विप्लव नेकपामा औपचारिक फुट, कार्यदिशासमेत फेरेर असन्तुष्ट पक्षले बनायो- नेकपा (बहुमत) – Nepal Press

विप्लव नेकपामा औपचारिक फुट, कार्यदिशासमेत फेरेर असन्तुष्ट पक्षले बनायो- नेकपा (बहुमत)

धर्मेन्द्रको नेतृत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिकरूपमा विभाजित बनेको छ । पार्टीको असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले पार्टीको नाम र कार्यदिशासमेत परिवर्तन गर्ने निर्णय लिँदै विभाजनलाई पूर्णता दिएको हो ।

बुधबारदेखि चितवनमा सुरू भएको भेलाले पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कारबाही गर्ने निर्णय गरेको थियो । साथै एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको पार्टीका केन्द्रीय सदस्य एवम महाधिवेशन आयोजक समितिका सदस्य गुणराज लोहनीले नेपाल प्रेसलाई जानकारी दिए ।

भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समितिसमेत गठन गरेको ती नेताले बताए । नेकपा बहुमतले अब नवौं महाधिवेशन गर्ने जनाइएको छ । केन्द्रीय सदस्य लाेहनीका अनुसार जनयुद्ध दिवसका अवसरमा फागुन १ गते संघीय राजधानी काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएकाे छ ।

विचारमा आफूहरू बहुमत भएकाले भेलाले पार्टीको नाम नै नेकपा (बहुमत) राखेको लाेहनीको भनाइ छ । विप्लव, प्रकाण्डले एकीकृत जनक्रान्तिको बाटो लत्याए पनि उक्त विचारको रक्षा गर्ने जिम्मा आफूहरूले लिएको उनले दाबी गरे ।

भेलाले गरेका निर्णय सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिने छ । भेलामा संयोजक धर्मेन्द्र बास्तोलाले राजनीतिक प्रतिवेदन पेस गर्दै विप्लव र प्रकाण्डमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्‍याउन लागेकाले विद्रोह गरेको बताएका छन् ।

बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिकरूपमा संसदीय संशोधनवादी, संगठनात्मकरूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबीसमेत गरे ।

विशेष भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरू गर्ने र दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाउने निर्णय गरेको छ । त्यसपछि राष्ट्रिय भेला बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने तथा केन्द्रीय समितिको विस्तार गर्ने नेकपा (बहुमत) को तयारी छ ।

पार्टीको नाम नयाँ राख्ने वा यसैलाई निरन्तरता दिने भन्नेबारे पनि भेलामा छलफल भएको थियो अहिलेलाई नेकपा नै राख्ने धेरै नेताको सुझाव आएपछि नेकपा (बहुमत) राखिएको भेलामा सहभागी अर्का नेताले बताए ।

सबै कमिटी पुनर्गठन नभएसम्म नेकपा नै नाम राख्नुपर्ने अधिकांश नेताले धारणा राखेका थिए । विप्लवले पार्टीको निर्णय उलंघन गरेकोले नेकपाको नेतृत्व हुने नैतिक हैसियत गुमाइसकेको भेलाले निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर