निमावि तह शिक्षकको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति भए उत्तीर्ण ? – Nepal Press

निमावि तह शिक्षकको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति भए उत्तीर्ण ?

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार २७ दशमलव २८ प्रतिशत परीक्षार्थी पहिलो (सामान्य) चरणमा उत्तीर्ण भएका छन् ।

आयोगको विवरणअनुसार परीक्षामा सहभागी ७६ हजार ९०६ परीक्षार्थीमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका हुन् । सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै बागमतीबाट परीक्षामा सहभागीमध्ये ३१ प्रतिशत उत्तीर्ण भएका छन् । सबैभन्दा कम मधेसमा १७ दशमलव २७ प्रतिशतमात्र उत्तीर्ण भएका छन् ।

आयोगका अनुसार प्रदेश नम्बर १ मा १९ हजार २० परीक्षार्थीमध्ये २७ दशमलव २७ प्रतिशत अर्थात पाँच हजार १८२ जना, मधेसमा पाँच हजार ८५३ मध्ये १७ दशमलव २७ प्रतिशत अर्थात एक हजार ११ जना उत्तीर्ण भएका छन् ।

यस्तै बागमतीमा ११ हजार ५२६ सहभागीमध्ये ३१ प्रतिशत अर्थात तीन हजार ५७७ जना उत्तीर्ण भएका छन् । गण्डकीमा १४ हजार २०६ जनामध्ये ३० दशमलव ५५ प्रतिशत अर्थात चार हजार ३४१ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनीमा ११ हजार ८४४ मध्ये २८ दशमलव ३७ प्रतिशत अर्थात तीन हजार ३६१ जना, कर्णालीमा चार हजार ७८८ मध्ये २२ दशमलव ३२ प्रतिशत अर्थात एक हजार ६९ जना र सुदूरपश्चिममा नौ हजार ६६९ मध्येबाट २५ दशमलव २८ प्रतिशत अर्थात दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत चैत १७ गते निमावि तहमा दुई हजार ५९८ रिक्त पदका लागि सामान्यतर्फको परीक्षा सञ्चालन गरेको थियो ।

नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले जेठ ३ गतेसम्म कार्यालय समयभित्र आयोगले तोकेको कागजातसहित निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

विषयगत परीक्षा असार ११ गते

आयोगले सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीका लागि असार ११ गते विषयगत परीक्षा सञ्चालन गर्नेछ । आयोगले प्रदेशगत परीक्षा केन्द्र रहने जिल्लासमेत तोकेको छ । प्रदेश १ का लागि मोरङ, मधेसका लागि धनुषा, बागमतीका लागि मकवानपुर, गण्डकीका लागि कास्की, लुम्बिनीका लागि रुपन्देही, कर्णालीका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर