धनगढीमा आरजुले भनिन्- मलाई हराउन सूर्यमा भोट हाल्न हुने, हँसिया हतौडामा हाल्न नहुने ? – Nepal Press

धनगढीमा आरजुले भनिन्- मलाई हराउन सूर्यमा भोट हाल्न हुने, हँसिया हतौडामा हाल्न नहुने ?

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न धनगढीवासीलाई आह्वान गरेकी छन् ।

धनगढी उपमहानगरपालिकामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले विभिन्न खाले नाटक छाडेर गठबन्धनमै मतदान गर्न यस्तो आह्वान गरेकी हुन् ।

धनगढीमा उपमेयर माओवादी केन्द्रलाई दिएर असन्तुष्ट रहेका कांग्रेस कार्यकर्ताहरूलाई समेत उनले नाटक छाडेर गठबन्धनमै रहेर मतदान गर्न आग्रह गरिन् ।

‘कति जना भन्छन् रे, मेरो हातले हँसिया हतौडामा भोट कसरी हाल्ने ? मेरो हात काँप्छ,’ उनले भनिन्,‘त्यस्ता ड्रामाको कुरा नगरौँ । यही सहरमा मलाई नहालेर सूर्यमा भोट हालेर मलाई हराएका मान्छेहरू पनि यही सहरका हुन् । त्यो बेलामा त यस्तो ड्रामा गरेका थिएनन् । अहिले किन गर्ने ?’

केन्द्रीय सदस्य देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धनगढीमा कांग्रेस जितेकै कारण कुनै योजना नपरेको दाबी पनि गरिन ।

उनले भनिन्, ‘आफ्नो एरियामा अरबका भ्यु टावर हाल्दा धनगढीमा कांग्रेस जितेकाले एक फुटेको कौडी पनि आएन । भ्यु टावरबाट देखिने त आखिर केही रहेनछ ।’

त्यो पैसाले धनगढीमा रोड, पुलपुलेसा लगायत मनग्य कामहरू बन्ने अवस्था रहेको उनले बताइन् । ‘कति काम हुन्थ्यो । तर एक पैसा यहाँ दिने हिम्मत भएन । धनगढीबाट जितेका सांसदले पनि एक पैसा ल्याउन सकेनन्,’ उनले भनिन् ।

एमालेले काम नगरेर तीन वर्ष बिताएको दाबी गर्दै धनगढीमा मेयर नृप वडले कम बजेटमा धेरै काम गरेको दाबी गरिन् ।

‘काम नगरेर तीन वर्ष बिताउने पार्टी हेर्नुहुन्छ की कम पैसामा भए नि धेरै काम गर्ने पार्टी हेर्नुहुन्छ ?,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर