सदन खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्छः प्रचण्ड (भिडिओ) – Nepal Press

सदन खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्छः प्रचण्ड (भिडिओ)

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेले गरिरहेको संसद अवरोध खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्ने बताएका छन् ।

जनकपुर उपहानगरपालिकामा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले अवरोध गरेकै कारण विधेयक अगाडि बढ्न नसकेको बताए ।

‘नागरिकताको समस्या मधेसमा सबैभन्दा चर्को रुपमा अगाडि छ । यसका लागि सदन चल्न अनिवार्य छ । एमाले गुटले अवरोध गरेकै कारण विधेयक अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘अब सदन खुल्नासाथ नागरिकता विधेयक अगाडि बढ्छ ।’

यदि संसद अवरोध अन्त्य नभए अर्को सदनमा विधेयक अगाडि जसरी पनि बढ्ने उनले बताए । ‘मैले प्रधानमन्त्रीजीसँग कुरा गरिसकेको छु । सदन अवरोध भइरहे पनि अर्को संसदमा जसरी पनि विधेयक अगाडि बढाउनुपर्छ । मधेसी जनताको अधिकारका पक्षमा गठबन्धन प्रतिबद्ध छ’, उनले भने ।

गठबन्धन गरेर पाँचवटै दलले राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिको नयाँ युगमा जाने प्रयत्न गरिरहेको उनले बताए । प्रचण्डले भने, ‘अहिले भइरहेको स्थानीय तह निर्वाचन । त्यसपछि आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगामीलाई विजयी हुन नदिने संकल्प गरेका छौं । त्यसपछि विकास र समृद्धिको युगमा प्रवेश गर्छौं ।’

गठबन्धन दलहरू लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रको स्थायित्वको लागि वर्षौंवर्षसम्म गठबन्धन लैजाने दिशामा अघि बढेको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर