निर्वाचनमा खटिने कमान्डरलाई नै हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल – Nepal Press

निर्वाचनमा खटिने कमान्डरलाई नै हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल

काठमाडौं । नेपाल प्रहरीले आसन्न स्थानीय निर्वाचनमा खटिने कमान्डरहरूलाई हतियार अभाव भएपछि नेपाली सेनासँग २ हजार थान पेस्तोल मागेको छ ।

प्रहरीले निर्वाचनपछि फिर्ता गर्ने गरी सहयोग स्वरूप ती हतियार मागेको हो । स्रोतकाअनुसार आइतबार नेपाली सेनाले नेपाल प्रहरीलाई एक हजार थान पेस्तोल उपलब्ध गराएको छ।

‘निर्वाचन सुरक्षाका लागि हामीसँग हतियार छैन भन्दै माग्नुपर्ने अवस्था छ । सरकारले हतियार खरिदमा उदासीनता देखाउँदा हामी अन्य सुरक्षा निकायसँग मागेर काम चलाइरहेका छौँ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने ।

निर्वाचन सुरक्षाका लागि हरेक मतदान स्थलभित्र नेपाल प्रहरीका जुनियर अफिसर (सहायक निरीक्षक, नायब निरीक्षक र वरिष्ठ नायब निरीक्षक) को कमान्डमा म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालन हुन्छन् । कमान्डरले पेस्तोल बोक्छन् भने अन्य प्रहरीले लामा हतियार बोक्नेछन् ।

‘हामीलाई लामा हतियारको समस्या छैन’, ती अधिकारीले भने । केही समयअघि नेपाली सेनाले आफूले प्रयोग गरेका पुराना लामा हतियार नेपाल प्रहरीलाई निःशुल्क प्रदान गरेको थियो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर रहेका १० हजार ७ सय ५६ मतदान स्थलमा त्यति नै संख्यामा प्रहरीका सुरक्षा कमान्डर हुन्छन् ।

मतदान स्थलको सुरक्षाका लागि सुरक्षा संवेदनशीलताअनुसार मतदान स्थललाई तीन वर्गमा बाँडिएको छ ।

अति संवेदनशील मतदान स्थलमा कम्तीमा ३ प्रहरी र ८ म्यादीसहित ११ जना सुरक्षाकर्मी खटिने छन्। ती सबै प्रहरीसँग हतियार हुने छ ।

संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ६ जना म्यादीसहित ९ जना रहनेछन् भने कम संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ५ जना म्यादीसहित ८ जना सुरक्षाकर्मी रहनेछन् ।

तीमध्ये हरेक मतपेटिकामा एक जना प्रहरी र दुई जना म्यादी प्रहरी खटिनेछन्। ‘त्यसैले मतपेटिकाको संख्याअनुसार प्रहरी र म्यादीको संख्या बढ्न सक्छ’, ती अधिकारीले भने ।

प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी मतपेटिका (मतदान केन्द्र) रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरमा रहेको मतदान स्थलमा रहने छन् जहाँ १६ वटा मतदान केन्द्र राखिएको छ ।

देशभर अति संवेदनशील मतदान स्थलको संख्या करिब ३ हजार र कम संवेदनशील मतदान स्थलको संख्या करिब २५ सयको हाराहारीमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितीले सुरक्षा विश्लेषण गरी पठाएको प्रतिवेदनका आधारमा मतदान स्थलको सुरक्षा संवेदनशीलता वर्गीकरण गरिएको हो । सीमा जोडिएका, अघिल्ला निर्वाचनमा घटना भएका, भौगोलिक विकटतालगायतका आधारमा अति संवेदनशील र संवेदनशील भनेर छुट्टाइएको छ ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालन भइसकेको जनाएको छ। प्रहरी प्रधान कार्यालयकाअनुसार ६१ हजार ८ सय ३१ जना प्रहरीलाई निर्वाचन केन्द्रित परिचालन गरिएको छ ।

उनीहरू मतदान स्थलको सुरक्षा, मोबाइल टोली, रिजर्भ टोली, उम्मेदवार सुरक्षा, सूचना संकलन र निर्वाचन सेलका रूपमा खटिएका खटिने छन् ।

‘हामीले जिल्लामा भएको दरबन्दीबाहेक देशभरका जिल्लाहरूमा २२ देखि २५ हजार प्रहरी थप गरेका छौँ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने।

विभिन्न ब्युरो, गण, गुल्म, तालिम केन्द्रहरू, प्रहरी प्रधान कार्यालयलगायतबाट त्यसको पूर्ति गरिएको ती अधिकारीले भने । सबैभन्दा बढी प्रहरी मधेस प्रदेशमा खटिनेछन्। मधेस प्रदेशमा प्रहरी प्रधान कार्यालयले करिब ४ हजार जनशक्ति थप गरेको छ ।

‘जिल्लाभित्र रहेको जनशक्ति बढी भए त्यही प्रदेशका अन्य जिल्लामा पठाएका छौँ। कम भएको अवस्थामा सोही प्रदेशभित्र रहेका अन्य जिल्ला, तालिम केन्द्र, गण, गुल्महरूबाट पूर्ति गरेका छौँ। त्यति गर्दा पनि मधेस प्रदेशमा करिब ४ हजार जनशक्ति थप गर्नुपर्ने अवस्था बन्यो, ती अधिकारीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर