धर्मश्रीमा धाँधली भएको सहभागी खेलाडीहरूको आरोप ! – Nepal Press

धर्मश्रीमा धाँधली भएको सहभागी खेलाडीहरूको आरोप !

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् ।

शनिवार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित व्यवहार भएको बताएका हुन् ।

‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने ।

आयोजकले सधैँ खेलाडीलाई अपहेलित गरेको र त्यसै कारण आफूहरू मुख खोल्न बाध्य भएको खेलाडी सागर वि कले भने ।

‘आयोजकबाट हामी सधैँ अपहेलित हुन्छौ । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ विकले पत्रकार सम्मेलन गर्नुको उद्देश्य बताए । सागर बेलायतबाट सहभागी हुन नेपाल आएका थिए ।

पत्रकार सम्मेलनमा गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो ।

महिला सहभागी खेलाडी सनमले प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सधैँ अपहेलित हुनु परेको बताइन् ।

‘मैले बारम्बार आयोजकसँग बुझ्ने प्रयास गरे । तर हामीले प्रतिस्पर्धामा लगाउने पोसाक समेत कुन भन्ने थाहा पाउन सकेनौँ ।’ सनमले आरोप लगाइन् ।

यस्तै सहभागी प्रतिस्पर्धीले उपाधि दाबेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएको समेत आरोप लगाए ।

शनिवार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औँ धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे । धिमाल दोस्रो हुदा कृष्ण बहादुर सूर्यवंशी तेस्रो भए । दुवैले क्रमशः ५ लाख र २ लाख पाए ।

यस्तै धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेस टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी दुवैले दुई लाख प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर