‘गठबन्धनसँग जित्ने बानी परिसक्यो, हामीलाई केही फरक पर्दैन’ – Nepal Press
बुटवल मेयरका एमाले उम्मेदवारसँगको कुराकानी

‘गठबन्धनसँग जित्ने बानी परिसक्यो, हामीलाई केही फरक पर्दैन’

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको प्रमुखको पदमा उम्मेदवार बनेका छन् । २०३२ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भट्टराई अघिल्लो निर्वाचनमा पनि बुटवलको मेयरका लागि अन्तिम दौडमा रहेका थिए । १३ वर्ष हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका उनी पार्टीका नेताहरु भूमिगतकालमा भेट भएपछि जोडिएका हुन् ।

लामो समय व्यवसाय सेक्टरमा रहेर काम गरेका उनी पार्टीको जिल्ला कमिटीहुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका छन् । दुई दशकदेखि बुटवलमा स्थायी बसोबास गर्दै आएका उनले बुटवलको सबै समस्या बुझेको बताएका छन् ।

लामो समय पार्टीको स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेका उनी मतदाताको घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर भएकाले पनि यहाँको जितहार उनको प्रतिष्ठासँग जोडिएको छ । पाँच दलीय गठबन्धनले जसरी पनि एमालेको विरासत तोड्न चाहेकाले यहाँको निर्वाचन रोचक बनेको छ । दुई दशकदेखि बुटवलमा बसेका भट्टराईसँग रामप्रसाद आचार्यले गरेको कुराकानी नेपाल टकमा–

मतदातासँग भोट माग्दै गर्दा कस्तो महसुस भएको छ ?

निकै माया पाएको छु, जितको संघारमा पुगेको महसुुस गरिरहेको छु । औपचारिकता दिन वैशाख ३० गते पर्खिरहेको छु । सिंगो पार्टी पंक्ति एकताबद्ध भएर लागेको छ । व्यवसायी, अन्य मतदाताको उस्तै माया पाएको छु ।

निर्वाचन जित्ने आधार के–के हुन् ?

म त मतदाता र पार्टीको वारिस हुँ । पार्टीको निर्वाचन परिचालन कमिटी र श्रद्धेय नेताहरु, पार्टीको लागि असिनपसिन भएर खट्नुहुने आदरणीय साथीहरु, आफ्नो पार्टीको विजयको अभियानमा तन मनले लाग्नुभएको छ । यो मेरो जित हैन, उहाँहरुको जित हो । नेकपा एमालेको जित हो ।

अनि अनुशासित र विनम्रतापूर्वक गरिएको मतदातामैत्री घरदैलो भेटघाट कार्यक्रममा देखिएको जनसहभागिता र उत्साह यसको उदाहरण हो । यो नै जितमा महत्वपूर्ण आधार हो । मलाई पार्टीभित्रको मात्र होइन अन्य क्षेत्रबाट पनि निकै ठूलो रेस्पोन्स पाएको छु ।

मतदातालाई के योजना सुनाउनुभएको छ ?

मेरो उद्देश्य बुटवललाई आर्थिक राजधानी बनाउनु हो । बुटवल लुम्बिनी प्रदेशको सबभन्दा ठूलो आर्थिक केन्द्र त हुँदै हो । यसलाई पूर्वाधारले युक्त बनाएर संघीय राजधानीपछिको दोस्रो आर्थिक केन्द्र बनाउँछौँ ।

संघीय सरकार र प्रदेश सरकारले पूरा गर्ने अन्तर्राष्ट्रिय सभागृह, प्रदर्शनी केन्द्र, सिद्धबाबा सुरङ मार्ग, पोखरासम्मको सिद्धार्थ राजमार्गको स्तरवृद्धि, नारायणघाट–बुटवल ६ लेनको सडक खण्ड, बुटवल– भालुवाङ् ६ लेन सडक खण्ड, बेल्बास बेथरी सडक, तिनाउ सिङ्नेचर ब्रिज, वसन्तपुर नुवाकोट केबुलकार, रामापिथेकस जियोलोजिकल पार्कलगायत थुप्रै निर्माणधीन संरचनाहरुले बुटवल कस्तो बन्ला ?

बुटवलमा थामी नसक्नु गरी लाखौँ पर्यटकहरु ओइरिन्छन् । भैरहवा एयरपोर्ट, बुटवल बेलहिया सडकले हामीलाई आर्थिक केन्द्रको लागि अनुकूलता दिएको छ । बुटवल पश्चिममा सबैभन्दा बढी आर्थिक कारोबार हुने क्षत्र हो । बुटवल राजधानी त बनिसक्यो । पूर्वाधारले आर्थिक गतिविधिहरु अरु तीव्र रुपमा बढ्छन् । अब व्यवस्थित गर्न बाँकी छ । हामी व्यवस्थित गर्छाै ।

निर्वाचनपछि मतदातालाई उम्मेदवारले वास्ता नगरेका गुनासा आउने गरेका छन् ?

निर्वाचनमा हामीले देखाएको विनयशीलता अन्तिमसम्म देखाउनु पर्छ । सामन्ती चमकदमक र आडम्बर हाम्रो शैली हुन सक्दैन । हामी जनताका वारिस हौँ । मतदाताले हामीलाई बेवारिस बन्न नदिनु होला । आदरणीय मतदाताको निगरानी र नियन्त्रण बलियो बनाउनु पर्छ । सुशासन र पारदर्शिता बलियो बनाउनु पर्छ । लोकतन्त्र संस्थागत होस् । जनता बलियो हुनु नै लोकतन्त्रको विशेषता हो ।

लोकतन्त्रमा सत्ताको वागडोर मतदातामा हुन्छन् । हामी जनताको अंकुशमा छौँ । मन नपरेमा मतदाताले पाँच वर्षमा अंकुशले तानेर मिल्क्याउँछन् । त्यसैले हामी राजा हैनौँ । गणतन्त्रका जनप्रतिनिधि हौँ । म आममतदाताप्रति त्यसमा ढुक्क हुन आग्रह गर्दछु ।

बुटवलमा राजधानी राख्न सक्नुभएन भन्ने आरोप छ नि ?

राजधानी राख्ने, नराख्ने प्रदेशसभाले हो । यो हाम्रो बुताको कुरा हैन । हामी जनता र हाम्रा जनप्रतिनिधिले राजधानी बनाउने इच्छा राखेको साँचो हो । प्रदेशको राजधानी तोक्न निश्चित विधि र प्रक्रिया चाहिन्छ । त्यही विधि प्रक्रियाका आधारमा राजधानी भालुवाङ पुग्यो ।

लोकतन्त्रमा विधिको शासनलाई स्वीकार गरिन्छ । बहुमतलाई मानिन्छ । संघीय सरकारले गरेको निर्णय पनि हैन । त्यो प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने कुरा हो । व्यक्तिभन्दा विधि ठूलो हो । कसले सक्यो कसले सकेन भनेर व्यक्तिलाई विधिभन्दा माथि ठानेर हल्ला मच्याउनु अराजकता हो ।

चौराहा गोलपार्क सडकको विषयमा उपमहानगरपालिकालाई आलोचना छ, कसरी पूरा गर्नुहुन्छ ?

यो सडक संघीय बजेटबाट बन्ने सडक हो । यसमा हाम्रो काम सहजीकरण र समन्वय गर्ने हो । दुई वर्ष त अदालतको स्टे अर्डरले पर धकेलिदियो । अहिले बनिरहेको छ । निर्माणधीन सडकको विषयमा मुद्दा उठाउनु हास्यास्पद हो ।

विकास बटम थिचेर आउँदैन । निश्चित प्रक्रिया र अवधि पूरा गर्नैपर्छ । धैर्य भएर सम्पन्न हुन दिनु प–यो। हामीले यसलाई धूलो हुन नदिने, खाल्डाखुल्डी पुर्ने काममा सहजीकरण र समन्वय गर्नेछौँ । ठेकदारलाई ढिलो गर्न दिदैनौँ । प्रदेश सरकारले पनि सहजीकरण र समन्वय गर्नेछ । अब छिटो काम सम्पन्न गर्ने कुरामा हामी लाग्छौँ ।

कालिका पथ र यो सडक बनेपछि बुटवलको मुहारै फेरिन्छ । आगामी ५ वर्षमा त हामीले कालोपत्रे भ्याउन सक्ने सम्भावना छ । यो नेपालकै नमूना सहर बन्छ । यसको लागि पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलजस्ता सङ्घीय साँसद पाएका छौँ । बुटवल मात्र हैन सिङ्गो रुपन्देही उहाँप्रति ऋणी छ । अरु बुटवलमा सयौं परियोजना बनेका छन् । ती कामको फेयरिस्त दिन यो छोटो संवादमा सम्भव छैन ।

जितेपछिका के–के योजना छन् ?

हाम्रा थुप्रै योजना छन् । हामीले घरदैलोमा प्रतिबद्धतापत्र दिएका छौँ । हामी त्यसै अनुसार बुटवललाई स्वर्ग बनाउँछौँ । हामी भाग्यभन्दा कर्ममा विश्वास गर्छाैँ । मिहिनेतले स्वर्ग बनाउने हो । बुटवल नेपालकै नमुना सहर बन्छ । यसमा ढुक्क हुनुस् । हामी बुटवलका विकासका लागि आर्थिक विज्ञहरुको टिम बनाएर अघि जान्छौँ ।

प्रतिस्पर्धीहरुलाई के भन्नुहुन्छ ?

प्रतिस्पर्धी, प्रतिपक्ष सत्तापक्षकै अभिन्न अङ्ग हो । पक्ष प्रतिपक्षबीच विकासमा एकता र विचारमा संघर्ष रहिरहन्छ । हामी गालीको राजनीति गर्दैनौँ । प्रतिपक्षले गाली हैन,सत्ता पक्षको शिष्ट आलोचना र सम्यक समीक्षा त गर्नैपर्छ । तर बुटवलकै प्रतिपक्षले शैली पूरै फेर्नुपर्छ । एकता र संघर्षको वैज्ञानिक विधिमा आउनु पर्छ ।

अहिले बुटवलको प्रतिपक्ष मुद्दा नपाएर निर्माणधीन सडकको मुद्दा उठाउँदैछ । एमाले सरकारले लालपुर्जा दिन ठिक्क पारेको कामलाई आयोग विघटन गरेर महिनौ होल्डमा राखेर एमालेविरुद्ध लालपुर्जा दिएन भनेर चिच्याउँदैछ । एमाले सरकार रहेको भए २० हजार अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई आजसम्म ढुक्कसँग हात हातमा लालपुर्जा दिइसक्थ्यौँ । अबको हाम्रो पहिलो काम यही हो ।

निर्वाचनमा खर्च कसरी चलाउनु भएको छ ?

योपटक प्रचारप्रसारको छोटो अवधि भएको हुनाले खर्च स्वतः कम भयो । निर्वाचन आयोगले निकै राम्रो काम गरेको छ । अनि नेकपा एमाले बुटवल उपमहानगर कमिटीले योपटक मितव्ययी निर्वाचनको पाठ सिकाउने छ । जमाना फेरिएको छ । अब मत किन्नु एकादेशको कथा बन्न सक्छ । आशा छ, त्यो जमाना छिट्टो आओस् ।

आजभोलि मतदाताहरु धेरै अगाडि हुनुहुन्छ । मत किन्नु भ्रष्टाचार हो । अभियानमा अति खट्ने साथीहरुले समान्य दाल भात तरकारीले चलाएका छौँ । आचारसँहिता पालन गर्न निर्वाचन आयोगले मात्र हैन यो पटक त हामीलाई आदरणीय नेताहरुले पनि बारम्बार निर्देशन र खबरदारी गरिरहनु भएको छ । समाज सभ्य बन्दैछ । पहिलाको तुलनामा शान्तिपूर्ण पनि बन्दै गइरहेको छ । समाज रुपान्तरण हुन्छ । समाजले अब के गरिदै थियो हैन, के गर्नुपर्ला भनेर सोच्दैछ । मुलुक बदलिन्छ ।

तपाइँको आलोचना गर्नेहरु स्वभाव अलि कम बोल्ने भएको कारण बाबुराम अन्तरमुखी भन्छन् नि ?

हो, म कम बोल्छु । दुईटा कानले १० मिनेट सुन्छु, एउटा मुखले ५ मिनेट उत्तर दिन्छु । यो मेरो स्वभाव हो । यस्तो गर्दा सेवाग्रहीमाथि मानसिक दबाब पर्दैन । स्वास्थ क्षेत्रमा रहँदा यो बानी पर्यो ।

तत्कालीन र दीर्घकालीन योजना के बनाउनुभएको छ ?

दीर्घकालीन योजना के नेपालको मध्यबिन्दु र आर्थिक राजधानी हो बुटवल । बुटवलमा अहिले जति पनि विकास निर्माणका कामहरू भएका छन्, केही पूरा हुने क्रममै छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजना पूरा गर्ने पहिलो काम हाम्रो हुनेछ ।

अहिले हाम्रो संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारका कुराहरू र विकास निर्माणका कामलाई हामीले बढी ध्यान दिनेछौं । बुटवल पर्यटकीय क्षेत्र पनि हो । बुटवलको सबैभन्दा ऐतिहासिक ठाउँ जीतगढी किल्ला जहाँ अंग्रेज पनि आएर हारेको ठाउँ हो ।

कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा अगाडि बढाउछौं । कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको ठाउँनजिकै गढी टोल भन्ने छ । त्यहाँ धेरै कामहरू भएको छ । त्यसलाई पनि हामीले विकासको रूपमा हेरिरहेका छौं । अहिले जुन कामहरू भइराखेका छन्, अटोभिलेजदेखि लिएर ढुवानी ग्राम लगायतका कामहरूलाई निरन्तरता दिएर तिनलाई अझै विकास गर्दै लैजान्छौं ।

प्रदेशको सबैभन्दा ठूलो अस्पताल यहीँ छ । अस्पताल बनाउन नेकपा एमालेकै कार्यकालमा प्रदेश सरकारले बजेट छुट्याइसकेको छ । विशिष्ट सेवासहितको दश तले अस्पताल बन्दैछ । त्यो अस्पतालको टेन्डर गर्दा अहिलेका मुख्यमन्त्रीले आर्थिक प्रलोभनमा परेर एक डेढ अबको हिनामिना गर्न थाल्नुभएको थियो । उहाँहरूले नै नियुक्त गर्नुभएका सीईओले बाध्य भएर राजीनामा दिनुभयो ।

यस्ता कामहरूलाई रोक्न हामीले खबरदारी गर्नुपर्नेरहेछ भन्ने हामीले महशुश गरेका छौं । अन्य विकास निर्माणका कामहरू यहाँको कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्दैछौं । त्यस्तै पुरानो बटौलीलाई पौराणिक खालको बजारको रूपमा विस्तार गर्दैछौं । त्यहाँ पुराना कस्ता खालका घरहरू थिए, त्यही अनुसारको नक्सांकन गरेर नगरपालिकाले नक्सा पास गर्दा पैसा नलिने व्यवस्था बनाउँछौं । पुराना चिजहरू पाइने नाइट मार्केट बनाउने हामीले सोचेका छौं ।

एमालेविरुद्ध ५ दलको चुनावी प्रतिस्पर्धामा छ । कसरी जित्न सकिने दाबी गर्नुहुन्छ ?

गठबन्धनले बुटवललाई केही प्रभाव पार्दैन । तत्कालीन नेकपा भइसकेपछि नेकपा एमाले र माओवादी एक बन्यो । नेकपा विभाजन भएर एमाले र माओवादी भएपछि जति माओवादी साथीहरू हुनुहुन्थ्यो, त्यसको ८० प्रतिशत साथीहरू एमालेमा हुनुहुन्छ । पहिले बस्दा ६० प्रतिशत बस्नुभएको थियो । अरू २० प्रतिशत अहिलेसम्म प्रवेश गरी थपिनुभएको छ ।

पार्टी फुट्यो नेकपा एकीकृत समाजवादी भयो भन्नुहोला । एसमा जति जानुभएको छ, त्यसको दोब्बर तेब्बर माओवादीको साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले हामीलाई मतको हिसाबले फरक पर्दैन । अर्को कुरा के छ भने माओवादी मजबुत हुँदा खेरी २०७४ मा राष्ट्रिय जनमुक्ति, कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यो गठबन्धनलाई पनि हामीले एक्लै जितेको हो ।

अहिले के छ भन्दाखेरी जनमुक्तिका साथीहरूलाई केही सदस्य दिएर हामीले पनि गठबन्धनको रूपमा अगाडि बढेका छौं । उहाँहरूको भोट पनि थपिँदा हाम्रो अझै राम्रो हुन्छ । हामी त्यसै मजबुत छौं, त्यसमा जनमुक्ति थपिँदा हामीलाई सुनमा सुगन्ध हुन्छ । त्यसैले यहाँ हामी डराउनुपर्ने कुरा केही पनि छैन ।

तपाईंलाई कसको बलमा टिकट पाएजस्तो लाग्छ ?

म पार्टीको इमान्दार सिपाही हुँ । सबै अग्रज नेताहरुले मलाई माया गर्नुहुन्छ । यो विष्णु पौडेलको क्षेत्र भएकाले उहाँले नै धेरै जोड गर्नुभयोजस्तो लाग्छ मलाई । उहाँसँगको सम्बन्ध धेरै पुरानो हो । उहाँले यो कस्तो हो भन्ने कुरा पनि जान्नुभएको थियो । र महासचिव शंकर पोखरेलले पनि जान्नुभएको थियो । केपी कमरेडसँग त मजस्ता हजारौं कार्यकर्ता छन् । ओलीले हाम्रो घरमा सेल्टर हुँदा चिन्नुभएको थियो । त्यो दुईचार पटकको भेट न हो तर उहाँले अहिले पनि सम्झनु हुँदोरहेछ । उहाँले पनि अरूसँग बुझिराख्नुभएको होला । त्यसैगरी सचिव तथा प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, अन्य सबै सिनियर नेताहरुको मलाई उस्तै माया छ ।

अन्तिममा मतदातालाई के भन्न चाहनुहुन्छ ?

समृद्ध बुटवलको योजना हामीसँग छ । बुटवल र बुटवलवासीको भविश्य बनाउन हामीलाई मतदान गर्नुस् । यो हाम्रो बिगतले बताएको छ । केही योजना पूरा भएका छन्, केही प्रकृयामा छन् बाँकी रहेका योजना पूरा गर्छाै । नयाँ योजना कार्यान्वयन गर्छाैँ । यसको लागि हामी यसअघिका जनप्रतिनिधिहरुले बनाएको बाटोमा हिँड्ने प्रण गर्छाैं । उहाँहरुबाट अनुभव लिन्छौँ ।

पार्टीले र आर्थिक विज्ञ टिमले तयार गरेको प्रतिबद्धतापत्रमा टेकेर लक्षमा पुग्छौँ । मानव संसाधनको विकास र भौतिक विकास दुबै गर्छाै । ढुक्क हुनुस् । हामीलाई मतदान गरेर भोलि पछुताउनु पर्ने छैन । स्वाभिमान मतदाताको शिर निहुराउन दिनेछैनौँ । हामी इमान्दार रहनेछौँ । ५ वर्षमा समाजवादको आभास दिन्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर