श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने – Nepal Press

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिने तयारी गरेका छन् ।

देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदैँ गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनीनिकट श्रोतहरूले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको छ ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदैँ जाने देखेर उनले राजीनामा दिने तयारी गरेको बताइएको छ ।

आन्दोलन चर्किदैँ गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएको जनाइएको छ ।

देशमा आर्थिक सङ्कट उत्पन्न भएपछि महङ्गी र अभाव बढेको थियो । महङ्गी र अभावबाट आक्रोशित जनताले आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनपछि सरकारले त्यतिबेला पनि सङ्कटकाल लगाएको थियो । आन्दोलनकारीहरूले सरकारलाई वर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री बाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सृजना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर