अवैध काठ अभिलेख नै नराखी कपिलवस्तुका डीएफओले पठाए आफ्नाे घर – Nepal Press

अवैध काठ अभिलेख नै नराखी कपिलवस्तुका डीएफओले पठाए आफ्नाे घर

कपिलवस्तु । कपिलवस्तुका डीएफओले आफ्नो काठमाडौंस्थित घर सुन्दरीकरणका लागि सरकारी स्राेतसाधनको दुरुपयोग गरेका छन् ।

डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन प्रमुख विजयराज सुवेदीले गोदावरीमा रहेको घरमा काठैकाठको गोलघर बनाउन भन्दै २० क्यूफिट साल काठ र १ मिनी ट्रक खर काठमाडाै‌ं पठाएका हुन् ।

शनिबार सार्वजनिक बिदाको दिन तिलौराकोट साझेदारी बनको लु १ क ९२७ नम्बरको मिनी ट्रकमा उनले उक्त सामान पठाएका हुन् । शुक्रबार राति करिब ३ बजे इलाका प्रहरी कार्यालय पिपराबाट उक्त सवारी जिल्ला बाहिरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गोरुसिंगे घर भएका चालक राजु चौधरीले उक्त गाडी चलाएको र पालले खरलाई ढाकेको तर खरभित्र के रहेको भनेर हेर्न नपाएको र काठमाडौं जाने बताएको चेकिङमा खटिएका एक प्रहरीले जानकारी दिए ।

यसअघि पनि सुवेदीले मायादेवी साझेदारी वनमा रहेको २ वटा जंगली सिसौ काट्न लगाई फर्निचर बनाएर काठमाडौं पठाएको पिपरा सबडिभिजनकै कर्मचारीहरुले सार्वजनिक गरेपछि आलोचना भएको थियो ।

शनिबारको दिन सरकारी सवारी तथा कर्मचारी जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । तर, उक्त सवारीले जिल्ला बाहिर जान अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

स्रोतका अनुसार सुवेदीले शुक्रबार राति काठमाडौं पठाएको २० क्यूफिट काठ मायादेवी साझेदारी वनमा पक्राउ परेका अवैध काठ हुन् । जसको अभिलेख नराखी पकडीस्थित पट्टु मुसलमानको स–मिलमा चिरान गरिएको थियो भने खर जंगलमै सशस्त्र वन रक्षकबाट काट्न लगाइएको थियो ।

वन संरक्षण र गस्तीमा परिचालन गर्नुपर्ने वन रक्षकहरुलाई डीएफओले खर काट्नमात्र होइन विभिन्न निजी काममा खटाउने गरेका छन् । उनले गोलघर बनाउनसमेत २ जना सशस्त्र वन रक्षकलाई काजमा काठमाडौं पठाउने तयारीसमेत गरेको कर्मचारी स्रोतको भनाइ छ । सुवेदी जिल्लामा आएदेखि नै सरकारी गाडी दुरुपयोग गर्दै आएका छन् ।

तत्कालीन सीडीओ चक्रपाणी पाण्डेलाई उनले तिलौराकोट साझेदारी वनले वनगस्तीका लागि खरिद गरेको डबलक्याप स्कार्पियो जिम्मा लगाएका थिए । उनीसँग सामुदायिक वन, काष्ठ व्यवसायी, कर्मचारी सबै असन्तुष्ट र रुष्ट बनेका छन् । माओवादी निकट रहेका उनी मुख्यमन्त्री कुलप्रसाद केसीको बलमा कर्मचारीलाई दबाबमा राख्दै आएको गुनासो माओवादीकै नेताहरुले गर्न थालेका छन् । यो विषयमा डीएफओसँग प्रतिक्रियाका लागि फोन गरे पनि सम्पर्कमा आएनन् ।

तिलौराकोट साझेदारी वनका संयोजक जयप्रकाश पाण्डेले आफ्नो वनको गाडी काठमाडाैं जानपर्ने काम परेको समयमा डीएफओको पनि घर प्रयोजनका लागि खर पठाउनुपर्ने भएकाले सँगै पठाइएको स्वीकार गरे ।

उनले केही काठ तथा अन्य वस्तु नपठाएको बताए । ‘हाम्रो गाडी काठमाडौं जानुपर्ने थियो, डीएफओ सापले घर छाउन खर पठाउनु छ भन्नुभयो, त्यही लिएर गएको हो, जिल्लामा भएपछि त्यति काम त हामीले सहयोग गर्नुपर्यो नि, बाहिर प्रचार गरिएजस्तो काठ तथा अन्य सामान पठाए भन्ने बेकारको कुरा हो, हाम्रो जिल्लामा अनावश्यक राजनीति गर्ने काम हुन्छ’, उनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *