देउवा-प्रचण्ड एकजुट, रुकुमपश्चिममा कांग्रेस-माओवादी दिनहुँ कुटाकुट (भिडिओ) – Nepal Press

देउवा-प्रचण्ड एकजुट, रुकुमपश्चिममा कांग्रेस-माओवादी दिनहुँ कुटाकुट (भिडिओ)

सुर्खेत । एमालेविरुद्ध खडा गरिएका साझा उम्मेदवारलाई जिताउन आव्हान गर्दै सत्ता गठबन्धनका शीर्ष नेताहरू यतिखेर देश दौडाहामा छन् । ठूला सहरका चुनावी आमसभामा उनीहरूले गठबन्धनलाई वर्षौंसम्म टिकाउनुपर्नेमा जोड दिइरहेका छन् ।

गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापित एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधान रक्षाकै लागि आफूहरूले तालमेल गरेको बताएका छन् । दुई दिनअघि काठमाडौंको सभामा प्रचण्डले लोकतान्त्रिक-वाम गठबन्धन नेचुरल रहेको अनुभव सुनाएका थिए ।

शान्ति प्रक्रियादेखि नै कांग्रेस-माओवादीको सहकार्य भइरहेको भनेर देउवा-प्रचण्ड एकजुट भइरहँदा रुकुमपश्चिममा भने चुनाव प्रचारप्रसारको क्रममा यी दुई पार्टीका कार्यकर्ताबीच दिनहुँ झडप भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार शनिबार बेलुका चौरजहारी नगरपालिका-६ को खागलमा कांग्रेस कार्यकर्ता कुटिएका छन् ।

वाईसीएलको आक्रमणमा परेर कांग्रेसका १० कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा चौरजहारी- ६ का २२ वर्षीय लक्ष्मण बोहरा, ४० वर्षीय सरोज रोका, ३३ वर्षीया फागुनी बोहरा, २८ वर्षीया रामबहादुर बोहरा, २७ वर्षीय वीरेन्द्र रावत, २८ वर्षकी चन्द्रकला बुढाथोकी, ४२ वर्षकी मैनी बोहरा, १७ वर्षकी ममिता बोहरा र १९ वर्षीय मनबहादुर पुन छन् । घाइतेमध्ये लक्ष्मण बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झडपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी पनि घाइते भएका छन् ।

खागल गाउँमा घरदैलो गरिरहेका आफ्ना कार्यकर्तामाथि माओवादी कार्यकर्ताले फलामको रड, बोतल, ढुंगामुढालगायतले आक्रमण गरेको कांग्रेसको भनाइ छ ।

यस्तै शुक्रबार राति चौरजहारी नगरपालिका- १ मा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

रूकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार उक्त घटनामा कांग्रेस चौरजहारी नगरपालिका-१ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी, कांग्रेस कार्यकर्ता मनबहादुर विक र वाईसीएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका वडा सभापति योगेश र मानबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अन्यको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको डीएसपी सोतीले जानकारी दिए ।

आफ्ना कार्यकर्तामाथि दिनदिनै माओवादीले आक्रमण गरिरहँदा प्रहरी मुकदर्शक बनेको कांग्रेस रुकुमको आरोप छ ।

वैशाख २३ गते वाईसीएल कायर्ककर्ताको आक्रमणमा त्रिवेणी गाउँपालिका- ८ पेउघास्थित शुभप्रभात आधारभूत विद्यालयका अस्थायी शिक्षक ३९ वर्षीय लोकबहादुर खड्का घाइते भएका थिए । जिल्ला अस्पताल सल्लेमा उपचाररत खड्काको नाक, कान, कम्मरको भाग, खुट्टाको गोलीगाँठामा चोट लागेको प्रहरीले जनाएको छ ।

खड्काले पार्टीभन्दा नि व्यक्तित्व र क्षमता हेरेर मत दिनुपर्ने बताएपछि माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएका थिए ।

यस्तै त्रिवेणी गाउँपालिका- ९ नुवाकोटमा बिहीबार बिहान कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का चढेको गाडीमा माओवादी कार्यकर्ताले तोडफोड गरेका थिए ।

सोही स्थानमा स्थानीय चौकीमा शरण माग्न पुगेका कांग्रेस कार्यकर्तालाई आक्रमण गरी प्रहरी चौकी भवनमा समेत तोडफोड गरिएको थियो । यहाँ ८ जना कांग्रेस कार्यकर्ता घाइते भए ।

प्रहरीको समन्वयमा सर्वदलीय बैठक

निर्वाचनमा प्रचारप्रसार र घरदैलोमा नेता-कार्यकर्ता व्यस्त भएको बेला एकअर्काबीच दिनहुँ कुटाकुट हुन थालेपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा अहिले सर्वदलीय बैठक बसेको छ ।

प्रहरीका अनुसार जिल्लामा क्रियाशील सबै राजनीतिक दलहका नेताहरूलाई बैठकमा बोलाइएको हो ।

‘नागरिक त्रसित नहुन् र निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गराउँन सबै दलका नेताहरू जिम्मेवार र प्रतिबद्ध बनाउन बैठक बसाइएको हो’, डीएसपी सोतीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर