विवादमा फस्न नचाहेको भन्दै बन्द प्रशिक्षण छाडेका भारतीय सैनिक भन्छन्- नेपालमा मभन्दा एक सय एक राम्रा गोलरक्षक छन् – Nepal Press

विवादमा फस्न नचाहेको भन्दै बन्द प्रशिक्षण छाडेका भारतीय सैनिक भन्छन्- नेपालमा मभन्दा एक सय एक राम्रा गोलरक्षक छन्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका भारतीय सैनिक भबिन्द्र मल्ल ठकुरी बाहिरिएका छन् ।

उनले आइतबार बिहान फेसबुकमा आफू विवादमा पर्न नचाहेको र नेपालमा आफूभन्दा एक सय जना गोलरक्षक राम्रो रहेको उल्लेख गरेका छन् । उक्त स्टाटस दिउँसो हटाएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादपछि १० जना सिनियर खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेपछि १७ जना खेलाडीलाई थपेका थिए ।

उनले हाल विदेशमा रहेका गोलरक्षक किरणकुमार चेम्जोङ पनि टोलीमा समावेश नहुन सक्ने देखेपछि भारतीय सेनामा रहेका भविन्द्र मल्ल ठकुरीलाई बोलाएका थिए ।

ठकुरीसहित अर्का भारतीय सैनिक सुमन श्रेष्ठले पनि आइतबारदेखि प्रशिक्षण छाडेका छन् ।

‘भारतीय सेनाले विदेश जान दिएको छैन । जसका लागि मैले १० वर्षको जागिर छोड्नु ? कृपया मलाई यो विवादमा नफसाउनुस्, म भन्दा १०० जना राम्रो गोलरक्षक नेपालमा छन् । आफ्नो देशको लागि खेल्नु सबैको सपना हुन्छ । तर दुई दिन खेल्यो त्यसपछि के गर्नु ? भविष्य सुनिश्चित छ ?’, मल्लको फेसबुक स्टाटस थियो। उनले नेपालमा फुटबल खेलेर भविष्य पनि नभएको उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले भने बिदा सकिएपछि सुमन र भविन्द्र आइतबार भारततर्फ लागेको बताए । भविन्द्र तीन दिन मात्र बन्द प्रशिक्षणमा सहभागी भएको टिम व्यवस्थापक उपाध्यायले बताए ।

प्रशिक्षक अल्मुताइरीले सामान्य विवादपछि आफूलाई घर जान भनेपछि टिम छाडेको १० खेलाडीले दाबी गरिरहेका छन् । एन्फाले भने जानकारीबेगर खेलाडीहरूले बन्द प्रशिक्षण छाडेको बताउँदै आएको छ । विवादअघि बन्द प्रशिक्षणमा २५ जना खेलाडी थिए । तीमध्ये किरण र देवेन्द्र तामाङ उपस्थित भइसकेका थिएनन् ।

उनीहरू हालसम्म पनि उपस्थित छैनन् । टिमबाट बाहिरिएका खेलाडी नभए पनि नेपाली टोली बनाउने धम्की दिएका अल्मुताइरीले त्यसपछि १७ जना खेलाडी बन्द प्रशिक्षणमा थपेका थिए ।

थपिएका खेलाडीमध्ये गोलरक्षक विकेश कुथु सहभागी भएका छैनन् । सी डिभिजन खेलिरहेका मनिष गाहा मगरले पनि नभ्याएको उपाध्यायले दाबी गरे । टोलीमा रहेकामध्ये गोलरक्षक अभिषेक बराल घाइते छन् । हाल बन्द प्रशिक्षणमा बरालसहित तीन जना गोलरक्षक छन् ।

‘अहिले बन्द प्रशिक्षणमा २६ जना खेलाडी छन् । तीमध्ये बराल घाइते रहेका कारण उनले खेल्ने निश्चित छैन । हामी अर्को गोलरक्षक थप्ने योजना बनाइरहेका छौँ,’ उपाध्यायले भने ।

नेपालले निकट भविष्यमै अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि एसिया कप छनोटअन्तर्गतका खेलहरू खेल्नुपर्ने छ ।

खेलाडीहरूले बन्द प्रशिक्षण छाडेको दुई सातासम्म विवाद समाधान गर्न तत्परता नदेखाएको एन्फाले आइतबार कार्य समिति बैठक बोलाएको छ । राष्ट्रिय टिमबारे छलफल गर्न बैठक बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर