भरतपुरबाट जगन्नाथको प्रश्न– गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन कि श्रीमती र छोरी जिताउन ? (भिडिओसहित) – Nepal Press

भरतपुरबाट जगन्नाथको प्रश्न– गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन कि श्रीमती र छोरी जिताउन ? (भिडिओसहित)

‘हामीलाई दागा धरेका छन्, कुनै पनि बेला सांघातिक प्रहार हुनसक्छ’

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका छन् ।

चुनावी अभियानका क्रममा रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले आफूहरु ज्यानकाे परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने बताए ।

आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उनकाे भनाइ छ । पौडेलले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सराेकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’

पौडेलले गठबन्धन देश बनाउन नभएर नेताहरुका परिवार पाल्न भएको भन्दै आफू महानगरपालिकाको मेयर जित्न उम्मेदवार बनेकाे बताए । उनले आफू र आफूलाई सघाउनेहरुको ज्यान खतरामा रहेकोसमेत दावी गरेका छन् ।

पौडेलले भने, ‘यो गठबन्धन मेलम्चीको पानी चाँडो ल्याउँ भनेर भएको हो ? सुरुङमार्ग चाँडो सम्पन्न गरौं भनेर भएको हो ? बनेपा बर्दिबास सडक विस्तार चार वर्षमै सकौं भन्ने उद्देश्यले भएको हो ? होइन । यो त कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, साला, ज्वाइँलाई दिन, मिलेर खान हो । हामी हिजो पनि जेल बसेका हाैं । आज पनि हामीमाथि दागा घरेका छन् । हामीमाथि कुनै पनि बेला सांघातिक प्रहार हुन सक्छ । तर हामीलाई जिन्दगीको माया छैन,आफ्नोबारेमा सोचेका होइनौं ।’

पौडेलले आफू चाहेर पनि सबै मतदातासम्म पुग्ने समय नभएको तर सबैतिरबाट सहयोगको बचन पाएको बताए । उनले यो अभियान कांग्रेस जोगाउने र भरतपुर महानगरपालिका बनाउनेबाहेक अरु कुनै उद्देश्यले नभएको दावी गरे । उनी ८४ वर्षे वयोवृद्ध नेता कृष्णलाल सापकोटासहितको टोली लिएर अभियानमा हिँडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर