फेरि आफूलाई खोज्छ भन्ने आशाले पनि यस्तो आएको हो । विधिमा टेकेर दिनुपर्नेलाई नै हामीले दिएका छौं ।

अन्य पार्टीबाट एमालेमा आएकाले टिकटमा प्राथमिकता पाए भन्ने गुनासो छ नि ?

हामीले स्थानीय कमिटीले यो व्यक्तिलाई टिकट दियो भने बढी मत ल्याउन सक्छ, जित्न सकिन्छ भन्ने प्रमाणिक आधारहरुलाई टेकेर नै टिकट वितरण गरेका छौं । हामीले गर्ने नियुक्ति होइन । निर्वाचन भनेको जनपरीक्षण हुने कुरा हो ।

प्रतिस्पर्धामा जनताको मत तान्न सक्ने, जनताको काम गर्न सक्ने र पार्टीप्रति बफादारलाई नै टिकटको प्राथमिकता हुन्छ । निर्वाचन एक मत कम आए पनि जितिने कुरा होइन । त्यसैले ‘मैले पाएँ जित्थे, उसको त खै’ भन्ने अधिकार एमालेका सदस्यलाई छुट हुँदैन । भएका असन्तुष्टि पार्टीभित्रै हुन्छन् । सबैलाई न्याय हुन्छ । एकैपटक सबैलाई अवसर मिल्दैन । क्षमता र समयअनुसार नै जिम्मेवारी दिन्छ पार्टीले भनेर बुझ्न जरुरी छ ।

यो पटक कति पालिकामा जित्ने आँकडा निकाल्नुभएको छ ?

हाम्रो प्रदेशमा गत निर्वाचनभन्दा धेरै नै जित्छौं । हरेक पार्टीबाट एमालेमा आएकाहरुले त्यो पुष्टि गरेका छन् । एमाले मुख्य शक्ति हो भन्ने प्रस्ट छ । यो लहरलाई व्यवस्थापन गर्ने यो निर्वाचन हो । अघिल्लो पटक ४३ पालिकामा जितेका थियौं १०९ मध्ये । अहिले बहुमत पालिकामा जित्छौं लेखेर राख्नुहोस् । त्यसका आधारहरु मैले माथि नै बताइसकेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर