हारको ह्याट्रिक गरिसकेका राम थापा भन्छन्–समृद्ध दमक बनाउँन एक मौका मलाई (भिडिओ) – Nepal Press

हारको ह्याट्रिक गरिसकेका राम थापा भन्छन्–समृद्ध दमक बनाउँन एक मौका मलाई (भिडिओ)

विगतको तथ्याङ्कले पनि हाम्रो जित निश्चित छ

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलो पटक मेयरमा चुनाव लडेकै २४ वर्ष बितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०३५÷०३६ सालमा भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट थापाले राजावादी विद्यार्थी नेताको रूपमा राजनीति सुरू गरेका थिए । त्यसयता उनी उही विचार र सपनामा एकाग्रह छन् । अहिले उनी राप्रपाको प्रदेश नम्बर १ का अध्यक्ष छन् । लामो राजनीतिक निरन्तरताका कारण दमकमा राम थापा धेरैका लागि ‘राम दाइ’ का नामले परिचित छन् । राजनीतिक विचार मिल्ने र नमिल्ने सबैको साथमा उनी आसन्न स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित हुन चाहन्छन् । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी दमकको मनोनीत मेयर बनेका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा थापा दोस्रो भएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा यसपालि एमाले भर्सेस महागठबन्धन बनेको छ । एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र राप्रपा एक ठाउँ उभिएका छन् । यहीं महागठबन्धनबाट मेयर उम्मेदवार बनेका ‘राम दाइ’ दमकको नेतृत्व हत्याउने योजनामा छन् । उनै राम दाइ अर्थात राम थापासँग स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा ।

– दमकवासीलाई तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

म २०१३ सालमा जन्मिएको मानिस । २०२६ सालदेखि दमकमा पढाइको सिलसिलामा आएर बसेको हो । २०३० सालमा एसएलसी गरेर मैले राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेको छु । २०३९ सालदेखि अनवरत रुपमा १२ वर्ष तत्कालीन दमक वडा नं १२ को वडा अध्यक्ष भएँ । एक अवधि तत्कालीन युवा संगठनको नगर सभापति भएँ । विभिन्न सामाजिक संघसंस्था, दमक क्याम्पस, दमक खानेपानीलगायतमा पनि अनवरत रुपमा काम गरिरहेको छु । दमकको विकास र निर्माणमा निःस्वास्र्थ रुपमा काम गर्ने मेरो दृढ निश्चय भएकाले आसन्न स्थानीय तह चुनावमा संयुक्त गठबन्धनबाट मेयर उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।

– केपी ओलीको गृहनगर भएकाले राष्ट्रिय चर्चा र दबाब छ । गठबन्धनले समर्थन गर्नु भनेको तपाईंलाई जिताउनुभन्दा पनि एमालेलाई हराउने सन्देश दिन खोजेको देखिन्छ । के तपाई त्यसको मतियार बन्नुभएको हो ?

त्यस्तो होइन । खासगरी म योभन्दा अघिल्लो दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा उम्मेदवार भएको थिएँ । म दोस्रो भइरहेँ । जीवनमा एकचोटि नगर प्रमुख निर्वाचित भएर सेवा गर्ने मेरो व्यक्तिगत इन्छा, पार्टीको पनि उम्मेदवार बनाउने लक्ष्य, सत्ता गठबन्धनले मात्र एमालेलाई परास्त गर्न नसक्ने र यो पाटोमा मेरोसमेत उपस्थिति पनि आवश्यब परेकाले हामीहरु संयुक्त भएर दमकको विकास र निर्माणलाई गतिशील बनाउने उद्देश्यले हामी गठबन्धन र तालमेल गरेर अघि बढेको सत्य हो । एमालेलाई परास्त गर्न होइन ।

– दमकमा हिजो राप्रपा एक्लै लड्दा पनि एमाले पछिको दोस्रो शक्ति थियो । आज एमालेबाहेक अरु दलको समर्थन लिन तपाई कसरी सफल हुनुभयो ?

सही कुरा के हो भने उहाँहरुको उपस्थिति र मेरो पनि नगर प्रमुख बनेर सेवा गर्ने, यी दुबै कुरा र हामी सबै एक–अर्काको परस्पर मित्र बन्नुपर्ने समयको माग भएकाले एमाले हराउनेभन्दा पनि आफ्नो उपस्थिति र विजयका लागि हामी एक–अर्काका पूरक बनेका हौं । खासगरी हाम्रो उद्देश्य एमाले हराउनेमात्र होइन, दमकमा गएको नेतृत्वले धेरै काम गरेन । नगरवासीको सामाजिक न्यायमा पहुँच, सुशासन, विकास गर्ने उद्देश्यले हाम्रो तालमेल भएको हो ।

– राम थापा दमकमा आफै पनि एउटा फिगर हो । तपाईं २०४३ सालदेखि मेयर बन्ने रेसमा हुनुहुन्छ । तपाईंका पहिले र अहिलेका प्रतिस्पर्धीबारे के भन्नुहुन्छ ?

तत्कालीन नगर पञ्चायत हुँदा उहाँ (एमालेकी मेयर उम्मेदवार गीता अधिकारी) को काका ससुरासँग कम मतले मैले पराजय भोगेको सत्य हो । उहाँ पहिला उपमेयर हुनुहुन्थ्यो, अहिले मेयरका प्रत्याशी हुनुहुन्छ । उहाँसँग के कस्तो साइनो सम्बन्ध मेरो रहेन । मेरो एउटा अभिलाषा नगरपालिकाको शुभचिन्तक र विपक्षी साथीहरुको गतिलो समर्थन रहेकाले पनि मैले उपस्थिति देखाएर नगर प्रमुखको उम्मेदवार हुनुपर्ने एउटा परिस्थितिको उपजमात्र हो । हामी एमालेलाई हराउन र निस्तेज गर्नमात्रै हाम्रो उद्देश्य होइन । नगरपालिकालाई शासन गर्ने होइन सेवा गर्ने थलो बनाउने हाम्रो प्रमुख लक्ष्य हो ।

– एउटा महिला प्रतिस्पर्धीलाई हराउन सबै शक्ति किन मिल्न पर्‍यो ?

महिलाविरुद्ध हाम्रो यो उपस्थिति होइन । उहाँलाई हराउन हामी सबैको अनिवार्य उपस्थिति पनि बिल्कुल होइन । उहाँहरुले नगरपालिकामा सन्तोषजनक काम गर्नुभएन । राजनीतिमा या परस्पर शक्तिहरु मिलेर एउटा सशक्त समूह बनाएर परिणाममुखी नतिजा ल्याउन हाम्रो यो गतिलो उपस्थिति हो । एउटा महिलालाई हराउनेमात्र हाम्रो उद्देश्य बिल्कुल होइन । उहाँहरुले राम्रो काम गरेको भए त जितिहाल्नु हुन्छ नि !

– के के चुनावी एजेण्डा लिएर नगरवासीबीच गइरहनुभएको छ ?

हामीले मूलतः दुईतीन वटा कुरालाई सशक्त रुपमा अघि बढाइरहेका छौं । पहिलो, नगरपालिका शासन गर्ने थलो होइन सेवा गर्ने ठाउँ हो । त्यहाँ गएर कर्मचारीले जस्तो तलबभत्ता नलिने र हामीले पाउने तलबभत्ता न्यून आय भएको लक्षित समुदायका मानिसको अर्थोपार्जनमा सहयोग गर्ने, शिक्षा र स्वास्थ्यबाट बञ्चित मानिसका लागि खर्चनेछौं ।

दोस्रो, दमकमा समुचित विकास भएन । उहाँहरुले दमकमा यस्तो उदाहरणीय काम गरेका छौ भन्ने देखाउने गरी काम गर्न सक्नुभएन । शिक्षामा कुनै गुणात्मक उपलब्धि हुने गरी काम गर्नेतर्फ खासै चासो राख्नुभएन । उहाँहरुले सरकारी विद्यालयहरुमा आफ्नो मान्छेलाई सरुवा–बढुवा गर्ने, नियुक्ति दिने, प्रअ बनाउने काममात्र गर्नुभयो । हामी त्योभन्दा फरक काम गर्नेछौं ।

हामी आगामी पाँच वर्षभित्र १२ कक्षसम्म निःशुल्क शिक्षा प्रदान गर्ने र त्यहाँका समस्याहरु निराकरण गर्ने र निम्न आय भएका गरिब विद्यार्थीहरुलाई यथोचित पठनपाठनको व्यवस्था गर्नेछौं । खासगरी विपन परिवारले न्यायोचित स्वास्थ्योपचार पाएका छैनन् । उनीहरुलाई व्यवस्थित रुपमा उपचार व्यवस्था मिलाउने, निम्न आय भएका परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने, करको दायरालाई फराकिलो बनाउने, सवारी पटके कर खारेज गर्ने र अनधिकृत रुपमा रहेको अव्यवहारिक करलाई परिमार्जन गरी करलाई नीतिगत रुपमा परिवर्तन गर्ने हाम्रो उद्देश्य छ । दमक नगरपालिका भएर पनि समुन्त नगर हुन सकेको छैन । हामी समुचित रुपमा स्वास्थ्य, शिक्षा, व्यवसाय र आयआर्जनको पाटोमा पनि व्यवस्थित योजना बनाएर समृद्ध दमकको कल्पना गरेका छौं । समुन्नत दमक बनाउन म समर्पित छु ।

– दमकमा केपी शर्मा ओलीले अर्बौं लगानी खनाए, अनावश्यक भ्यू टावर बनाए भनेर आलोचना हुँदै आएको छ । यसबारे तपाई के भन्नुहुन्छ ?

भ्यूटावर पनि विकासको एउटा आधार स्तम्भ हो । यसको म धेरै चर्चा गर्न चाहन्न । सबै मानिसको टिका–टिप्पणी के छ भने एउटा मेडिकल कलेज बनाइदिएको भए लाखौं मान्छेले स्वास्थ्योपचार पाउने थिए । तर, भ्यूटावर पनि दमकको सकारात्मक विकासको एउटा पक्ष मान्न सकिन्छ । म त्यसको आलोचना गर्न चाहन्न । भई गयो, त्यसलाई व्यवस्थित गरेर सबै नगरवासीले आयआर्जन गर्ने र निष्पक्ष रुपमा फल पाउनुपर्छ भन्ने मेरो धारणा छ ।

– एमालेबाट मेयरका प्रत्याशी गीता अधिकारीको लागि भोट माग्न केपी शर्मा ओली आउने हल्ला छ । तपाईंको लागि कोही आउँदै हुनुहुन्छ ?

त्यो उहाँहरुको पार्टीको कुरा र नीति हो । त्यसले केही फरक पर्दैन । केपी ओलीले पैसा लिएर आउनुहोला, भोट बोरामा लिएर आउनु हुन्न । यसपालि त्यो बोराका पैसाले काम लाग्नेवाला छैन । नगरबासीले परिवर्तनका लागि दृढ संकल्प र निश्चय बोकिसकेका छन् । अब त्यसले खास केही फरक पर्ने अवस्था छैन ।

– मतदाताका लागि तपाईंका योजनाहरु के के छन् ?

म ठूल्ठूला कल्पना गरेर नगरवासीलाई विकासको सपना बाँड्न चाहन्न । म कुनै पार्टी, जाति, समुदायलाई समान व्यवहार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मेरो स्वभावसँग सबै नगरवासी परिचित हुनुहुन्छ । म उहाँहरुको निर्वाचित प्रतिनिधि भएर सेवा गर्ने मेरो विद्यार्थीकालदेखिकै सपना छ । राप्रपालाई अब राष्ट्रिय पार्टी बन्न कसैले रोक्दैन । आउने संघीय निर्वाचनमा समानुपातिकबाट मेरो पहिलो नाम जान सक्थ्यो । तर, मैले त्यो बाटो रोजिनँ ।

अन्य पार्टीहरुले अवसर पाएर पनि नगरवासीको निःस्वार्थ सेवा गर्न सक्नुभएन । सुकुम्बासीलाई धनी पुर्जा दिन सक्नुभएन । केपी शर्मा ओली प्रधानमन्त्री भएर पनि एउटा सुकुम्बासी आयोय गठन गरेर उपमेयरले तलब भत्ता ३० महिना बिताउनु भयो, तलबभत्ता मासिक २२ हजार खाएर पनि केही काम गर्न सक्नुभएन । एउटा धनी पुर्जा दिन नसक्ने प्रधानमन्त्री र पार्टीले के मुख देखाएर फेरि भोट माग्नुहुन्छ ? यस्ता कैयौं समस्याहरु नगरवासीले भन्न नसकेका समस्याहरु छन् । त्यो समस्याको समाधान ममार्फत खोज्न निष्पक्ष रहने मतदाता, समुदाय जसले मलाई आजसम्म सहयोग गरे, उहाँहरु आतुर हुनुहुन्छ ।

केपी ओलीको उपस्थितिले उहाँ दह्रो हुनु होला । म चुनावमा त्योबारेमा केही भन्न चाहन्न । अब फलनालाई मेयर, तिलानालाई उपमेयर दे भनेर केपी शर्मा ओलीले भनेको भरमा अब नगरवासीहरु त्यता लाग्छन् जस्तो मलाई लाग्दैन ।

– तपाईको जितको आधार के के हुन् ?

मेरो जितको आधार भनेको गएको स्थानीय तह चुनावमा दोस्रो भइयो, अहिले हामी दोस्रो, तेस्रो र चौथो शक्ति र एकीकृत समाजवादी पार्टी पनि मलाई मेयरमा सहयोग गर्न प्रतिबद्ध हुनुहुन्छ । यो कारणले हाम्रो जित निश्चित छ । विगतको तथ्याङ्कले पनि हाम्रो जित निश्चित छ । हामी त्यो निश्चितलाई सुनिश्चित गर्न लागेका छौं । अब कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन । अहिलेको जनलहरले पनि ममात्र होइन, गठबन्धनका उपमेयर र गठबन्धनको समूह हामी सबै ठाउँमा निश्चित जित्छौं, ढुक्क रहे हुन्छ ।


प्रतिक्रिया

One thought on “हारको ह्याट्रिक गरिसकेका राम थापा भन्छन्–समृद्ध दमक बनाउँन एक मौका मलाई (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर