कालिम्पोङका कवि, जो काठमाडौंमा भेटिए – Nepal Press

कालिम्पोङका कवि, जो काठमाडौंमा भेटिए

काठमाडाैं । कवि मनोज बोगटी कालिम्पोङमा बस्छन् । त्यतैका माटोको सुगन्धमा कविताको बीउ रोप्छन् । त्यतैका मानिसका अनुहारमा कविताको रङ र उज्यालो खोज्छन् । त्यतैका खोँचहरुबाट दुःखका अनन्त सुस्केराहरु जम्मा पार्छन् । त्यतैका पहाडहरुबाट संघर्षका चमचमाउँदा विम्ब र प्रतीकहरु कवितामा उन्छन् । त्यतैका गोरेटाहरुमा जीवनको सहजता र असहजताका पदचापहरु पहिल्याउँछन् ।

बेलाबेला दार्जिलिङ आइपुग्छन् केही थान कविताका पंक्तिहरु बोकेर । त्यतैका स्रोताहरुलाई सुनाउँछन् । बेलाबेला काठमाडौं आइपुग्छन्, काठमाडौंका स्रोताहरुलाई कविताको कोसेली पस्कन्छन् । बेलाबेला पत्रिका र अनलाइनमा झुल्कन्छन्, त्यहाँ पनि कवितै बोकेर झुल्किन्छन् अथवा कला साहित्यको विमर्शसित आइपुग्छन् ।

बोगटीले कोहीसँग सबैभन्दा कलात्मक र सुन्दर तवरले संवाद गर्छन् भने त्यो कविता नै हो । कुनै भूगोलको नक्सा निकाल्नुपर्‍यो, उनलाई कविताबाटै सहज लाग्छ । कुनै फरक संस्कृतिबारे थाहा पाउनुपर्‍यो, उनलाई कवितै सहज लाग्छ । कुनै क्रान्तिले ओतप्रोत भएको मान्छेको अनुहार पढ्नुपर्‍यो या कुनै युद्धले विभत्स बनाएको मानिसको सपनालाई छाम्नुपर्‍यो, सबैभन्दा पहिला कविता नै खोज्छन् बोगटी ।

कविताकै माध्यमबाट उथलपुथल, जीवन संकट पढ्छन् । भूमि, इतिहास, संस्कृति, भाषा, समाज कवितामा कसरी रिफ्लेक्ट भएर आयो, कवितामार्फत् नै बुझ्ने यत्न गर्छन् ।

इराकका एक कवि छन्, सिनान अन्तानु । ती कविको एक कविता छ,

रगतमा चोबिरहेको ब्रस उठाएँ
र बनाएँ भित्तामा खिड्की
खिड्कीबाट दुईवटा दृश्य देखेँ
एउटा – युद्ध
अर्को – आमा

आमा कफन बुनिरहेकी थिइन्
पेटको बच्चाको निम्ति ।

बोगटी भन्छन्, ‘त्यहाँ युद्ध भयो । युद्धले समाजलाई कुन दिशातिर लग्यो, यो कविताले भन्छ । आमालाई जसरी पोट्रेट गरेको छ, त्यसले भन्छ, सन्तान जन्माएर पनि के काम युद्धको बीचमा ! युद्धले त विध्वंसमात्रै गर्छ । बाँच्नलायक समाज निर्माणका लागि युद्ध बाधक बनिरहेको छ । यो कवितामार्फत् मैले बगदाद देखेँ, नेपाल पनि कवितामार्फत् यसरी नै हेर्छु ।’

पाठकसम्म पुग्न अथवा पाठकसँग संवाद गर्न बोगटीसँग ‘विम्ब गोष्टी’, ‘गीतको रिस’, ‘काफरे अमेरिका’ लगायत कविता संग्रह छन् । ‘लाइफ अफ बटरफ्लाइ’ कथा संग्रह छ । भेटै नभएका पाठकहरु ती पुस्तकमार्फत् नै बोगटीसँग भेटिन्छन् ।

अहिले नेपालमा स्थानीय तह चुनावको सरगर्मी छ । नेताहरुबीच आरोप–प्रत्यारोपको श्रृंखला जारी छ । जित–हारको हिसाबकिताब जारी छ । अनुमान, आँकलन, भविष्यवाणीहरु नेपालको हरेक चिया–पसलदेखि दारु–पसलसम्म छ्यापछ्याप्ती छन् । उता बोगटीको दार्जिलिङ–कालिम्पोङतिर पनि चुनाव आउँदैछ । त्यहाँ पनि चुनावको सरदर परिवेश यस्तै नै हुने बोगटीको भनाइ छ ।

बोगटी स्वयं सामाजिक सञ्जालमा राजनीतिक टिप्पणीहरु राखिरहेका हुन्छन् । सञ्जालमा बोगटीले राख्ने राजनीतिक टिप्पणीहरुसँगै उनको सृजनात्मक लेखन पनि चलिरहेकै छ । मुम्बईका लेखक अनिल यादवको ‘गौसेवक’ नामक पुस्तकको अनुवाद ‘धामा चेरो’ सकेका छन् । आफ्नै निबन्ध संग्रहको तयारीमा जुटेका छन् । तर भन्छन्, ‘मैले कविता लेख्न चाहिँ छाडेँ । कविता लेख्न छाडेको ६÷७ वर्ष नै भयो ।’

कविताकै माध्यमबाट पाठकहरुमा चिनिएका बोगटीले कविता लेख्न छाडेँ भन्दा एकदमै असुहाउँदो लाग्ने ! नयाँ कविता लेख्न नसकिरहेका कविहरु आफू हराइने डरले ‘नयाँ लेखिरहेको छु’ भनेर ढाँट्न छाड्दैनन् । तर, बोगटी भने हाकाहाकी भनिदिन्छन्, ‘लेख्न छाडेँ ।’

कविता लेख्न छाड्नुमा बोगटीको आफ्नै खाले तर्क छन् । भन्छन्, ‘लेख्न छाडेँ भनेको चाहिँ मेरै लेखनमा विषयवस्तुको उठानप्रति नयाँ केही आएन । अहिले त कविता नै म¥यो भन्ने लागिरहेको छ । विम्बको उही पुनरावृत्ति, ब्याकग्राउण्ड पनि उस्तै, शैली र लय पनि त्यही । अनि एउटै कुरा अनेक कवितामा घरिघरि किन दिइरहने ? नयाँ कुरा आएपछि लेख्ने हो नि !’

बोगटीले यसो भनिरहँदा उनी स्वयं भने कुनै समय हरेक दुई–दुई वर्षमा नयाँ कविता संग्रह ल्याउने कविमा पर्थे । सुरुमा ‘विम्ब गोष्टी’ ल्याए । त्यो कविता संग्रह दार्जिलिङमा चलेका कविहरुको कविता पढेर सिकेका कविताहरुको किताब भनेर स्वीकार्छन् ।

अर्को कविता संग्रह ल्याए ‘गीतको रिस’ । अघिल्लो कविता संग्रहभन्दा फरक थियो । योबीचमा अन्य कविता–किताब पनि ल्याए । र अन्तमा ल्याए, ‘काफरे अमेरिका’ । यस किताबपछि बोगटीले कविता संग्रह ल्याएका छैनन् ।

कवि बोगटी कुराकानीका क्रममा खुल्दै जान्छन्, ‘पहिलो संग्रह निकालेपछि अर्को संग्रहमा जान अलि गम्भीर हुनुपर्ने रहेछ । अन्य कविहरुले कस्तो लेखिरहेका छन् भनेर पढ्नुपर्ने उत्तरदायित्व बढ्नेरहेछ । हरेक कविता संग्रह फरक–फरक हुनुपर्दोरहेछ । मैले कविता लेखेपछि अरुकै जस्तो लेख्ने कि मेरै जस्तो लेख्ने ? विम्ब, विषय उठान, दृष्टिकोणमा फरक हुनुप¥यो । यतातिर मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारीहरु बलिया कविहरु हुन्, उनीहरुको फरक पहिचान यसै बनेको छैन । अलिकति फरक हुने कसरत कविले गर्दोरहेछ । अनि त्यसको अनुसन्धानमा लागिँदोरहेछ ।’

बोगटी स्वयंले भने झैं उनले आफ्ना कविता संग्रहमा पनि फरक–फरक तौरतरिकाले आफूलाई अभिव्यक्त गरे । अन्तमा ‘काफरे अमेरिका’मा आइपुगेपछि भने त्यसको दायरा बढेको बताउँछन् । यही कविता–किताबमै बोगटीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दाहरुलाई छोए । जीवन र समाजको बनोटहरुलाई छोए । विभेद र अन्यायमा पारिएका भूइँमान्छेहरुलाई छोए । अन्य विविध विषयलाई समेटे । अब यहाँ आइसकेपछि के गर्ने ? कसरी फरक तरिकाले लेख्ने ?

बोगटी भन्छन्, ‘मैले फेरि त्यस्तै कविता लेखिरहने कि ? कविता कनीकनी लेख्ने कुरा पनि होइन होला । जब कुनै विषयबाट उद्वेलित होइँदैन, सम्भवतः कविता लेख्ने कुरै आउँदैन होला । लेख्दै जाँदा विषयवस्तुलाई बुझ्ने प्रणालीमा, दृष्टिकोणमा फरक आउँदोरहेछ । अलि अध्ययनशील हुने परिवेश बन्दोरहेछ ।’

यसपछि बोगटीले अध्ययनलाई पनि बढाए । नेपाली र हिन्दी भाषी कविहरुलाई पढे । झारखण्डका कवि जेसिन्ता केरकेटालाई बोगटीले सोधे, ‘तिमी कवितामा आदिवासीदेखि बाहिरै जाँदैनौं, किन ?’
भर्खरै ‘ईश्वर और बजार’ नामक कविता संग्रह ल्याएकी उसले बोगटीलाई भनेका थिए, ‘म जे हुँ, त्यो दायरादेखि बाहिर गएर मान्छेलाई किन अलमल्याउने ? हामीले हाम्रै विषयवस्तु लेखिसकेका छैनौं । उत्खनन् गरिरहेका छौं । कविता भन्ने पारम्परिक शैलीबाट बाहिर निस्केर नयाँ शैलीको खोजी गरिरहेका छौं । मैले कविता लिएर मूलधारमा जाँदा मेरो माटोकै गन्धसितको कविता लिएर गइनँ भने ढाँटेको जस्तो लाग्छ ।’

केरकेटाको प्रसंगपछि बोगटी भन्छन्, ‘हामीले चाहिँ के गरिरहेका छौं होला त ? हाम्रो अनुहारलाई कवितामा ल्यायौं कि ल्याएनौं ? पुनव्र्याख्या पनि गर्नुपर्छ होला । इतिहासलाई खोतल्नुपर्छ । नत्र लेखेरमात्रै के गर्ने र ?’

तर, जसरी लेखे पनि फरक तरिकाले लेख्नुपर्ने तर्कबाट टसमस छैनन् बोगटी । प्रभावकारी तवरले भन्न फरक लेख्नैपर्ने अडान राख्छन् । भन्छन्, ‘प्रभावकारी तरिकाले भन्न नसकिने चिजलाई कवितामा किन प्रयोग गरिरहने ? कविहरु सानो सानो चिजबाट बढी प्रभावित बन्छन् । तर, भन्दाखेरि चाहिँ फरक तरिकाले नै भन्ने होला । मनप्रसाद सुब्बाले एउटा समयलाई लेख्दै गर्दा त्यस्तै तरिकाले लेखेर कविताको नाममा कविता गरेर हुँदैन । कविहरु अलग किसिमले अगाडि जानुपर्छ ।’

पछिल्लो समय मुद्दाहरुको थाक छन् । चाहे अदालतमा होऊन् । चाहे कुनै नेताको मुखमा होऊन् । चाहे एनजीओ, आईएनजीओमा दौडेर घरको चुल्हो बाल्नेहरुको एजेन्डामा होऊन् अथवा चाहे कविहरुको कवितामै किन नहोऊन्, मुद्दाहरुको थाक छन् । मुद्दासँगै प्रोजेक्टहरुको लर्को छ । कमाउनेले कमाएका छन्, बनाउनेले बनाएका छन् । तर, कविहरुले चाहिँ कवितामा प्रोजेक्ट लेख्ने कि कविता ?

बोगटी जिज्ञासा राख्छन्, ‘कविहरु प्रोजेक्ट बेस्ड काम गरिरहेका छन् । कविता प्रोजेक्ट हो कि होइन होला !’

‘प्रोजेक्ट’ भनेर भनिरहे पनि बोगटीले कविता नलेखी त बस्न नसक्लान् !
बोगटी सुनाउँछन्, ‘कविता नलेखी त बस्न सकिँदैन । तर, कविता लेखिसकेपछि अघिल्ला कविताजस्तै अर्को कविताको उत्पादन के गरिरहने ? वस्तु बनाएजस्तो कसरी गरिरहने ? म त भन्छु, जबरजस्ती कनेर नलेखौं, आएन भने छाडौं । मलाई चाहिँ सधैं कवि भइरहनु छैन । कवि त्यस्तो कुनै जागिर पनि होइन, सधैं गरिरहनुपर्ने । मलाई लाग्छ, कुनै नयाँ चिज आयो, छोयो र नयाँ तरिकाले भन्न सकियो भने लेखुँ । अभिव्यक्तिको नयाँ शैली र भाष्यको खोजी गरुँ ।’

– तर, सधैं सृजनशील भइरहन पनि सकिँदैन होला नि ? सृजनशीलता, उर्बरताको पनि समय हुन्छ होला नि ?

‘गाडी हुनासाथ कुदिहाल्नुपर्छ भन्ने हुँदैन । त्यस्तै सृजना पनि सकेकोसम्म गर्ने भन्ने हुँदोरहेछ । आखिरमा सृजना भनेको माइन्डसेटकै कुरा हो । अध्ययन, विचार गर्ने शैली, तरिका, अब्जर्भ गर्ने क्षमताले सृजनालाई बलियो बनाउने हो । एक समय सुुरुवातमा लेखकहरुले धेरैकुरा लेखिरहेका हुन्छन् । धेरै बूढाहरुले पनि लेखिरहेका हुन्छन् । तर, सधैं उर्बर अथवा सृजनशील अवस्थामात्रै खोजिरहनु हुँदैन । गृष्म ऋतुमा पनि वसन्त ऋतु खोजिरहने होइन होला । सृजना भनेको लेखिरहनुपर्छ भन्ने हुँदैन । मैले ग्याप गर्न सक्छु । यसो गर्दा मेरो सृजनाभूमि उर्बर हुँदैन भन्ने होइन । खेती गर्ने अझै राम्रो प्रणालीको खोजी हो । लेखनका लागि बिज उमार्न बनाइरहेको भूमि हो । त्यसले कुनै न कुनै दिन त फल दिन्छ नै ।’

बोगटी पहिलाबाटै कथा लेख्थे । ‘लाइफ अफ बटरफ्लाइ’ कथा संग्रह ल्याए । कविता लेख्नुभन्दा अघि नै सिलगुडीबाट छापिने पत्रिका ‘आजभोलि’मा उनको कथा छापिएको थियो । तर, दार्जिलिङमा भने कविताको माहोल थियो । कुनै कार्यक्रम वा सांस्कृतिक माहोलमा कविहरुले कविता भनेकै हुन्थे । त्यही माहोलको प्रभावले कवितामा तानिएको बताउँछन् बोगटी ।

पछिल्लो समय आख्यान लेखिरहेका थिए । तर, लेखनलाई स्थगित गरिदिए । कारण भन्छन्, ‘पछिल्लो समय सबै गोर्खा आन्दोलनतिर लागे । फातसुङ, फुलांगेलगायत थुप्रो किताबहरु आए । सबैको पृष्ठभूमि आन्दोलनमै छ । अनि त्यही किसिमको कथा बढी होला कि भनेर आख्यानलाई स्थगित गरेको छु ।’

– आफूलाई अभिव्यक्त गर्न फिक्सन कि कविता सहज ?

सजिलो त कविता हुन्छ । कवितामार्फत् नै सबैथोक चाहिँ भन्न सकिँदैन । कवितामार्फत् भन्न नसकेको कुरा कथामार्फत् भन्छु । विषयवस्तुको मागको कुरा पनि आउँछ । कविताले माग्ने विषयवस्तु छ भने त्यहीअनुसार, छैन भने कथामार्फत् ।

– अनि दार्जिलिङतिरबाट हेर्दा नेपालको समकालीन कविता कस्तो देखिन्छ ?

नेपालको दश वर्षे क्रान्तिको प्रभावले एकजना कविलाई मात्रै छोएन होला । सबैलाई छोयो होला । त्यो समयलाई जब लेख्नुपर्ने हुन्छ, सबैले आ–आफ्नै तरिकाले लेख्ने हो । स्वप्नील स्मृतिले अभिव्यक्त गरिरहेको तरिकाभन्दा अर्को कविले छुट्टै तरिकाले भन्नुपर्ने कुरा महत्वपूर्ण हुँदोरहेछ कवितामा ।

द्वन्द्वकालमा लेखिएका कविताहरु एक समय धेरै प्रभावकारी भए । जब द्वन्द्वकाल सकिएर केही समय बित्यो, कविहरुले अनुभूति गर्ने, समाजलाई हेर्ने दृष्टिकोण अर्कोतिर गयो । अब कविता त्यही ढंगको आउनुपर्ने हो, त्यो आइरहेको छैन । सबैभन्दा पहिला कविलाई समाजले प्रभाव पार्नुपर्ने रहेछ । प्रभाव पारेपछि त्यसको तरंगलाई कसरी अभिव्यक्त गर्ने भन्ने हो ।

द्वन्द्वकालपछि त्यसको प्रभावमा संकटलाई सम्बोधन गर्न सबै कवि लागिपरेका थिए । नेपालका कविहरुले विषयवस्तुलाई बेजोडसँग उठाइरहेको लाग्थ्यो ।

पछिल्लो समय चाहिँ समाज त्यही रहेन । लोकतन्त्र र जीवनको बीचमा तारतम्य भयो कि भएन ! जीवन, समाजलाई हेर्ने दृष्टिकोण कस्तो बन्यो ! यी विषयलाई परख गर्ने खालको कविता आएका छैनन् । कविहरु स्लो धारमा बगिरहेका छन् । लोकतन्त्र मजाले संस्थागत भएपछि आउँछ होला । अहिले दार्जिलिङतिर पनि नयाँ कविहरु फरक ढंगले जानुपर्छ भन्ने विस्तारै भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.