धनगढीमा त्रिपक्षीय भिडन्त: सबै भन्छन्- हाम्रो जित सुनिश्चित – Nepal Press

धनगढीमा त्रिपक्षीय भिडन्त: सबै भन्छन्- हाम्रो जित सुनिश्चित

कैलाली । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा निर्वाचनको सरगर्मी बढेको छ । यहाँ गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर बड र उपप्रमुखमा माओवादीकी शान्ति अधिकारी चुनावी दौडमा छन् ।

एमालेबाट प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना चुनावी दौडमा छन् । स्वतन्त्रबाट गोपाल हमाल प्रमुख उम्मेदवार छन् । कांग्रेसका नेता प्रभाकर भण्डारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको थियो । प्रमुखमा नृपबहादुर बडले १४ हजार ३२४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए । अहिले दुवै जना फेरि आमनेसामने भएका छन् ।

अघिल्लो निर्वाचनमा तेस्रो भएको माओवादी केन्द्रका रामसमझ राना अहिले माओवादीमा छैनन् । उनले १० हजार २०९ मत ल्याएका थिए । उनी अहिले कांग्रेसका जिल्ला सहसचिव छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले चौथो स्थानमा थियो । एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत पाएका थिए ।

प्रमुखमा चौथो भएको एमाले उपप्रमुखमा दोस्रो भएको थियो । १७ हजार ४०८ मत ल्याएर कांग्रेसकी सुशीला मिश्र भट्ट उपप्रमुखमा विजयी भइन् । एमालेकी उम्मेदवार १२ हजार ७६३ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी शान्ति अधिकारी १० हजार २५३ मत ल्याएर तेस्रो भएकी थिइन् । अधिकारीले यसपटक गठबन्धनको तर्फबाट पुनः उपप्रमुख उम्मेदवार छिन् ।

अघिल्लो पटक विजयी भएको कांग्रेस यस पटक पनि आफूहरु निर्वाचित हुने दावी गर्छ । अघिल्लो पटक दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार हमाल पनि यसपटक आफूले बाजी मार्ने बताउन चुकेका छैनन् ।

२०५४ साल फर्काउने रणनीतिमा एमाले

अघिल्लो निर्वाचनमा प्रमुखमा चौथो र उपप्रमुखमा दोस्रो एमालेले यस पटक २०५४ साल फर्काइने बताएको छ ।

२०५४ सालमा धनगढीमा एमालेका प्रमुख र उपप्रमुखमा विजयी भएका थिए । प्रमुखमा खेमराज पाण्डे र उपप्रमुखमा नारदमुनि राना निर्वाचित भएका थिए । त्यो बेलामा अधिकांश वडा एमालेले जितेको तत्कालीन मेयर पाण्डे सम्झन्छन् । ‘यस पटक पनि हामी २०५४ कै नतिजा फर्काउने गरी लागिरहेका छौं’ उनले भने, ‘हाम्रा उम्मेदवार र उनीहरूको योजनाका कारण मतदाताले धनगढीमा एमाले रोज्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।’

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायको धनगढीमा बाक्लो उपस्थिति रहेको छ । यसअघि २०४९ र २०५४ मा राना समुदायकै उपप्रमुख भएका थिए । एमालेका नेता नारदमुनि राना यहीबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवकि पत्नि आरजु राणा देउवालाई हराएर प्रतिनिधिसभा सदस्य भएका हुन् ।

अहिले एमालेले उपप्रमुखमा राना समुदायबाटै कन्दकला रानालाई उम्मेदवार बनाएको छ। यसले पनि जित सुनिश्चित रहेको एमालेका मेयर उम्मेदवार रणबहादुर चन्द बताउँछन् । ‘हामी घरदैलोमा जाँदा पनि नागरिकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने, ‘उहाँहरू सबैको रोजाइमा एमालेका उम्मेदवार परेका छन् । त्यसैले जित सुनिश्चित छ ।’

कांग्रेसलाई गठबन्धनको भर

अघिल्लो पटक स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७९७ मतले मात्रै जितेका कांग्रेसका नृपबहादुर बड यसपटक फेरि नगर प्रमुख उम्मेदवार छन् ।

अघिल्लो पटक एक्लाएक्लै लड्दा पनि निर्वाचन जितेको बताउँदै बड यस पटक अझै सहज ढङ्गले निर्वाचन जित्ने दाबी गर्छन् । ‘मैले पहिले पनि सजिलै जित हासिल गरेको हो’, उनले भने, ‘यस पटक झन् गठबन्धनको साथ छ । जित्न मलाई कठिन छैन ।’

उनलाई गठबन्धनको भर भए पनि स्वतन्त्रको डर रहेको बताइएको छ । तर, बड भने स्वतन्त्र उम्मेदवारलाई पराजित गर्ने दाबी गर्छन् ।

स्वतन्त्रले मार्लान् त बाजी ?

अघिल्लो पटक दोस्रो भएका गोपाल हमालले पनि आफू निर्वाचित हुने जिकिर गर्दै आएका छन् । उनले आफूले जिते कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

अघिल्लो निर्वाचनमा चुनाव चिन्ह ढिला मिलेको र प्रचारप्रसारमा समस्या भएको बताउँदै हमाल यस पटक आफ्नो जित निश्चित रहेको दावी गरे ।

‘धनगढीका जनताले विकास चाहेका छन् । मेरो उम्मेदवारी विकासका लागि हो’, हमालले भने, ‘अघिल्लो चुनावमा प्राविधिक कारणले दोस्रो भए अब जित्ने गरी तयारीमा छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर